× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण पोखरा–बागलुङ खण्ड तथा गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द

    १ वर्ष पहिले

    असार-१९, धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरूद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो।

    भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो। अवरूद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ।

    सडक अवरूद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन्। अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ।

    पहिराले महाकाली लोकमार्ग अवरुद्ध

    वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरूद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो।

    सोमबार रातिदेखि सुरू भएको वर्षासँगै ठाउँ-ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको छ। खलङ्गाबाट महेन्द्रनगर–काठमाडौंका लागि छुटेका बस सडक अवरूद्ध हुँदा बाटोमै रोकिएका छन्।

    पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ। सडक अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्।

    महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्। पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए।