१ वर्ष पहिले
– राम बहादुर लामा
मुग्लिङ। गोर्खा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर र त्रिवेणी मन्दिरलाई चितवन जिल्लाको प्रसिद्ध धार्मिक स्थल ईच्छाकामना मन्दिरसँग जोडी धार्मिक सर्किटको रुपमा बिकसित तुल्याउन आफैमा पर्याप्त सबल सम्भाबना बोकेको देखिन्छ। गोर्खा जिल्लाको शहिद लखन गाउँपालिकामा अबस्थित मनकामना देबी, त्रिवेणी देवी र चितवन जिल्लाको ईच्छाकामना गाउँपालिकामा पर्ने ईच्छाकामना देबी पौराणिक किबदन्ती अनुसार सहोदर दिदी बहिनीको रुपमा आफ्नो नाता रहेको पाईन्छ। जनश्रुती अनुसार मनकामना देवीको साहिली बहिनी ईच्छाकामना देवी र कान्छी बहिनीको रुपमा त्रिवेणी भगबती रहेको मान्यता रही आएको छ। मनको आफ्नो ईच्छा पूरा गराउन गरिएको भाकल र प्रार्थना पूरा गर्न यी तीनै स्थलहरुमा भक्तजनहरुको लामो लर्को बर्षभरीनै लाग्ने गरिन्छ। प्रचार प्रसारको अभाबमा अपेक्षाकृत मनकामना देबी जतिको सबैको आखा नलागे तापनि धार्मिक महत्व र ऐतिहासिक मान्यताको कारण ईच्छाकामना र त्रिबेणी मन्दिरको शक्ति र भक्ति तीर्थालुहरुको निम्ति आकर्षण कै रुपमा रहेको पाईन्छ । यो धार्मिक सर्किटले दुई जिल्ला बीचको प्रसिद्ध धार्मिक स्थलहरुलाई संयोजन गर्ने मात्र होईन दुई प्रदेश गण्डकी र बागमती प्रदेशलाई समेत जोडने कार्य गर्दछ र मुलुकको राजधानी काठमाण्डौलाई जोडने लाईभ लाईनको रुपमा रहेको पृथ्वी राजमार्गको ११० किलो मीटरको दूरीमा रहेका सयौ बजार र बस्तीहरु, गोर्खा जिल्लाको शहिद लखन गाउपालिकाको करिब २३ हजार र चितवन जिल्लाको ईच्छाकामना गाउँपालिकाको २७ हजार जनसंख्याको सम्मृद्धि र प्रगतिको निम्ति पनि महत्वपूर्ण योगदान दिन सक्ने हुदा यो धार्मिक सर्किटले बहुआयामिक महत्व र अर्थ बोकेको देखिन्छ ।
धार्मिक सर्किटको रुट :
मुग्लिङ पारी त्रिवेणी मन्दिरबाट गोर्खाको मनकामना मन्दिर १३ किलोमीटर रहेको छ भने मुग्लिङबाट चितवनको ईच्छाकामना मन्दिर पुग्न करिब १४ किलोमीटरको दूरीमा रहेको छ । यसरी तीन प्रसिद्ध शक्तिपीठ त्रिवेणी, मनकामना र ईच्छाकामना मन्दिर २७ किलोमीटरको सडक यात्राबाट करिब २ घण्टामा नै पुगेर दर्शन गर्न सकिन्छ । गोर्खा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं ३ स्थित करनटार गाउँ छेउ रहेका त्रिवेणी मन्दिर जो चितवन जिल्लाको मुग्लिङ बजारको ठीक पारी पट्टी गोर्खा जिल्लामा अबस्थित रहेको छ । जसलाई त्रिशुली नदी माथि राखिएको झोलुगे पुलले मुग्लिङ र त्रिवेणी मन्दिरलाई जोडदछ । मुग्लिङबाट त्रिवेणी मन्दिर १० मिनेटको पैदल दूरीमा रहेको छ । त्रिवेणी