× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दैनिक उपभोग गर्ने वस्तु र सेवाको मुल्यमा अत्यधिक वृद्धि

    १ वर्ष पहिले

    बैशाख-२७, दैनिक उपभोग गर्ने वस्तु र सेवाको बढ्दो मूल्यले सर्वसाधारणको जीवनमा तनाव थपिरहेको छ। यो वर्ष अधिकांश वस्तु र सेवाको बजार भाउ अत्यधिक बढिरहेको तथ्यांकले देखाएको छ।

    नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकले यो आर्थिक वर्षको पहिलो नौ महीना (साउन-चैत) मा उपभोक्ता मूल्यवृद्धिदर औसतमा ७.९१ प्रतिशत रहेको देखाएको छ।केही वर्ष मत्थर रहेको मूल्यवृद्धि गत आर्थिक वर्षदेखि बढ्न थालेको थियो।

    गत वर्ष (आर्थिक वर्ष २०७८/७९) मूल्यवृद्धि दर ६.३२ प्रतिशत थियो। आर्थिक वर्ष २०७७/७८ मा भने मूल्यवृद्धि दर ३.६ प्रतिशत मात्रै थियो। केन्द्रीय ब्यांकका अनुसार, चैतलाई मात्रै हेर्दा मूल्यवृद्धि दर ७.७६ प्रतिशत छ।

    चैतमा अन्नको मूल्य १३.७ प्रतिशतले बढेको छ। फलफूलको मूल्य ११ प्रतिशत, दूध र अण्डाको मूल्य १०.३६ प्रतिशत र मसलाको मूल्य १४.६७ प्रतिशतले बढेको छ। खाद्यान्नसहित अत्यावश्यक उपभोग्य वस्तुको उच्च मूल्यवृद्धिले न्यून र मध्यमवर्गीय परिवारलाई आर्थिक बोझ थपिन्छ। खाद्यान्य सहितको मूल्यवृद्धिका कारण रेस्टुरेन्ट र होटलको मूल्य समेत करीब १५ प्रतिशतले बढेको छ।

    गत वर्षको तुलनामा घरको भाडा ९.५४ प्रतिशत, शिक्षा शुल्क ८.६७ प्रतिशत, स्वास्थ्य सेवाको मूल्य १०.३९ प्रतिशत र यातायातको शुल्क ८.२९ प्रतिशतले विस्तार भएको छ।

    देशमा आर्थिक क्रियाकलापमा सुस्तता आएर सर्वसाधारणको आम्दानी खस्किएका वेला भइरहेको उच्च मूल्यवृद्धिले घरपरिवारको आर्थिक सन्तुलनमा गहिरो असर पारेको छ। सरकारले यो वर्ष मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने घोषणा गरे पनि मूल्यवृद्धिदर ८ प्रतिशत छेउछाउ पुग्ने देखिएको छ।

    चैतसम्म सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत पुगेको छ। मूलयवृद्धि दर तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत छ।