९ महिना पहिले
गोलढुंगाकी नानीमैया बस्नेतले सुन्धारामा लुगाफाटो बेच्न थालेको धेरै समय भयो। त्यही व्यापारले उनको घरखर्च चल्छ, बालबच्चाको पढाइ र औषधि उपचार धान्छ। काठमाडौं महानगरपालिकाले सडक व्यापारमा अमानवीय ढंगले कडिकडाउ गर्न थालेपछि भने उनी साँझ मात्र पसल थाप्छिन् र अबेरसम्म व्यापार गर्छिन्।
बुधबार साँझ उनी ६ बजे घरबाट निस्केकी थिइन्। लुगाको पोका बोकेर सुन्धारा पुग्दा ७ बजेकै थिएन। त्यति बेला सामान बेच्न बसे नगर प्रहरी आएर लखेट्छन् भन्ने उनले बुझेकी थिइन्। त्यही भएर केही बेर आफूजस्तै व्यापार गर्ने साथीहरूसँग कुराकानी गर्दै समय कटाइन्। जसै साढे ७ बज्यो, उनी धरहराको पूर्वी गेटअगाडि लुगा बेच्न तम्तयार भइन्।
उनले सामान बिसाएको ठाउँ न गाडी गुड्ने सडक हो, न मान्छे हिँड्ने फुटपाथ। त्यो सानो पार्कजस्तो ठाउँ हो, जहाँ किनमेल गर्नेहरू मात्र आउँछन्। त्यहाँ सामान बेच्दा नगर प्रहरीको धरपकड सहनुपर्दैन भन्नेमा उनी ढुक्क थिइन्। बुधबार भने नानीमैयाले सोचेजस्तो भएन। गाडी र पैदलयात्रु कसैलाई बाधा नपुग्ने त्यो ठाउँमा पनि काठमाडौं महानगरका नगर प्रहरीले धरपकड गर्न छाडेनन्। धरपकड मात्र होइन, जथाभाबी कुटपिट गरेर ६ जनालाई अस्पताल नै जानुपर्ने अवस्थामा समेत पुर्याए। नानीमैयाका अनुसार नगर प्रहरीहरू त्यहाँ पहिले नै एकत्रित थिए। जसै सडक व्यापारीले आ-आफ्ना मालमत्ताको भारी बिसाए, एक हुल नगर प्रहरी ‘यहाँ सामान बेच्न पाइँदैन’ भन्दै कराउन थाले। त्यसको नेतृत्व महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेले गरेका थिए।
‘हामीले धेरै समयदेखि राति साढे ७ बजेपछि त्यहाँ व्यापार गर्दै आएका थियौं। अरू बेला केही भन्दैन थिए,’ बुधबारको घटना विस्तार लगाउँदै नानीमैयाले भनिन्, ‘हिजो भने एक्कासि हटाउन आए। सधैं व्यापार गरिरहेको ठाउँबाट नहटाउन हामीले आग्रह गर्यौं। यो समय यहाँ धेरै मान्छे हुँदैनन्, बटुवाहरूलाई हिँड्न सकस पनि पर्दैन भनेर बिन्ती गर्यौं। तर उनीहरू निषेधित क्षेत्र भन्दै हामीमाथि जाइलागे। हामीलाई गालीगलौज गरे।’ नगर प्रहरीहरू गालीगलौजमै ओर्लिएपछि नानीमैया लगायत सडक व्यापारीहरूले प्रहरी उपरीक्षक लामिछानेलाई आफ्ना समस्या सुनाए। रोजीरोटीको सवाल भएकाले राति केही समय व्यापार गर्न दिन आग्रह पनि गरे। यसबीच नानीमैयाले नगर प्रहरीहरूले आफ्नो सामान जफत गर्लान् भनेर जोगाउन खोजिन्।
त्यही बेला एक महिला नगर प्रहरीले उनको कपाल च्याप्प समाइन्। उनलाई घिसारिन् र लछारपछार पारिन्। यतिले नपुगेर अर्का नगर प्रहरी जंगिँदै आए र उनलाई बेस्सरी लाठी हाने। उनलाई पछ्याउँदै अर्का नगर प्रहरी पनि नानीमैयामाथि जाइलागे र उनको ज्यानमा लाठी बर्साउन थाले। यसरी नगर प्रहरीहरूले चारैतिरबाट घेरेर नानीमैयालाई लाठी नै लाठीले हाने।
