× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मंसिर १५ गते ठूलो पञ्चमीमा ईच्छाकामनामा मेला लाग्ने।

    १० महिना पहिले

    मंसिर १४ । मुग्लिङ। चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको वडा नं ५ मा अबस्थित प्रसिद्ध ईच्छाकामना मन्दिरमा यही मंसीर १५ गते ठूलो पञ्चमीको दिन पराम्परागत रुपमा मनाउदै आएको ईच्छाकामना मेला सदा झै भब्यतापूर्बक बिबिध कार्यक्रम सहित लाग्दैछ। गोरखाको प्रसिद्ध मनकामना देबीको ७ दिदी बहिनीहरु मध्ये साहिली बहिनी मानिने ईच्छाकामना मन्दिर भक्तजनहरुले भाकेको ईच्छा पूरा गर्ने सिद्ध देबीको रुपमा भक्तजनहरु माझ परिचित छिन। यसै कारण देबीको दर्शन गर्न नेपालको कुना काप्चा समेतबाट दर्शनार्थी र भक्तजनहरुको समूह ओईरिरहन्छ। प्रचार प्रसारको कमीको कारण ओझेलमा परेको देखिएता पनि शक्तिकी साक्षत देबीको रुपमा सदियौ देखि स्थापित आफ्नो महत्व र महिमाको कारण भक्तजनहरुले अत्यन्त गहिरो श्रद्धा र बिश्चासका साथ देबीको पूजा पाठ र दर्शन गर्ने गर्दछ। समुन्द्र सतहबाट १८ सय मीटरको उचाईमा अबस्थित ईच्छाकामनाको मन्दिर परिसर बिहानी पख भूई कुहिरोको गुच्छाले लटरम्म ढाकेको र घाम उदाए पछि आखा अगाडि नै ऐना हेरे सरह उत्तरी भेग तर्फ माछापुच्छ्रे, मनास्लु, गणेश हिमालको हिम श्रृङखलाको सेताम्मे पंक्ती देख्दा स्वर्गै पुगेको अनुभब हुन्छ। वरपर बाक्ला बन जंगलले ढाकिएको मनमोहन हरियाली पाखाबाट चरा चुरङगीको मीठा आवाज र  लाली गुरासको फूलहरुको मीठो बासनाले दर्शानार्थीहरुको मनै आनन्दित र उद्धेलित तुल्याउछ। बाह्रैमास चल्ने चीसो हावामा प्रकृतिको खुल्ला आनन्द लिन सकिन्छ। धार्मिक र प्राकृतिक आनन्द लिन चाहने तीर्थयात्री र पर्यटकका निम्ति ईच्छाकामना मन्दिर आकर्षक मानिन्छ।

    ईच्छाकामना मन्दिरको उत्पत्ति कथा र धार्मिक महत्व:

    गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने ईच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो। जस अनुसार ईच्छाकामना मन्दिरको स्थापना मकवानपुरे सेन राजाले सामरिक महत्वको यस स्थानमा मन्दिर स्थापना गरेका हुन भन्ने कुरा यसको ऐतिहासिकताको श्रोतलाई केलाउदा प्रष्टिन्छ। सम्भबत: पाल्पाली राजा मुकुन्द सेनले यी देबीको प्रतिष्ठापन गराएको सम्भाबना बलियो देखिन्छ। अर्को भनाई अनुसार  १९६५ सालमा स्थानीय मनिराम दर्लामी गोठाला जाँदा देउता देखेको भन्दै पछि ढुंगाले बारेर पूजा गरी मन्दिरको नामाकरण गरी स्थापना गरेको बताईन्छ।

    चितवनको ईच्छाकामना मन्दिर र गोरखाको मनकामना मन्दिर दुबै आमुन्ने सामुन्ने डाँडामा अबस्थित रहेका छन। गोर्खाको मनकामना, मुग्लिङ नजिक पर्ने त्रिवेणी भगबती, गोरखकाली र तँन्हूको छिम्केश्चरी देवीलाई दिदी बहिनी मानिने चलन रहेको छ। हुन पनि हो चारै देवीहरु तीनै सुरको डाडामा एक अर्कासँग आमुन्ने सामुन्ने पारी अबस्थित भएको पाईन्छ। र पबित्र पाबन त्रिवेणी वेनीमा मिल्ने हिमाच्छादित त्रिशुली र मर्स्याङदी नदीको जलराशीले चारै देवीको जलाभिषेक गरेको देखिन्छ।

