× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वाग्मती प्रदेश सरकारले ७० ल्याए ‘ट्रायल पास’ प्रणाली कार्यान्वयन गर्दै

    २ वर्ष पहिले

    माघ-२०, वाग्मती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास हुने प्रणाली कार्यान्वयन हुने भएको छ। तेस्रो पटकसम्म रोकिएको यो नियम अब कार्यान्वयनमा आउने भएको हो।

    प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेका कारण यो प्रणाली लागू हुनै लाग्दा रोकिएको थियो। वाग्मती प्रदेशको कामचलाउ सरकारका पूर्व श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरूलाई ७० प्रतिशत प्रणाली लागू गर्न सहमत भएकोमा मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारण पटक-पटक रोकिएको थियो।

    वाग्मती प्रदेशले नयाँ सरकार पाएसँगै उक्त प्रणाली पुनः लागू गर्ने भएको छ। प्रदेशका वर्तमान सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले उक्त प्रणाली लागू गर्ने तयारी भएको बताए। मन्त्री श्रेष्ठले एकदुई दिनमै उक्त प्रणाली लागू हुने जनाए।

    ‘७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली अबको एक दुई दिनमै कार्यान्वयन हुन्छ। यो प्रणाली कार्यान्वय हुन पनि आवश्यक देखिन्छ’, मन्त्री श्रेष्ठले भने, ‘चार वटा प्रदेशमा लागू भइसकेको यो प्रणाली वाग्मती प्रदेशमा पनि रोकिदैन।’

    मन्त्री श्रेष्ठले सामान्य त्रुटि हुँदैमा लाइसेन्स नै नपाउने समस्या रोक्न उक्त प्रणाली कार्यान्वयनमा आउने बताए। मन्त्री श्रेष्ठका अनुसार अबको एक दुईदिनमा आफू काठमाडौं पुगेर ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणालीको उद्घाटन गर्ने जानकारी दिए। यो प्रणाली लागू भए प्रयोगात्मक परीक्षामा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने मन्त्री श्रेष्ठको दाबी छ।

    के छ यो प्रणालीमा व्यवस्था?

    मापदण्ड लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्।

    प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो अङ्ग्रेजी अंकको आठको अंकभार २० तोकिएको छ। दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ। तर, ट्रायल फेल हुने छैन।

    दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुईं टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ।

    साँघुरो बाटोको अंकभार १० तोकिएको छ। साँघुरो बाटोमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्।

    निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्।

    ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ।

    एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्।

    त्यसैगरी, उकालो (र्‍याम्प)को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

    कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो अङ्ग्रेजी अंकको आठको अंकभार २० तोकिएको छ।

    दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।

    निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ। त्यसैगरी युटर्नको अंकभार १० तोकिएको छ।

    टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। चारपांग्रे सवारीचालकलाई र्‍याम्प (उकालो)का लागि अंकभार १५ तोकिएको छ।

    तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ।

    ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।