मन्दिरबाट मोटर हिडने करिब १३ किलो मिटरको कच्ची सडकले मनकामना मन्दिर पुग्न सकिन्छ । गुरुङ र मगर जातिका बस्तीहरुले ढाकिएको मनोहर गाउँहरु करनटार, नेभारे, तीन घरे, सिलिङ, तल्लो ग्याजा, माथिल्लो ग्याजा, दारसिङ, कोटगाउँ, लामाछाप, हटिया हुदै मनकामना पुग्न सकिन्छ । केबुलकार बन्नु अघि पैदल यात्राबाट मनकामना मन्दिर जाने मूल पैदल मार्गको रुपमा यो रुट प्रचलित रहदै आएको थियो । काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ चितवन र पूर्बी नेपालबाट आउने दर्शानार्थीहरु यही रुटको प्रयोग गरी मनकामना मन्दिरको दर्शन गर्न पैदल जाने गर्दथे ।
सडक यात्राबाट मुलुकको राजधानी काठमाण्डौलाई पूर्ब पश्चिमसँग जोडने ट्रान्जिट टाउनको रुपमा परिचित मुग्लिङ बजारबाट तीनै धार्मिक स्थलको गाडीबाट र पैदलबाट पुग्न सकिन्छ र यी रुटबाट मुग्लिङ भई आवात जावत गर्ने यात्रीहरुलाई तीन शक्तिपीठको दर्शन र पूजा गर्न सहज देखिन्छ ।
तीन शक्तिपीठको धार्मिक महत्व :
मनकामना देवीको कान्छी बहिनीको रुपमा परिचित त्रिवेणी मन्दिरको अजस्र जल कुण्डको जल मनकामना देबीको मूर्तिमा तर्पण गरे पश्चात मात्र मनकामना देबीको बास्तबिक पूजा मानिने चलन रहेको छ । प्रचार प्रसारको अभाबको कारण यो चलन त्यति प्रचलित नभएता पनि मनकामनाको मूल गुठी पूजा गर्दा भने त्रिवेणी मन्दिरबाट ल्याएको जल अनिबार्य मानिन्छ । मनकामना देबीको साहिली बहिनीको रुपमा परिचित चितवन जिल्लाको ईच्छाकामना गाउँपालिकाको वडा नं ५ मा अबस्थित ईच्छाकामना मन्दिर मुग्लिङ हुदै करिब १४ किलोमीटरको कच्ची सडक मार्गबाट पुग्न सकिन्छ । गुरुङ, मगर, क्षेत्री बाहुन र दलित जातिका बस्तीहरुले ढाकिएको मनोहर गाउँहरु खर्पन, तामिन, किटस्वरा, भोटेस्वरा, बनेलटार हुदै ईच्छाकामना मन्दिर पुग्न सकिन्छ । मुग्लिङबाट जीपबाट करिब १ घण्टामा ईच्छाकामना मन्दिर पुग्न सकिन्छ । मनकामना मन्दिरको मूल पूजारी मगर जातिको रहेको छ भने त्रिवेणी र ईच्छाकामना मन्दिरको पूजारी भने गुरुङ जातिबाट रहेको छ । आफूले चाहेका आटेका मनका ईच्छा र चाहनाहरु पूरा हुन्छ भनेर यी शक्तिपीठको भाकल र प्रार्थना गर्ने चलन सदियौ देखि रही आएको छ । यी तीनै शक्तिपीठमा हप्ता पन्ध्र दिनको फरक पारेर मूल पूजा गरिने गरी बार्षिक रुपमा जात्रा लाग्ने चलन रही आएको छ । नेपालको पूर्ब पश्चिम देखि सो बेला मेला भर्न र पूजा गर्न यहा हजारौ जात्रालु र तीर्थालुहरु आउने गर्दछ ।
