× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट, यस अघि पनि छनोट भएर खेल्न पाएक थिएनन्

    १ वर्ष पहिले

    बैशाख-१९, नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

    यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

    २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।

    नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए ।

    यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । भने, आयान अफजल खानले १ विकेट लिए ।

    वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र यूएईसहित १० राष्ट्रको सहभागिता रहेको थियो । नेपाल रहेको समूह ए मा मलेसिया, कतार, साउदी अरबिया र ओमान थिए । भने, यूएईको समूह बी मा कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।

    नेपालले पहिलो समूह चरणको खेलमा मलेसियालाई ६ विकेटले हराउँदा दोस्रोमा ओमानलाई ८४ रन र तेस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा नेपाल साउदीसँग अंक बाँड्दै एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।

    समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेता बन्यो । सेमिफाइनलमा कुवेत प्रतिद्वन्दी पाएको नेपाल वर्षाकै कारण पुरा खेल हुन नसक्दा समूह विजेताको हैसियतले फाइनल पुगेको हो ।

    यूएईले समूह चरणको पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । भने, दोस्रो खेलमा हङकङले यूएईलाई डीएल मेथडमा ६७ रनले पराजित गर्यो ।

    तेस्रो खेलमा सिंगापुरलाई २ सय १ रन र समूह चरणको अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएईले सेमिफाइनल यात्रा तय गरेको थियो ।

    सेमिफाइनलमा यूएई ओमानलाई डीएल मेथडमा २ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।

    यो जितसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गरेको छ ।

    यसअघि नेपालले सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपको यात्रा तय गरेको थियो ।

    नेपालले मलेसियालाई सेमिफाइनलमा हराउँदै एसिया कपमा स्थान बनाएको थियो । राजु खड्काको कप्तानीमा नेपालले समूह चरणमा ओमान, कतार, कुवेतलाई हरायो । यूएईसँग पराजित भए पनि समूह उपविजेताको रूपमा नेपालले सेमिफाइनलमा मलेसियाविरुद्ध २५ रनको जित निकाल्यो ।

    नेपाल समूह चरण र फाइलनमा यूएईसँग समान ६ विकेटले पराजित भएको थियो । तर, भारत र पाकिस्तानबीच कारगिलमा युद्ध चलिरहेकाले नेपालले उक्त एसिया कप खेल्न पाएन ।