    किंबदन्ती अनुसार, एक पटक मनकामना र इच्छाकामना बीचको ठूलो हो भन्ने विषयमा बिबाद परेछ । इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिएछन । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुगून् भन्ने श्राप दिएछन र ईच्छाकामनाले पनि तिम्रो मुखै हेर्दिन भनेर मनकामनालाई पछाडि फर्किएर बस्छु भनेछन । भएको पनि त्यस्तै देखिन्छ। ईच्छाकामना मन्दिरको मूल ढोका मनकामनालाई पछाडि पारेर राखिएको देखिन्छ र मनकामनाको तुलनामा एकदमै कम भक्तजनहरु आउने गरेको देखिन्छ। ईच्छाकामना माइको मन्दिरमा सन्तान नभएकाहरुले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्न सकिन्छ भन्ने सदियौ देखि जनविश्वास रहेको पाइन्छ। भक्तजनहरुले भाकेको ईच्छा पूरा गर्ने सिद्ध देबीको रुपमा भक्तजनहरु माझ ईच्छाकामना देबी परिचित छिन।

    मन्दिरमा पुग्ने रुट:

    ईच्छाकामना मन्दिर सम्म पुग्ने अहिले प्रचलित दुई रुट रहेका छन। सडक यातयातको सुबिधाको कारण मन्दिर सम्म पुग्न भक्तजनहरुलाई अहिले सहज रहेका छन। चितवनको मुग्लिङ र फिस्लिङ बजारबाट दुई पाग्रे र चार पाङग्रे साना सबारी साधनबाट मजाले पुग्न सकिन्छ। मुग्लिङबाट ईच्छाकामना मन्दिरको सडक दूरी १३ किलोमीटर रहेको छ भने फिस्लिङबाट १९ किलोमीटर रहेको छ।

    १५ गते भब्य मेला हुने।

    ईच्छाकामना मन्दिरमा परापूर्बककालदेखि मंसिर ठूलो पञ्चमीका दिन भब्य मेला लाग्ने प्रचलन रहेको पाईन्छ। मन्दिर परिसरमा फूलको डोली ल्याउने र भाकल पूरा गर्न बली दिनेहरुको चर्को भीड लाग्ने गर्दछ। सो दिन भेला भर्न टाढा टाढाबाट दर्शनार्थी र श्रद्धालु भक्तजनहरु आउने गर्दछ। अहिले मन्दिरसम्म मोटर बाटो पुगेका कारण दर्शानार्थीहरुको संख्या बढ्ने र भुकम्पले ढलेका मन्दिरलाई बागमति प्रदेश सरकार र स्थानीय तहको सहयोगमा २ करोड ६० लाखको लागतमा दुई तले भब्य पगौडा शैलीमा पुर्ननिर्माण गरिएको कुरा ईच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष श्री राम प्रसाद बोहोराले जानकारी दिनु भयो। ।मेलामा स्थानीय सांस्कृतिक झाँकी सहित ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । परापूर्वकाल देखि नै मेला लाग्दै आएको यस ऐतिहासिक प्रसिद्ध धामिर्कस्थल इच्छाकामना मन्दिरमा देशका विभिन्न ठाउँबाट बाजागाजा सहित पञ्चवली,फुलको डोली र बली चढाउने गरिन्छ ।

    खुल्ला सडक दौड र बृहद सांस्कृतिक कार्यक्रम हुने। मेलालाई भब्य र आकर्षक बनाउने उद्धेश्यले यस पटक मुग्लिङ देखि ईच्छाकामना मन्दिर सम्म १३ किलोमीटर खुल्ला सडक दौड प्रतियोगिता पनि आयोजना गरिएको छ। यसको अलबा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको दमदार प्रस्तुति रहेने मेला आयोजक कमिटीले जानकारी दिएको छ।