× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति

    २ वर्ष पहिले

    फागुन-१७,प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी छ । उच्च स्रोतका अनुसार ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच गोप्य रूपमा प्रदेशको नाम कोसी राख्न सहमति जनाइसकेका छन् ।

    प्रदेश १ को नाम कोसी नामाकरण गर्न दुई तिहाइको सुनिश्चित भइसकेको नेकपा एमालेका एक प्रदेश सभा सदस्यले जानकारी दिए । नामाकरणको सबै प्रक्रिया आजै टुंगो लगाइने उनले दाबी गरे ।

    प्रदेशको नाम प्रदेश सभाको दुई तिहाइ बहुमतबाट राख्नुपर्ने संविधानको धारा २९५ को उपधारा (२) मा उल्लेख छ । सोही व्यवस्था अनुसार प्रदेश १ को प्रदेशसभा नियमावली (पहिलो संसोधन) २०७४ को नियम ५८ को उपनियम (ख) मा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्ने व्यवस्था गरिएको छ ।

    नियमावलीअनुसार नामकरण सम्बन्धी प्रस्तावको लागि दर्ताको सूचना सभामुखले तोके बमोजिम हुने भनिएको छ । सूचना प्रदेश सभाका सचिवले प्रकाशित गर्ने, सो प्रस्ताव कुनै सदस्यले अनुसूची ९ बमोजिमको ढाँचामा कम्तिमा दुई जना सदस्यको समर्थनसहित सभाका सचिवलाई दिनुपर्ने जनाइएको छ ।

    प्रस्तावक सदस्यले मन्तव्यसहित सभामा नामाकरणको प्रस्ताव प्रस्तुत गर्ने अनुमति माग्ने उल्लेख छ । नाममा सहमति भइसकेका कारण एउटै मात्र प्रस्ताव पेश हुने उच्च स्रोतले जनाएको छ । आजै सबै प्रक्रिया सक्नु पर्ने भएकोले केही नियमहरू समेत निलम्बन हुनसक्ने जनाइएको छ । त्यसको निर्णय भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा हुने भनिएको छ ।​