× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौंमा नेवार समुदायको एक महिने गुँला पर्व सुरु

    १ वर्ष पहिले

    श्रावण-३२, काठमाडौं उपत्यकामा बौद्ध धर्म अनुयायी नेवार समुदायको गुँला पर्व सुुरु भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व सुरु भएको हो ।

    नेपाल संवतअनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउने राजगुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन् ।

    ‘यो पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैं पालना गर्नुपर्छ भन्ने नियम छ’, उनले भने । पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचार नगर्ने , झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।

    पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिए ।

    यो महिनामा क्षमताअनुसार दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्छ । राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।

    काठमाडौं महानगरपालिका–७ चाबहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको बनाउँछन् । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ ।

    चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ ।

    ठमेलमा शतसहस्रिका प्रदर्शन गरिने

    गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध एवं अन्य बुद्धका सामग्री प्रदर्शन गरिन्छ । यो अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञा पारमिता पाठ गरिन्छ । ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् १ लाख श्‍लोक रहेको प्रज्ञा पारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायको ठूलो ग्रन्थ हो ।