× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दुई महिनाअघि १ पाउन्डमा दर्ता भएकाे कम्पनी स्पेक्ट्रलाइट यूकेले किन्यो एनसेल

    १० महिना पहिले

    काठमाडौँ — दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ । सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेश मै गरिएको थियो । एनसेलको ८० प्रतिशत सेयर ५ करोड डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा बिक्री, जबकि २०७२ मा १ अर्ब ३६ करोड डलर (तत्कालीन विनियमअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा खरिदबिक्री भएको थियो ।

    उक्त कम्पनी नेपाली मूलका सिंगापुरवासी सतीशलाल आचार्यको नाममा गत सेप्टेम्बर २६ मा एक पाउन्डमा स्पेक्ट्रलाइट यूके नामक कम्पनी दर्ता गरी एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो ।

    एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ । आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेले बिक्रीमा रहेको एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

    आजियटाले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा आचार्य समेतको सो कम्पनीले ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा सेयर खरिद गरेको घोषणा गरिएको छ । जबकि यो ८० प्रतिशत सेयर २०७२ सालमा आजियटाले १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यस बेलाको विनियम दरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा टेलिसायोरासँग खरिद गरेको थियो । आठ वर्षअघि भएको उक्त कारोबार रकम अंकको ९६ प्रतिशत कम मूल्यमा अविश्वसनीय ढंगले ८० प्रतिशत सेयर खरिदबिक्री भएको छ । अफसोर कारोबार गरी बाँकी ८० प्रतिशत सेयर पनि आचार्य दम्पतीले नै खरिद गरेका हुन् ।

    यसअघि एनसेल ८० प्रतिशत सेयर खरिद/बिक्रीको कारोबार पनि विदेशमै भएको थियो । ट्याक्स हेभन (कर छलीका लागि अनुकूल मानिने) देशमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ कम्पनीको स्वामित्व परिवर्तन गरी खरिदबिक्री गर्दै आइएको छ । यस पटक पनि सोही प्रवृत्ति दोहोरिएको छ ।

    एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको भनिएको स्पेक्ट्रलाइट यूके लन्डनस्थित वान लिफ्ट प्लेसमा छ । यो कम्पनी औद्योगिक प्रकृतिको व्यवसायका लागि खोलिएको बेलायती कम्पनी रजिस्ट्रार कार्यालयको वेबसाइटमा उल्लेख छ । आजियटाले आफ्नो घोषणामा सन् २०१६ मा १.३६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको कम्पनी अहिले झन्डै एक तिहाइ कम मूल्य अर्थात् ५ करोड डलरमा बिक्री गरेर बाहिरिएको आधिकारिक घोषणा गरेको छ ।

    ‘दोहोरो कर, सन् २०२९ मा कम्पनीको लाइसेन्स खारेज हुन सक्ने सरकारी प्रावधानको जोखिम र नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि असहज अवस्था लगायतका कारण आजियटा नेपालबाट बाहिरिन बाध्य भएको हो,’ कम्पनीले भनेको छ, ‘बिक्री मूल्यको ५ करोड डलरमध्ये ५० लाख डलर सम्झौताको ६ महिनाभित्र तिरिसक्नुपर्ने र बाँकी रहेको रकम ४ वर्ष भित्र बुझाई सक्नुपर्ने गरी सम्झौता गरिएको छ ।’

    मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले नेपालमा व्यावसायिक चुनौती बढ्दै गएकाले नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्नुपरेको भन्ने व्यहोराको घोषणा बुधबार गरेको थियो । दूरसञ्चार क्षेत्रका जानकारहरूले एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजियटा बाहिरिएको अनुमान गरेका छन् । एनसेलको मूल कम्पनी मेरो मोबाइलले १६ भदौ २०६१ मा जीएसएम मोबाइल सेवाका लागि पहिलो पटक अनुमति प्राप्त गरेको थियो । त्यसयता सो कम्पनी नेपालको टेलिकम बजारमा एक मुख्य सेवा प्रदायक रहँदै आएको छ । एनसेलका अहिले पनि झन्डै १ करोड ६३ लाख ग्राहक रहेको कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

    नेपालस्थित एनसेलले पनि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियटा यूके लिमिटेडबीच एनसेलको सेयर खरिदबिक्री कारोबारका लागि सम्झौता भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ‘यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियटाको सेन्टस् किटस् एन्ड नेभिसमा रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडको एक सय प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्ड्स होल्डिङसँग रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतीशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मूलका व्यवसायी हुन् ।’ उनले दूरसञ्चार क्षेत्रमा आफ्नो बृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौं ग्राहकलाई परिष्कृत सेवा प्रदान गर्न दाबी गरेका छन् ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तनदेखि खुसी भएको बताउँदै नयाँ लगानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक कम्पनीका रूपमा अघि बढाउने बताएका छन् । ‘आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरू घोषणा गर्दै सेवाहरूको दायरा फराकिलो बनाइनेछ, जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ,’ उनले भनेका छन् ।

    Source : ekantipur