× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाको चालू आर्थिक वर्षको आठ महिनाको आम्दानी ६६ लाख, सबैभन्दा धेरै आम्दानी मनकामना केबुलकारबाट

    १ वर्ष पहिले

    चैत्र -९,इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनासम्ममा सबैभन्दा धेरै आम्दानी मनकामना केबुलकारबाट गरेको छ । आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदै गर्दा सार्वजनिक गरिएको आम्दानी विवरणअनुसार पालिकाले ६६ लाख ३६ हजार ५६६ रूपैयाँ कुल आम्दानी गर्दा केबुलकारबाट मात्रै ४३ लाख ३४ हजार ७१९ रूपैयाँ आम्दानी गर्न सफल भएको देखिन्छ ।

    ‘अहिलेसम्म हरेक वर्ष पालिकाको सबैभन्दा ठूलो आम्दानीको स्रोत भनेकै मनकामना केबुलकार हो’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने, ‘समग्रमा केबुलकारले गाउँपालिकाको आर्थिक स्रोत संकलनमा ठूलै भूमिका खेल्दै आएको छ ।’

    दोस्रो नम्बरमा भने लामो झरनाको नामले परिचित जलविरे झरनाले आम्दानीको स्रोत बढाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार जलविरे झरनाले मात्रै यो आठ महिनामा १४ लाख ६५ हजार ४३० रूपैयाँ आम्दानी गर्न सफल भएको छ ।

    जलविरे झरना इच्छाकामनाको पर्यटकीय गन्तव्यमध्ये पछिल्लो केही वर्षयता महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुँदै गएको स्थान हो । यहाँ धेरै म्युजिक भिडियोको दृश्यसमेत कैद भइसकेका छन् । झरनालाई सुरक्षित, व्यवस्थित तथा झरनाप्रति आकर्षण बढाउनका लागि पालिका मात्र नभई प्रदेश र केन्द्र सरकार पनि लागिपर्दै आएको छ ।

    बजारबाट नजिक भएकोले पनि गर्मी मौसममा शीतलता प्राप्त गर्नका लागि झरना पुग्नेको संख्यामा उल्लेख्य वृद्धि हुने गर्दछ, जसले गर्दा समग्र गाउँपालिकाकै आर्थिक विकासमा टेवा पुर्‍याएको छ । ‘गर्मी मौसम सुरू भइसकेको हुँदा झरनामा नुहाउन आउनेको संख्या बढ्न थालेको छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘त्यसैले यहाँको मुख्य आम्दानीको मौसम पनि गर्मी मौसम नै हो ।’ अन्य समयमा पनि आकर्षक झरना हेर्नकै लागि आन्तरिक पर्यटक जलविरे पुग्छन् ।

    तर, आम्दानीको स्रोत बढाउने प्रचुर सम्भावना भएर पनि चितवनकै पुरानो सदरमुकाम उपरदाङगढीबाट भने सोचेजस्तो आम्दानी गरेको देखिँदैन । गढीबाट आठ महिनामा जम्मा एक लाख ७४ हजार ९५० रूपैयाँमात्रै आम्दानी गर्न सफल भएको छ । गढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढे पनि गढी क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा आम्दानीको स्रोत गुम्दै गएको स्वयम् गाउँपालिकाले जनाएको छ । कुनै पालिकामा आम्दानीको मुख्य स्रोत मानिने नदीजन्य पदार्थबाट पनि इच्छाकामनाले सोचेजस्तो आम्दानी गरेको छैन । आठ महिनासम्मको तथ्याङ्क हेर्दा जम्मा दुई लाख ७७ हजार ४७८ रूपैयाँमात्रै आम्दानी गरेको देखिन्छ ।

    पालिकाले जेसिबीबाट एक लाख ६७ हजार ६७०, होर्डिङ बोर्डबाट एक लाख आठ हजार ३१९ र एम्बुलेन्सबाट एक लाख आठ हजार रूपैयाँमात्रै आम्दानी गरेको छ । जिल्लाकै सर्वोच्च शिखरको रुपमा परिचित सिराइचुली पनि इच्छाकामनाको आम्दानी गर्ने सम्भावित क्षेत्र हो । तर, पालिकाले सिराइचुलीबाट आम्दानी गर्ने वातावरण सिर्जना गर्न सकेको छैन । भावी दिनमा त्यसलाई पनि पर्यटन प्रवद्र्धनका लागि मुख्य गन्तव्य बनाउने योजना भए पनि आवश्यक संरक्षण र विकास निर्माणको काम गर्न नसकेको पालिकाले जनाएको छ ।

    इच्छाकामना मन्दिर पनि यसै पालिकाभित्र पर्ने महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । भोलिका दिनमा गाउँपालिकाले ऐतिहासिक मन्दिर इच्छाकामनाबाट पनि आम्दानीको स्रोत बढाउन सक्छ । तर, अहिले मन्दिरको पुनर्निर्माणको काम जारी रहेकोले आम्दानी गर्ने बाटो रोकिएको पालिकाले जनाएको छ । चितवन पोष्टबाट