× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    टिकटक प्रतिबन्धमा परेसँगै पोर्न साइट हेर्नेको सङ्ख्यामा वृद्धि

    १० महिना पहिले

    मंसिर-३, नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल टिकटक प्रतिबन्धमा परेसँगै प्रतिबन्धित पोर्न साइट हेर्नेको सङ्ख्या बढेको छ । टिकटकका लागि भीपीएन र ओपन डीएनएस प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएपछि त्यसले अश्लील साइटलाई फाइदा पुगेको हो ।

    इन्टरनेट तथा नेटवर्किङ क्षेत्रका प्राविधिक तथा विज्ञहरूका अनुसार टिकटक प्रतिबन्ध हुनु अघिको तुलनामा यतिखेर ओपन डीएनएस र भीपीएनको प्रयोग बढेर तेब्बर भएको छ । त्यसो त टिकटकमाथि प्रतिबन्ध लागेपछि त्यसका लागि भीपीएन र ओपन डीएनएसको प्रयोग ह्वात्तै बढेको हो ।

    सामाजिक सद्‌भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै सरकारले २७ कात्तिकमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । लगत्तै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई टिकटक नचल्ने बनाउन आवश्यक प्रबन्ध मिलाउन निर्देशन समेत दिएको थियो ।

    त्यसअनुरूप सेवा प्रदायकले डीएनएस तथा आईपी एड्रेसमार्फत टिकटकको ब्लक गरेपनि भीपीएन र ओपन डीएनएसले त्यसलाई बाइपास गरी उक्त एप प्रयोग गरिरहेका छन् । टिकटकका लागि प्रयोगकर्ता यस्ता वैकल्पिक उपाय अपनाउन थालेसँगै त्यसले ब्लक गरिएका अन्य अश्लील तथा अवैध वेबसाइटको पहुँचलाई समेत खुकुलो बनाइदिएको छ ।

    अनुमानित रूपमा टिकटकमाथि प्रतिबन्ध लाग्नु अघि भीपीएनमार्फत आउने इन्टरनेट ट्राफिक २५ जीबीपीएस रहेकोमा हाल बढेर ७२ जीबीपीएस नाघिसकेको बताइन्छ । त्यस्तै ८०० एमबीपीएस हाराहारीमा रहेको ओपन डीएनएस ट्राफिक समेत बढेर तीन जीबीपीएस बढी पुगेको अनुमान छ ।

    भीपीएन र ओपन डीएनएसतर्फ वृद्धि भएको अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत केवल टिकटकका लागि मात्रै नभएको एक इन्टरनेट सेवा प्रदायकका एक विज्ञ प्राविधिकले बताए । “प्रयोगकर्ताले टिकटक चलाउन भीपीएन तथा ओपन डीएनएसको विधि अपनाएको भए पनि अन्ततः त्यसले पोर्न साइटमा समेत पुग्ने बाटो दिएको छ,” एक सेवा प्रदायकका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) ले भने ।