× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १८ करोड लागतमा सरकारी अस्पताल बन्ने

    २ वर्ष पहिले

    फागुन -३, इच्छाकामना गाउँपालिका अन्तर्गतको कुरिनटारमा १८ करोड लागतमा सरकारी अस्पताल बन्ने भएको छ । केही दिनअघि मात्रै अस्पताल निर्माणका लागि ठेक्का सूचना आह्वान भएको छ । अस्पताल बनेसँगै गाउँपालिकाको स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण योजना सम्पन्न हुने जनप्रतिनिधिले विश्वास लिएका छन् । ३ वर्षको अवधिमा अस्पताल निर्माण सक्ने गरी काम गरिने पालिकाको योजना छ ।

    इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङका अनुसार संघीय बजेटबाट उपलब्ध हुने १८ करोड लागत बहुवर्षीय योजनामा सम्पन्न हुनेछ । १५ शैयाको यस अस्पताल बनेसँगै स्वास्थ्यको पहुँच गाउँपालिकामा बढ्ने विश्वास लिएको अध्यक्ष गुरूङले बताए ।

    ३ वर्षअघि नै अस्पताल बनाउन सुरू गरिएको भए पनि बजेट र जग्गा प्राप्तिमा देखिएको कठिनाइका कारण काम रोकिएको थियो । त्यतिखेर तराई मधेश समृद्धि कार्यक्रमबाट ५० लाख र गाउँपालिकाको २० गरेर भवनको जग हाल्ने काममात्र भएको थियो । आफूहरु निर्वाचित भएर आएपछि अधुरो काम सम्पन्न गर्न लागिपरेको र फलस्वरुप बजेट र जग्गा प्राप्तिको कठिनाइ पार गरेर काम अघि बढाइएको गाउँपालिका अध्यक्ष गुरूङले जानकारी दिए ।

    यस क्षेत्रका तत्कालीन सासंद् कृष्णभक्त पोखरेलले निरन्तरको प्रयासपछि इच्छाकामनामा अस्पताल भवन बनाउन सफल भएको बताए । ‘धेरैपटक धेरै ठाउँमा प्रेसर पनि दिइयो’, पोखरेलले भने, ‘पहाडी भूगोलमा सहज स्वास्थ्य पहुँचका लागि हामीले गरेको यो उदाहरणीय पहल हो ।’ हाल स्वास्थ्यचौकी रहेकोमा एक्स–रेलगायतका सुविधा मन्त्रालयबाटै उपलब्ध गराइएको उनले जानकारी दिए ।

    ‘वन क्षेत्र भनिएको कारण निर्माण थालिएको भवन पनि अलपत्र बसेको रहेछ, तर वन र नापीसँग कुरा गरेर समस्या समाधान भएपछि काम अघि बढ्यो’, अध्यक्ष गुरूङले भने, ‘काममा भएको प्रगतिको आधारमा संघीय सरकारले बजेट दिँदै जानेछ ।’

    निर्माण प्रक्रिया थालनीका लागि डिपिआर गर्ने निकायलाई झक्झक्याएको र बजेट तथा अन्य प्रशासनिक व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवसँग निरन्तर ताकेता गरेको उनले बताए । ‘स्वास्थ्य विभागले प्रगतिअनुसार बजेट दिनेछ, नपुगेमा पालिकाले पनि सहकार्य गर्न सक्छ, यसका लागि पनि आन्तरिक बजेट व्यवस्था छ’, अध्यक्ष गुरूङले भने ।

    हाल गाउँपालिकाको मुख्य प्रशासनिक भवननजिक रहेको दारेचोक स्वास्थ्यचौकीबाट पालिकावासीले स्वास्थ्य सेवा लिइरहेका छन् । यसै स्वास्थ्यचौकीलाई इच्छाकामना अस्पतालको रुपमा व्यवस्थित गर्दै लैजाने उनले बताए । यस स्वास्थ्यचौकीमा हाल डाक्टरसहितको सेवा उपलब्ध छ ।

    ‘अहिले पनि केही सेवा डाक्टर नै राखेर पनि दिइएको छ, तर यहाँका जनताले थप स्वास्थ्य समस्या हुँदा भरतपुर वा काठमाडौँ जानुपर्ने बाध्यता छ । अत्यन्तै जटिलबाहेकका सबै सेवा यही अस्पतालबाट दिन मिल्ने गरी योजना बनाएका छौँ’, अध्यक्ष गुरूङले भने । आवश्यकताका आधारमा बिस्तारै पूर्वाधारहरु थपिँदै जानेसमेत उनले बताए ।