× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    ‘उत्प्रेक्षण’मा प्रस्तुत सामाजिक पक्ष- विन्दु अधिकारी

    १२ महिना पहिले

    मंसिर-२३, ‘उत्प्रेक्षण’ मुक्तकसङ्ग्रह (२०८०) कवि तेजविलासद्वारा लिखित भर्खरै विमोचित साहित्यिक कृति हो । नेपाली हाइकु, कविता तथा मुक्तकका क्षेत्रमा वैचारिक लेखकको परिचय बनाएका विलासले आफूलाई लागेको र आफूले भोगेका राजनीतिक र सामाजिक परिवर्तनलाई विषयवस्तु बनाइ यस मुक्तकसङ्ग्रह प्रस्तुत गरेका छन् । जम्मा २२८ ओटा मुक्तकहरूको मालाको रूपमा यो सङ्ग्रह प्रकाशनमा आएको छ । २०५० को दशकबाट नै साहित्यलेखन र सांस्कृतिक आन्दोलन तथा शिक्षण पेशामा आबद्ध हुँदै राजनीतिमा समेत चासो राख्ने विलासले नेपाली साहित्य तथा शिक्षण पेशामा आफूलाई नमुनाका रूपमा चिनाएका छन् । एउटा व्यक्ति जसलाई सर्जकका हिसाबले मात्र पनि हेर्न सकिने र अर्को हिसाबमा शैक्षिक व्यक्तित्व तेजविलास मूलतः समसामयिक विषय सन्दर्भलाई विचारको शृङ्खलामा उनेर प्रस्तुत गर्न सक्ने कविका रूपमा परिचित रहेका छन् ।


    आफ्नो विद्यार्थी जीवनदेखि नै साहित्यमा रमाउने तेजविलासले रचना प्रस्तुतिमा अलि फरक शैली अपनाएको पाइन्छ । आफ्ना अघिल्ला कृतिहरूमा प्रस्तुत राजनीतिक आवेग यस मुक्तकसङ्ग्रहमा कलात्मक र अझ गहिरो हिसाबले प्रस्तुत भएको पाउन सकिन्छ । ‘समीक्षा सन्दर्भ’ (२०६५), ‘समय सन्दर्भ’ (२०७०) र ‘राम्रो निबन्ध लेखन’ (२०६५) पछि निरन्तर प्रकाशन क्रममा मुक्तकसङ्ग्रह ‘उत्प्रेक्षण’ (२०८०)ले नेपालको राजनीतिक र मानिसका भौतिक विपन्नता तथा सम्पन्नतालाई अङ्कित गरेको पाइन्छ । त्यस्तै उनका ग्रन्थ सम्पादनहरू ‘नेपाली’ कथामा दलित’ (२०७४), ‘समालोचकको आँखामा हरिहर खनाल’ (२०७०), ‘अस्तित्वको खोजी’ (२०६६), ‘सिर्जन वैशिष्ट्यामा अनिल श्रेष्ठ’ (२०७६), ‘वाङ्मयसेवी छायादत्त’ (२०७५) र ‘शब्दबिम्बमा रविकिरण निर्जिव’ (२०७०) हुन् भने उनका सिर्जनात्मक पुस्तक ‘उच्छेद’ (२०७८), ‘उच्छलन’ (२०७६), ‘उद्वेग’ (२०७५), ‘उच्छ्वास’ (२०७३), ‘काठमाडौँ’ (२०६१), ‘गजल पथका यात्रीहरू’ (२०६१), ‘साहित्यकार श्यामप्रसाद’ (२०७१) र ‘गजल बिम्ब’ (२०६३) आदि हुन् ।


