× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस वर्षको भौतिक विज्ञानतर्फ नोबल पुरस्कार तीन जना वैज्ञानिकलाई 

    १२ महिना पहिले

    असोज-१६, यस वर्ष भौतिक विज्ञानतर्फ तीन जना वैज्ञानिकले नोबल पुरस्कार पाएका छन्।

    पियरे अगोस्तिनी, फेरेन्क क्राउज र आन लुहिलियरलाई संयुक्तरूपमा पुरस्कृत गरिएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले जनाएको छ। ‘पदार्थमा इलेक्ट्रोनको चाल सम्बन्धी अध्ययनका लागि प्रकाशको अट्टोसेकेन्ड पल्सहरू सिर्जना गर्ने प्रयोगका लागि’ तीनै जना वैज्ञानिकलाई पुरस्कृत गरिएको नोबल कमिटीले उल्लेख गरेको छ।

    अट्टोसेकेन्ड पल्सहरू लेजर प्रकाशका अट्टोसेकेन्ड अवधिका झिल्काहरू हुन्। यो अहिलेसम्म वैज्ञानिकहरूले आविष्कार गरेका सबैभन्दा छोटो अवधिका प्रकाश हुन्।

    अट्टोसेकेन्ड आफैंमा समयको निकै सूक्ष्म अंश हो। ब्रह्माण्डको उमेर (करीब १३ अर्ब ७७ करोड वर्ष)लाई एक सेकेन्ड बराबर मान्ने हो भने अट्टोसेकेन्ड एक सेकेन्डको हुन्छ।

    यी तीन वैज्ञानिकहरूले गरेको खोजले परमाणु र अणुको संसारमा रहेका इलेक्ट्रोनको खोज गर्न नयाँ औजार उपलब्ध गराएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले विज्ञप्तिमा उल्लेख गरेको छ। प्रकाशका यी सूक्ष्म अवधिका झिल्काहरू प्रयोग गरेर परमाणु र अणुभित्र भइरहेको प्रक्रियाहरूको तस्वीर खिच्न सकिनेछ।

    “अब हामी इलेक्ट्रोन जगत्‌को ढोका खोल्न सक्ने भएका छौं। अट्टोसेकेन्ड भौतिकशास्त्रले हामीलाई इलेक्ट्रोनद्वारा सञ्चालित क्रियाकलाप बुझ्ने अवसर दिएको छ। यसपछिको खुड्किलो यसको उपयोग हो,” भौतिकशास्त्रका लागि नोबल कमिटीकी अध्यक्ष इभा ओल्सोनले भनेकी छन्।

    सन् १९६८ मा फ्रान्सको एइक्स–मार्सेल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका पियरे अगोस्तिनी अहिले अमेरिकाको ओहयो स्टेट विश्वविद्यालयमा प्राध्यापक छन्।

    सन् १९९१ मा अस्ट्रियाको भियना विश्वविद्यालयबाट विद्यावारिधि गरेका फेरेन्क क्राउज अहिले जर्मनीस्थित म्याक्स प्लांक इन्स्टिच्युट अफ् क्वान्टम अप्टिक्सका निर्देशक र लुडविक–म्याक्सिमिलियन्स युनिभर्सिटीमा प्राध्यापक छन्।

    सन् १९८६ मा पियरे एन्ड मेरी क्युरी विश्वविद्यालयबाट विद्यावारिधि गरेकी आन लुहिलियर हाल स्वीडेनको लुन्ड विश्वविद्यालयमा प्राध्यापक छिन्।

    सन् १९०१ देखि भौतिकशास्त्रतर्फ प्रदान गर्न थालिएको नोबल पुरस्कारबाट अहिलेसम्म ११६ जना वैज्ञानिक सम्मानित भएका छन्। तीमध्ये एकल पुरस्कार पाउने ४७ जना वैज्ञानिक छन्।लुहिलियर भौतिकशास्त्रतर्फ नोबल पुरस्कार पाउने पाचौं महिला हुन्।

    यसअघि सन् १९०३ मा मेरी (म्याडम) क्युरी, सन् १९६३ मा मेरिया मेयर, सन् २०१८ मा डोन्ना स्ट्रिकल्यान्ड र सन् २०२० मा आन्द्रिया घेजले भौतिकशास्त्रतर्फ नोबल पुरस्कार पाएका थिए।भौतिकशास्त्रतर्फ नै दुई पटक नोबल पुरस्कार पाउने वैज्ञानिक जोन बार्डेन हुन्।

    भौतिकशास्त्रतर्फ सबैभन्दा कम उमेरमा पुरस्कृत हुने वैज्ञानिक लरेन्स ब्राग हुन् जसलाई सन् १९१५ मा आफ्ना पितासँगै पुरस्कार दिइएको थियो। त्यति वेला उनी २५ वर्षका थिए।सबैभन्दा बढी उमेरमा पुरस्कृत हुने चाहिं आर्थर अस्कीन हुन्। उनले ९६ वर्षको उमेरमा सन् २०१८ मा पुरस्कार पाएका थिए।