साक्षत शिब भगबानले हिमालयमा त्रिशुल रोपी उद्भब गरिएको मानिने त्रिशुली नदी र गणेश हिमालको मूलबाट निस्तृत भएको बूढी गण्डकी नदीलाई दाँया पारेर र दामोदर हिमालको मूलबाट फुटेर बगेका मर्स्याङदी नदीलाई बाया पारेर जोडिएको बिशाल चट्टानको शिरमा अबस्थित त्रिबेणी भगबती र ती तीनै नदीको जलले अहोरात्र सिञ्चित भूमिको शिरमा बिराजमान मनकामना र ईच्छाकामना मन्दिरको आफ्नै बिशिष्ट धार्मिक र पौराणिक महत्व र अर्थ रहेको पाईन्छ ।
स्थानीय सम्मृद्धि र प्रगतिको सम्भाबना :
कुनै पनि स्थल र सम्पदाले भक्तजन र दर्शनार्थीहरुलाई प्रबेश र पहुच मात्र गराउदैन ती स्थल सगै सो स्थलको प्रभाबित भेग र क्षेत्रको आर्थिक सम्मृद्धि गराउने क्षमता र ताकत पनि दिलाउदछ। यी तीन शक्तिपीठको संयोजन गरी धार्मिक सर्किटको रुपमा बिकास र बिस्तार गर्न तुलनात्मक रुपमा प्रचूर सम्भाबना रहेको देखिन्छ । राष्ट्रिय राजमार्गको सुबिख्यात दुई मूल रुट पृथ्बी राजमार्ग र नारायणगढ-मुग्लिङ सगै प्रत्यक्ष जोडिएको धार्मिक तीर्थस्थल रहेको कारण यी सम्पदाहरुमा बर्षको लाखौ धार्मिक पर्यटकहरुको भीड लगाउन सकिन्छ । यी सम्पदाको धार्मिक बिशेषता र यसको प्राचिनताको कारण पनि भक्तजनहरुमा जर्बजस्त आकर्षण रहेको देखिन्छ । आज पनि मनकामना मन्दिरमा बर्षको १२ लाख दर्शानार्थीहरुले नेपालको पहिलो केबुलकार मनकामना केबुलकार चढी दर्शन गरेको पाईन्छ । ती मध्ये लगभग ३० % भक्तजनहरु भारतीय रहेको बताईन्छ । करिब १४०० मीटरको उचाईमा अबस्थित मनकामना मन्दिर रहेको बजार र १८०० मीटरमा अबस्थित ईच्छाकामना मन्दिर क्षेत्रलाई हिल स्टेशनको रुपमा पनि बिकास गरी धार्मिक पर्यटकका साथै होलीडे मेकर लिजर्स टुरिस्टहरुलाई पनि आकर्षण गर्न सकिन्छ । र यी तीन शक्तिपीठ जोडने धार्मिक सर्किटका रुटहरुमा रहेका बस्तीहरुलाई आकर्षक पर्यापर्यटन मैत्री होम स्टेको रुपमा बिकास गर्न सकिन्छ। जसबाट ती क्षेत्रका आदिबासी जनजाति र दलितहरुको सामाजिक तथा आर्थिक परिबर्तनका निम्ति ठूलो सघाउ पुग्ने देखिन्छ। यसै गरी ट्रान्जिट टाउनको रुपमा परिचित मुग्लिङ बजारलाई ओपन फूड मार्केट हबको रुपमा बिकास गरी दैनिक लाखौको संख्यामा आउने यात्रीहरुलाई सेवा तथा सुबिधा दिन सकिन्छ । मनकामनामा केबुलकार पुगी सकेको छ भने ईच्छाकामना मन्दिरमा पनि केबुलकार पुरयाउने योजना अघि बढेको छ । नेपालको पहिलो, दोश्रो र तेस्रो पर्यटन केन्द्र काठमाण्डौ, पोखरा र चितवनको बीच भागमा पर्ने यो धार्मिक सर्किटलाई तीर्थस्थल पर्यटनको नमूना क्षेत्रको रुपमा बिकसित गर्न सकिन्छ ।
चार धामको मोडेलमा जान सकिने :
