× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुले लिए गोपनीयताको शपथ

    १ वर्ष पहिले

    चैत्र-१७, राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

    प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

    शपथ ग्रहण गर्नेहरूमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रूपमा सीता गुरुङ छन् ।

    यस्तै, नेकपा(माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    नेकपा (एकीकृत समाजवादी) का तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रूपमा प्रकाश जवालाले शपथ लिएका छन् ।

    जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । यसै गरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा शपथ लिएका छन् ।