× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ–मुग्लिन सडकखण्डका पाँचवटा पुल सञ्चालनको तयारीमा, तुइन खोलाको पुल निर्माण बर्खा पछि हुने

    १ वर्ष पहिले

    जेठ-११, नारायणगढ–मुग्लिन सडकमा १५ वटा पुल निर्माणको काम धमाधम भइरहेको छ । जसमध्ये पाँचवटा पुल सञ्चालनको अन्तिम तयारीमा रहेका छन् । लामो समयदेखि रोकिएको खहरे खोलाको पुलको निर्माण कार्य पनि सुरू भएको छ ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले नारायणगढ–मुग्लिन सडकका पाँचवटा पुल यही आर्थिक वर्षको असार मसान्तभित्रै सञ्चालनमा ल्याइने बताए । उनले भने, ‘लामो समयदेखि निर्माण कार्य रोकिएको खहरे खोलाको पुलको निर्माण कार्य पनि सुरू भएको छ । हाल १५ वटा पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, जसमध्ये पाँचवटा पुल निर्माण अन्तिम चरणमा छ ।’

    खहरे खोलाको पुलको निर्माणको क्रममा केही घरटहरा परेका थिए । ती घरटहरालाई हटाउन सरकारले यसअघि नै स्वीकृति दिएको थियो, तर क्षतिपूर्तिबापतको रकम अर्थ मन्त्रालयबाट निकासा भएको थिएन, जसका कारण खहरे खोलाको निर्माण कार्य अघि बढेको थिएन ।

    आचार्यले भने, ‘अर्थ मन्त्रालयले आधा रकम निकासा गरेपछि क्षतिपूर्ति दिनुपर्ने घरटहरा धनीलाई पहिलो किस्ताको रकम दियौँ, जसका कारण पुल निर्माणको बाटो खु्ल्यो ।’ यसअघि नै मन्त्रिपरिषद्को बैठकले पुल निर्माणको क्रममा सडकभित्र परेका २६ वटा घरटहरा भोगचलन गर्नेहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

    नारायणगढ–मुग्लिन सडकमा १५ वटा पुल निर्माणको काम भइरहेको सूचना अधिकारी आचार्यको भनाइ छ । उनले सडक सीमाभित्र परेका २६ घरटहरा भोगचलन गर्नेहरुलाई एक करोड रूपैयाँ क्षतिपूर्तिका लागि अर्थ मन्त्रालयसँग माग गरे पनि आधामात्रै रकम निकासा भएको आचार्य बताउँछन् । खहरे खोलाको पुल मुग्लिन बजारनजिकै पर्छ ।

    नारायणगढ–मुग्लिन सडकमा निर्माणको क्रममा रहेका १५ वटा पुलमध्ये ७ वटा पुल दसैँपछि सञ्चालनमा ल्याइने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जनाएको छ ।

    खहरे दासढुङ्गा, खोरखोला, लामा बालुवा खोला, भोर्ले खोला, सेती दोभान खोला, डुम्रे खोला, सिमलताल खोला, नाम्सी खोला, तोपे खोलामा निर्माण अन्तिम चरणमा रहेको छ । सूचना अधिकारी आचार्यका अनुसार लामा बालुवा पुल, भोर्ले खोला पुल, डुम्रे खोला पुल, सती दोभानको पुल र सिमल ताल खोलाको पुल असार मसान्तभित्रै सञ्चालनमा ल्याइनेछ । जुगेडी, रिग्दी, कालीखोला र चिस्यानी खोलाको पुललगायत सातवटा खोलाको पुल दसैँपछि सञ्चालन हुनेछ ।

    तुइन खोलाको पुल निर्माणमा पहाड काट्नुपर्ने अवस्था आएको छ । देब्रेतर्फको पहाड काटेर सकेपछि दाहिनेतर्फको काट्न बाँकी छ । पहाड काट्नका लागि विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको छ । रक्षा मन्त्रालयबाट विस्फोटक पदार्थले पहाड काट्न स्वीकृति पनि आइसकेको छ । बर्खाको बेला पहाड फुटाउँदा पहिरोको थप जोखिम भएको हुनाले बर्खापछि नै पहाड फुटाउने योजना बनाइएको सूचना अधिकारी आचार्यले बताए । उनका अनुसार यो पुलको निर्माण केही ढिला हुनेछ ।

    विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । सडक विस्तारको कामपछि साँघुरा पुलका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको थियो । प्याकेज–१ मा मुग्लिनबाटयताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धिखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् ।

    प्याकेज–१ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख छ । दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाख छ । योमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो ।