× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कांग्रेस र एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित

    २ वर्ष पहिले

    फागुन -१७, नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो । तर, कांग्रेस र एमाले दुवैले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराए । त्यसपछि दलहरुसँगको समन्वयमा संसद सचिवालयले सूचना जारी गरेर बैठक नै आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिदियो ।

    संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।

    त्यो विशेष कारण भनेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने स्थिति हो । कांग्रेस र एमाले दुवै प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने अवस्था आएपछि संसद बैठक स्थगित गरिएको एक नेताले बताए ।

    पहिले सरकारमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ ।

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि प्रतिपक्षको बेन्चमा बस्दै आएको नेपाली कांग्रेस अहिले आठ दलीय सत्ता गठबन्धनमा छ ।

    राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । तर कांग्रेस सरकारमा गइसकेको भने छैन ।

    सरकारमा सहभागी नभइसकेकाले ऊ पनि आजको बैठकमा प्रतिपक्षको बेन्चमा बस्ने तयारीमा थियो ।

    कांग्रेस र एमाले दुवै प्रतिपक्षको बेन्चमा बस्दा राम्रो सन्देश नजाने भएकाले संसद बैठक स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले बताए ।