    नेपाली समाजलाई पुँजीवादले पूरै ध्वस्त पारिदिएको छ । पुँजीवादी अर्थतन्त्रको पूर्ण विकास हुँदा त वर्गीय पक्षधरताको शृङ्खला अगाडि बढ्दथ्यो यहाँ त दलाल पुँजीवादले बहुरूप मात्र देखाएको छैन यसबाट सिर्जना गरिएका हजारौँ समस्याले राष्ट्रिय जीवनका अनेकौँ नकारात्मक सूचकहरू प्रस्तुत गरेको छ । आफ्नो मौलिक संस्कृति भित्रको विकारहरूलाई परास्त गर्न प्रस्तुत गरेको छ । आफ्नो मौलिक संस्कृति भित्रको विकारहरूलाई परास्त गर्न मौलिक संस्कृतिभित्रको गुण–दोष केलाउँदै परिष्कृत गर्नु पर्नेमा विदेशीको ठाडो हस्तक्षेप र अन्धानुकरणका कारण अनेक रोगहरू व्यहोर्न हामी बाध्य छौँ । यो अवस्था आउनुमा विदेशी दोषी नभई नेपालका तथाकथित शासकहरू नै जिम्मेवार छन् । शासकहरू निर्वाचनका नाममा चुनिएका विदेशी गुलामहरू मात्र रहेको तथ्य कविताक्रममा नै कवि प्रस्तुत गर्न पुग्दछन् । आफ्नो जीवन यात्रालाई क्रान्तिमा होमेर क्रान्ति पूर्ण रूपमा सफल नबन्दा अप्राप्तिको शिकार बनेका नेपाली जनताको अन्तरकथा तथा क्रान्ति सफल भएपछि पनि कवि तेजविलासका मुक्तकसङ्ग्रहमा पाउन सकिन्छ ।


    देशमा रहेका पठित र बुद्धिजीवी भनाउँदाहरूको काम केवल दलालीदेखि दलालीसम्म मात्र रहेको कुरा पनि उनले आफ्नो यस मुक्तकसङ्ग्रहका मुक्तकहरू सामिल गरेको पाइन्छ । यस मुक्तकसङ्ग्रह पढ्दै जाँदा हामी यहाँ मात्र देशको राजनीतिक अवस्था र भ्रष्टाचारको आलोचना साहित्यिक वर्णनमा गरेको पाइन्छ ।
    राजनीतिको नाममा व्यापार छ
    हेर उनैको महिमा अपार छ
    जागिर खाएर के बन्थ्यो महल
    भन्सारमा बिचौलिया वारपार छ । (उत्प्रेक्षण, पृ. २७)


    आखिरमा यो सबै कसरी र किन भइरहेको छ त ? प्रश्न उठाउँदै उनले थुप्रै उदाहरण समेत पेश गरेका छन् । नेपाली समाजमा व्यक्त रातारात धनी हुने प्रवृत्तिले सामान्य मान्छेलाई धेरै प्रभाव पारेको पाइएको विषयप्रति कवि चिन्तनशील रहेका छन्;
    चोटिलो कुरा गर्थ्यौ पोटिलो भएछ
    सडकमा थियो सदन र क्याबिनेट गएछ
    खाली घरघडेरीको कुरा मात्र गथ्र्यो
    सर्वहारा त हेर्दा हेर्दै करोडपति बनेछ । (उत्प्रेक्षण, पृ. ३)


    यी र यस्ता विषयवस्तु धेरै छन् । आफूलाई मार्क्सवादी रूपमा चल्ने भन्नेहरूले सेतो मुखौटा लगाई नेपाली जनतालाई झुक्याएर अनेक सन्धि–सम्झौता गर्ने र देशमा युवा शक्तिको पलायनको पीडाले देशभित्रको विचार, सिद्धान्त, व्यवहार र कार्यदिशा समाप्त भएको स्थिति देखिन्छ । मुक्तक भित्र मान्छे तथ्य एउटा बोकेर व्याख्या गर्दै अर्कै थोक गरिरहेछ ।


    कवि स्वयम् एक इमानदार र राजनीतिक चलखेललाई बुझ्ने खालका रहेको कुरा यही मुक्तकका केही हरफहरूले वर्णन गरेको पाइएको छ । उनी जीवन र जगत्मा राजनीतिको सूक्ष्म दृष्टिकोण राख्दछन् । उनको विचारलाई पछ्याएर नै मान्छे समाजलाई सम्पन्न बनाउन अगाडि बढ्दछ । लाखौँ दिमागको उन्नत प्रस्तुति नै समाजवादतर्फको यात्रा हो । आशालाई नमारी निरन्तर क्रान्तिमा लाग्नुको विकल्प छैन । कवि खराब राजनीतिक पात्रतर्फ कटाक्ष गर्दै गर्दै प्रश्न गर्न र प्रश्नसँग नडराउन आम पाठकमा आह्वान गर्दछन् ।

    facebook sharing button
    messenger sharing button