× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सम्पादकीय

    नयाँ बर्ष २०८० को शुभकामना

    १ वर्ष पहिले

    वर्ष २०७९ बिदा भएर गएको छ । हामी नेपाली नयाँ वर्ष २०८० मा प्रवेश गरेका छौं । धेरै वर्षहरु यसरी नै वित्दै जाने हुन् । यो एउट शास्वत सत्य नै हो । समय सदा एकैनास र एकै गतिमा रही रहन सक्दैन । वर्ष वित्ने कुरा स्वभाविक छ तर समयको काल खण्डले नेपाल र नेपालीलाई स्मरण योग्य केही उल्लेख्य कोसेली छोड्न सफल रह्यो या रहेन भन्ने कुरा महत्वपूर्ण कुरा हो ।

    २०७९ साल निर्वाचनमय बर्षको रुपमा रह्यो ।नेपालको ईतिहासमा पहिलो पटक एकै वर्ष तीनै तहको निर्वाचन सम्पन्न भएको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् ।वर्ष २०७९ मा निर्वाचनमार्फत वडा सदस्यदेखि, पालिका तहका नेतृत्व हुँदै प्रदेश र प्रतिनिधिसभा सदस्यसम्म चुनिएका छन् । यस्तै, मुलुकले वर्ष २०७९ मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमार्फत दुवै पदमा नयाँ अनुहार पाएको छ ।निर्वाचनमार्फत नेपालको राजनैतिक इतिहासमा वर्ष २०७९ ले ऐतिहासिक वर्षका रूपमा दर्ज हुने अवसरसमेत पाएको हो ।

    २०७९ साल निर्वाचनमय बर्षको रुपमा भएपनि मुलुक थप अस्थिरताको बाटोतर्फ उन्मुख भएको वर्षका रुपमा लिन सकिन्छ । कुनै पनि दलले एकल बहुमत प्राप्त नहुँदा महिनामै सरकार फेरिने र गठबन्धन गरेको दलहरु सत्ता स्वार्थक कारण गठबन्धन फेरिने प्रवृत्तिले देश झन् अस्थिरता तर्फ धकेलिएको छ।

    गत आम निर्वाचनमा जनताले पुराना दलप्रति आफ्नो वितृष्णालाई प्रत्यक्षरुपमा आफ्नो नारजगी प्रस्तुत गर्दै नयाँ दल नयाँ अनुहारहरुलाई स्थान दिएका छन्। अब पनि पुरानो दलहरु पुरानो धारमा अगाडि बढ्दै जाने हो भने पक्कै पनि नयाँ पुस्ताले सकारात्मक हस्ताक्षेप गर्ने अवस्था सिर्जना भएको छ।

    २०७९ साल निर्वाचनमय वर्षको रुपमा रहनु र परम्परागत दल लाई सचेत गराउन नयाँ दलको उदय हुने सकारात्मक कार्यको अलवा मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विकास र समृद्धिको दिशामा बाटो पहिल्याउँदै हिड्ने काम भएको पाइएन । जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमका साथै जनताको दैनिकी र जीवनस्तरसँग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सकेनौं । देशमा अत्याधिक महंगी, भ्रष्टाचार बढ्नु, कोरोना र आर्थिक मन्दीका कारण मध्यम तथा निम्नमध्यम वर्गीय परिवारमा नैरास्यता छाएर आत्माहत्या गर्ने प्रवृत्ति बढ्दै गएको बर्षको रुपमा रह्यो।

    गएको वर्षमा जे–जस्ता नकारात्मक अवस्थता भएको भएपनि नयाँ बर्षसंगै जनताको हितार्थ दलहरुको बिच असहमति, असमझदारी र कटुता भएपनि सवै बेमेलहरु एकै ठाउँमा गन्थन गरेर राष्ट्रिय हित र स्वार्थका खातिर सबै एकै ठाउँमा आएर सहमति, सहकार्य र एकताको सन्देश प्रवाह गर्न यो नयाँवर्ष सफल रहोस् । अस्थिरता तर्फ अघि बढेको मुलुक स्थिरता तर्फ अगाडी बढ्दै समग्र विकास प्रक्रियाले गति लेओस् । युवाहरूलाई विदेशमा बेचेर उनहरुको रगत र पसिनालाई आम्दानीको स्रोतको रूपमा नलिएर आफ्नै ठाउँमा परिवारसँग बसेर देशैलाई के गर्ने वातावरण बनोस।

    विगत जे जस्तो भएपनि आगत र भविष्य सुन्दर एवं स्वर्णिम होस् । सबैका आपसी बेमेल, कटुता, असमझदारी हटुन् । महंगी र भ्रष्टाचार नियन्त्रण होस्। बैंकको ब्याज र चर्को करको मारले कुनै पनि व्यवसायीले व्यवसाय छाड्ने अथवा आत्मदह गर्ने प्रवृत्ति अन्त्य होस् ।नेपाली एउटै मालामा सामुहिक भावनामा जोडिन सक्ने प्रण गरौं । नयाँ बर्ष, नयाँ योजना, संकल्प र कार्यान्वयन सहितको वर्ष बनोस् वर्ष २०८० ।