हिन्दू धर्ममा चार धामको बिशिष्ट महत्व र अर्थ रहेको पाईन्छ । पूर्बजन्मका पाप मोचन र यो जन्ममा आटे चाहेका मनोकांक्षाहरु परिपूर्तिका निम्ति चार धामको तीर्थ जाने प्रचलन सनातन कालदेखि धर्मभिरु भक्तजनरुमा चली आएको पाईन्छ । भारतको सुप्रसिद्ध चार धाम बद्रीनाथ, रामेश्चर, जग्गनाथ र द्धारिका सम्पूर्ण हिन्दूहरुको निन्ति सदैब आकर्षणको केन्द्रको रुपमा रही आएको छ भने जीबनकालमा एकपटक पुग्नै पर्ने पुण्य स्थलको रुपमा लिने गरिन्छ । यसै मान्यताको प्राचिनता र धार्मिक मूल्यबत्ततालाई आत्मसात गर्दे गोर्खा जिल्लाको मनकामना र त्रिवेणी, चितवन जिल्लाको ईच्छाकामना र तँन्हू जिल्लाको छिम्केश्वरी मन्दिरलाई चार धामको मोडेलमा बिकास गरी यसको धार्मिक र सांस्कृतिक महत्वलाई स्थापित गर्न सकिन्छ । हाम्रो आस्था र गौरबको गाथालाई समयानुकुल रुपान्तरण गर्नु आजको आबश्यकता पनि हो । नत्र हाम्रो धार्मिक धरोहरहरु परित्यग्य र रिक्त हुदै जाने खतरा पनि सगसगै देखिन्छ ।
चालिनु पर्ने कदम :
प्रसिद्ध तीन शक्तिपीठहरुलाई आपसमा जोडिने यो धार्मिक परिपथ बिकासको लगि हाल चालू हालतको कच्ची सडकको क्षमतालाई बिस्तार गरी राष्ट्रियस्तरको राजमार्गको रुपमा बिकास गरी १२ महिना चल्ने बनाउन जरुरी देखिन्छ । संघीय बजेटका साथै गण्डकी र बागमती प्रदेशले पनि प्रादेशिक महत्वको सडकको रुपमा प्रार्थमिकता दिई बजेट बिनियोजन गर्नु पर्दछ । त्रिवेणी मन्दिर क्षेत्र रहेका स्थानमा पिकनिक स्पट र चिल्ड्रेन पार्कको रुपमा बिकास गर्न आबश्यक पूर्बाधार निर्माण गर्नु पर्दछ । दर्शानार्थी भक्तजन र पर्यटकहरुको सुबिधाको लागि वेलनेस रिट्रिट रिसोर्टको स्थापना गरी खर्चालु पर्यटकहरुलाई आकर्षित गरिनु पर्दछ । सर्बसाधरण भक्तजनहरुको स्तर र खर्च गर्न सक्ने क्षमतालाई ध्यानमा राखी पीपीपी (३ पी) मोडेलमा धर्मशाला र गेस्ट हाउसहरुको निर्माण गर्नुपर्दछ । र यसका लागि स्थानीय तहले आकर्षक सुबिधा दिई लगानीकर्ताहरुलाई आकर्षित गर्नु पर्दछ । धार्मिक पर्यटनको साथै यी क्षेत्रमा साहसिक पर्यापर्यटन, कृषि पर्यटनको बिकास गर्न सकिन्छ । मनकामना, ईच्छाकामना र छिम्केश्वरीका डाडाबाट प्यराग्लाईडिङ गर्न सकिन्छ । यसका साथै यी तीन शक्तिपीठ जोडिने गरी टेम्पल टु टेम्पल ट्रेलको बिश्वस्तरको डेस्टिनेशन बनाउन सकिन्छ । जहा बिश्वभरका नाम चलेका ट्रेल रनर्सहरु प्रतियोगितामा भाग लिने आउनेछन र स्पोर्ट्स टुरिज्मको हब पनि बनाउन सकिन्छ । जसबाट यी क्षेत्रको आर्थिक बिकास हुनुका साथै हजारौले रोजगार पाउन सक्नेछ ।
लेखक मुग्लिङ हाईवे हस्पिटलको अध्यक्षका साथै सामाजिक अभियन्ता हुनुहुन्छ ।
Email: info2rblama@gmail.com