× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एसियाली खेलकुदका सबै खेल सकिए, नेपाल २ पदक सहित ३३औं स्थानमा

    १ वर्ष पहिले

    असोज-२१, आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं एसियाडको सबै खेलको स्पर्धा सकिएको छ ।

    एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित ओमन, ब्रुनाईसंग संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३औं स्थानमा थियो ।

    आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमान २०१ स्वर्ण जितेको छ ।

    चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो ।

    जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो ।

    यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।

    यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो‌।

    यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन ।

    अहिलेसम्मकै ठूलो एसियडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरुले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

    जसमा चीनकी पौडीबाट युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए ।

    १९औं एसियाडको समापन समारोह आइतबार बेलुका हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुनेछ । समापन समारोह स्थानीय समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ ।

    समापन समारोहमा रजत विजेता नेपाली कराते खेलाडी एरिका गुरुङले नेपालको झण्डा बोक्नेछिन् ।