२ वर्ष पहिले
फागुन -२३, आज तराई-मधेशमा हर्षोल्लासपूर्वक होली खेलिँदैछ छ।पहाडी जिल्लामा भने सोमवार नै फागुन पुर्णिमाको दिनमा होली खेलिएको छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ।
तराई-मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ। पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो।
भौगोलिक संरचना र मान्यता अनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ। पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो। फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ।
होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो। प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ।
सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ्ग हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो। जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ।