× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुरमा शिवशिखर सहकारीबाट पीडितले गुहारे सिडिओ, सञ्चालक र कर्मचारीलाई पक्राउ गर्न निर्देशन

    १ वर्ष पहिले

    चैत्र -११, भरतपुरस्थित शिवशिखर सहकारीबाट पीडित भएका बचतकर्ताहरुले आफ्नो पैसा दिलाइदिन माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेललाई गुहारेका छन् । जिल्ला प्रशासन कार्यालय पुगेका करिब ५० जना बचतकर्ताले आफ्नो बचत रकम निकाल्न नपाएको गुनासो गरे । उनीहरुले आफूले पाउनुपर्ने रकम उल्लेख गरेर सिडियोलाई समेत बुझाएका छन् ।

    आर्थिकरुपमा टाट पल्टिएको भनिएको सो सहकारीका बचतकर्ताले आफ्नो खातामा भएको लाखौँ रूपैयाँ रकम निकाल्न पाएका छैनन् । सहकारी सञ्चालक र कर्मचारीहरु कार्यालय बन्द गरेर फरार छन् । सहकारीको शेयर सदस्यसमेत रहेका झपिन्द्रप्रसाद उपाध्यायले सात महिनादेखि आफ्नो पैसा निकाल्न नपाएको गुनासो गरे ।

    पाँच वर्षमा दोब्बर हुने बताइएपछि उनले पाँच वर्षअघि नातिनीको नाममा ५० हजार रूपैयाँ अवधि खातामा जम्मा गरेका थिए । रकम जम्मा गरेको पाँच वर्ष पुगेर १० हजार रूपैयाँ व्याज निकालेका उनले दोब्बर भएको रकम एक लाख रूपैयाँ भने निकाल्न पाएनन् ।

    पाँचवर्षे अवधि खातामा उनले अर्काे तीन लाख रूपैयाँ पनि जम्मा गरेको बताए ।‘पाँच वर्षमा दोब्बर हुने भनेर तीन लाख रूपैयाँ पनि राखेको थिएँ । दुई वर्ष पूरा भयो, अब तीन वर्ष बाँकी थियो । मैले ५५ हजार रूपैयाँ शेयर पनि हालेको छु’, उनी भन्छन्, ‘मेरो यो सहकारीमा जम्मा साढे पाँच लाख छ । सुधार हुन्छ भन्दै पैसा अड्काएर राखेको छ ।’

    दैनिक बचत र अवधि खातामा रकम जम्मा गर्दै आएकी जमुना सुनारले सहकारी नै टाट पल्टिएको हल्ला चलेपछि फागुनदेखि बचत गर्न छाडिन् । सहकारीबाट पीडित भएका बचतकर्ताहरु प्रशासन कार्यालयमा भेला भएको जानकारी पाएपछि उनी आफ्नो नाम र पाउनुपर्ने रकम टिपाउन त्यहाँ पुगेकी थिइन् । ‘आफ्नो खातामा भएको पैसा लेखेर हस्ताक्षर गरेपछि पाइन्छ रे भनेर यहाँ आएको’, प्रशासन कार्यालयमा भेटिएकी उनले भनिन् ।

    एकवर्षे अवधि खातामा चार लाख रूपैयाँ जम्मा गरेकी भरतपुर–४ की कल्पना आचार्य पनि आफ्नो बचत फिर्ता पाउने आशमा प्रशासन कार्यालय पुगेकी थिइन् । आफ्नो दैनिक खातामा जम्मा भएको रकम निकाल्न नपाएपछि मंसिरदेखि नै बचत गर्न छाडिदिएको उनले बताइन् । ‘पैसा निकाल्न लिमिट गरिदिएपछि दुईचोटि गरेर ३५ हजार निकालेँ । त्यसपछि फेरि १० हजार निकाल्न भनेर माघमा चेक दिएर आएको अहिलेसम्म पाइएन’, उनले भने ।

    जिल्ला प्रशासन कार्यालय चितवनका सहायक सिडिओ चिरञ्जीवी शर्माले सहकारीका सञ्चालक र कर्मचारीको खोजी गरी पक्राउ गर्न प्रहरीलाई निर्देशन भएको बताए । ‘सहकारीका सञ्चालक र कर्मचारीलाई तदारूकताका साथ खोज्ने भनेर सिडिओसापले एसपी कार्यालयमा लेखी पठाउनुभएको छ’, उनले भने । सञ्चालक र कर्मचारी फरार रहेको उनले बताए ।आजको चितवन पोष्टबाट