× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    सुन तस्करको ‘कनेक्सन’ माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा

    १ वर्ष पहिले

    काठमाण्डौ, साउन १५ । राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ । दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र अनुसन्धान टुंगोमा पुग्न सक्ने विश्वास गरिएको छ । तर, यो प्रकरणमा सत्तारुढ माओवादी केन्द्रकै नेताहरूको संलग्नता देखिएकाले अनुसन्धान अवरुद्ध हुने खतरासमेत बढेको छ ।

    सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याएर कारोबार गराउने एजेन्ट भएको स्रोतको दाबी छ । उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ । राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दावा सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । दावा चिनियाँ मूलका भए पनि उनीसँग नेपाली नागरिकतासमेत रहेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले पक्राउ परेका दावा सुन तस्करी प्रकरण गिरोहका प्रमुखमध्येका एक सदस्य रहेको हुन सक्ने बताए ।

    उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । हालसम्म पक्राउ पर्नेहरूमा भरिया तथा सहयोगी मात्रै थिए तर आइतबार दावा पक्राउ परेसँगै यस प्रकरणका योजनाकारमध्येका एक पक्राउ परेको हुनसक्ने विश्वास विभागका अधिकारीहरूको छ । विभागका अधिकारीहरूले सुन तस्करीको क्रम र प्रवृत्ति हेर्दा यसमा ठूलैखालका व्यापारी तथा राजनीतिक नेतृत्वको समेत संलग्नता रहेको हुन सक्ने आशंका गर्दै आइरहेका थिए ।

    दावालाई विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर पक्राउ गरेको थियो । सो होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको प्रहरीस्रोतको दाबी छ । यसअघि पनि सो होटलमा प्रहरीले छापा मारी विभिन्न आपराधिक घटनामा संलग्न चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको थियो । 
    यो समाचार नेपाल समाचारपत्रमा छ ।