× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन के एन्ड आर इन्जिनियरिङले ४४ अर्ब लगानी गर्ने

    १ वर्ष पहिले

    काठमाडौं। प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबुलकार बनाउन लगानी जुटेको छ। भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबुलकार परियोजना निर्माणका साथै लगानीसमते गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबुलकार बनाउन प्रारम्भीक सम्झौता भएको छ। 

    के एन्ड आरले केबुलकार बनाउनुका साथै अपरिवत्य मुद्रामा लगानी गर्ने विषयमा प्रारम्भीक समझदारी भएको मुक्तिनाथले जनाएको छ। मुक्तिनाथलाई लगानी जुटेको कम्पनी सचिव सुमित्रा पाण्डेले बताइन्। समझदारीपत्रमा मुक्तिनाथका प्रवन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका छन्। मुक्तिनाथले प्रशासनिक र कानुनी प्रक्रिया पुरा गरेपछि तत्कालिन अवस्थाको मूल्य निर्धारणका आधारमा के एन्ड आरसँग पूर्ण सम्झौता हुने भएको छ।

    इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना हो। सरकारले दुई वर्षअघि बजेटमा ठूला परियोजना इपिसिएफ मोडलबाट बनाउने बजेटमा ल्याएको थियो। ८० किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको छ। २ प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकाको स्वपुँजी लगानी हुने भएको छ। शिल्यानास भएको मितिले बढीमा ४ वर्षभित्र केबुलकार निर्माण सम्पन्न हुने कम्पनी सचिव पाण्डेले जानकारी दिइन्।

    मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ। यस्तै वातावरणीय प्रभाव मूल्याँकन (इआइए) को काम अन्तिम चरणमा पुगेको मुक्तिनाथले जनाएको छ। आयोजनलाई चाहिने मध्ये ९० प्रतिशत जग्गा खरिदको प्रक्रिया अघि बढिसकेको छ। अब  लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच आयोजना लगानी सम्झौता (पिआइए) हुने भएको छ। कम्पनीले गरेको अध्ययनअनुसार केबलकार संरचना र होटल बनाउन ५५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। गत आर्थिक वर्षको बजेटमा सरकारले पनि महत्व दिँदै मुक्तिनाथ केबुलकार बनाउन सहजीकरण गर्ने भनेको थियो । मुक्तिनाथले केबुलकारको डिपिआर तयार पारी २०७८  कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो। 

    केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन्। यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ। ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ। कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ। केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ। मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ। प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ।

    यस्तै केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ। दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ। त्यसैगरी पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ।  

    वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको मुक्तिनाथ केबुलकारमा सोही क्षमता बराबरको गोन्डोला राखिने छ। केबुलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुनेछ।

    Source : capitalnepal.com