× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • प्रदेश

    भरतपुर जनस्वास्थ्य प्रयोगशालामा सस्तोमा ल्याब सेवा । अब महँगो पैसा तिर्नुपर्ने बाध्यता हट्यो

    १ वर्ष पहिले

    भरतपुर । भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको केही दिन भएको छ । भरतपुरस्थित स्वास्थ्य कार्यालय परिसरभित्र यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । झन्डै आठ करोड लागतमा मेसिन खरिद गरिएको हो । अहिले दैनिक सयदेखि एक सय पचाससम्म नमुनाहरु जाँच गरिन्छ । जसको क्षमता एकैपटकमा एक हजारदेखि एक हजार दुई सय नमुना जाँच सम्मको छ ।

    अत्याधुनिक ल्याब सेवा भरतपुर मै छ भन्ने बारे आम मानिसलाई थाहा नहुँदा ल्याब पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । कुनै पनि परीक्षण निजी ल्याबको भन्दा महँगो छैन । राष्ट्रिय प्रयोगशाला टेकुले निर्धारण गरेको दर नै कार्यान्वयनमा ल्याइएको छ ।

    अन्य अस्पताल तथा प्रयोगशालाको भन्दा हरेक जसो परीक्षणमा आधा शुल्क निर्धारण गरिएको छ । कतिपयमा ६६ प्रतिशत सम्म छूट छ । केही परीक्षण सबैका लागि निःशुल्क समेत छन् । तर लक्षित समुदाय, विपन्न नागरिकका लागि यो सबै सेवा निःशुल्क हुनेछ । बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने दिन यो सेवा लिन सकिन्छ ।

    ‘आफूलाई मन लाग्यो रे भनेर जहिलेसुकै परीक्षण हुँदैन, यस ल्याबमा परीक्षणका लागि चिकित्सकले सिफारिस गर्नुपर्छ जुन अस्पताल, क्लिनिकको भए पनि हुन्छ’, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले भने, ‘महँगो रकम तिरेर रगत, दिसापिसाब र अन्य सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ ।’

    आम मानिसले परीक्षण गराउने सबै खालका जाँचहरु (झन्डै एक सय ५० थरी) यहाँ गरिने उनले बताए । नमुना लिएको दुई घन्टामा नतिजा दिन सकिने गरी काम थालिएको छ ।

    यस प्रयोगशालाको गत असार १६ गते बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले शुभारम्भ गरेका हुन् । बागमती प्रदेशको मूल सेवा कार्यालय धुलिखेलमा रहेकोमा भरतपुरमा इकाइ सेवा कार्यालयको रुपमा प्रयोगशाला स्थापना गरिएको हो ।

    उपकरण सञ्चालन नियमित भएमा नागरिकहरुले प्रत्यक्ष र सधैँभरि लाभ लिन सक्ने भन्दै मन्त्री जोशीले सेवा विस्तारका लागि आफूले काम गर्ने बताए । भरतपुरलाई मेडिकल सिटी भनिए पनि जनताले भनेजस्तो सरकारी सेवा नपाउँदा दुःख पाउने गरेकोमा जनस्वास्थ्य प्रयोगशालाबाट राहत हुनेमा आफू विश्वस्त रहेको मन्त्री जोशीको भनाइ छ ।

    कार्यालयमा आएका नमुना मात्र नभई ठाउँ विशेष, उमेर विशेष, समुदाय विशेषमा गएर विविध नमुना लिई अनुसन्धान गरिने निर्देशक कार्की बताउँछन् । ‘आउटब्रेक भएको अवस्थामा फिल्डमा पुगेर नमुना संकलन लिई अनुसन्धान गर्ने पनि हाम्रै जिम्मेवारी हो’, उनले भने । कुनै पनि समुदायमा रोगको प्रकोप अध्ययनका साथै विपन्न र लक्षित समुदायसम्म पुगेर सेवा दिने उनले बताए ।

    Source : echitwanpost.com