नानीमैयाले आफूलाई बचाउन भरमग्दुर प्रयास गरिन्। तर लाठीको चोटबाट बच्न सकिनन्। नगर प्रहरीहरूको एकतर्फी हमलाले सडक व्यवसायीहरूको रिसको बाँध टुट्यो। एक महिलामाथि नगर प्रहरीहरूको समूहले अन्धाधुन्ध लाठी बर्साएको देखेपछि अर्का महिला व्यवसायी सानो भाटा लिएर उनलाई बचाउन लम्किइन्। तर नगर प्रहरीहरूको समूहका अगाडि उनको पनि जोड चलेन। ती प्रहरीले उनको भाटा खोसे।
सडक व्यापारीमाथि नगर प्रहरीहरूले गरेको कुटपिटको दृश्य पदम पोखरेल भन्ने व्यक्तिले खिचिरहेका थिए। आक्रोशित नगर प्रहरीहरूको आँखा जसै पोखरेलमाथि गयो, उनीहरूले ‘किन भिडिओ खिचेको’ भन्दै उनीमाथि नै हमला गरे। उनलाई नेपाल टेलिकम अगाडिबाट घिसारेर धरहरा गेटसम्म ल्याए र भ्यानमा हाले। उता नानीमैयाको टाउकोबाट रगत बग्न थालेको थियो। अन्य केही सडक व्यवसायी पनि लाठी प्रहारबाट घाइते भएका थिए। उनीहरूलाई सडक व्यापारीहरूले मिलेर ट्रमा सेन्टर लगे।
‘अस्पताल लगिएको ६ जनालाई हो,’ नानीमैयाले भनिन्, ‘तर दुई-चार लाठी नखाने त कोही पनि छैन। उनीहरूले दानवझैं व्यवहार गरेर कुटे हामीलाई।’ यो घटनामा उनको कमाइ खाने सामान कहाँ पुग्यो, अत्तोपत्तो छैन। कति घाटा बेहोर्नुपर्यो, त्यसको हिसाब पनि लगाएकी छैनन्। ‘टाउको फुटेर धन्नै ज्यान जान लागेका बेला सामानको त होसै भएन,’ उनले भनिन्, ‘बालबच्चा मात्र सम्झिरहेँ।’ नानीमैया अहिले ट्रमा सेन्टरबाट डिस्चार्ज भइसकेकी छन्। हामीले उनीसँग बिहीबार दिउँसो कुरा गरेका थियौं। नानीमैयासँग कुराकानीपछि हामी अर्का घाइते बद्री देवकोटालाई भेट्न लगन टोलस्थित उनको घर पुग्यौं। उनी कौसीमा घाम तापिरहेका थिए। दाहिने आँखामा निलडाम थियो।
‘हिजो नगर प्रहरीले पिटेर यस्तो भयो,’ उनले आँखाको निलडाम देखाउँदै भने, ‘आँखामा मात्र होइन, ज्यानभरि चोटै चोट छ।’
उनले आफ्नो टिसर्ट फुकालेर जीउको घाउ देखाए र भने, ‘व्यापार गर्न जाँदा नमज्जाले चुटे हजुर!’ उनले पनि हामीसँग बुधबारको घटना बेलीविस्तार लगाए। ‘अरू बेलाझैं दुई-चार पैसा हुन्छ कि भनेर व्यापार गर्न गएका थियौं। तर नगर प्रहरीहरू पहिल्यै आएर बसेका रहेछन्। हामीलाई देख्नेबित्तिकै खेद्न थालिहाले। हामी उनीहरूलाई सम्झाउन खोज्दै थियौं, उनीहरू भने हाम्रो कुरा सुन्नु त परै जाओस्, हामीमाथि अन्धाधुन्ध लाठी चलाए। धेरै साथीहरू घाइते भए।’ सम्झाउन खोज्दा पनि किन एक्कासि लाठीचार्ज गरियो भन्ने प्रश्नमा बद्रीले भने, ‘उहाँहरूको आफूखुसी व्यवहार हुन्छ। सधैं त्यहीँ बसेको देख्दा केही नगर्ने, हिजो चाहिँ किन त्यस्तो गर्नुपर्यो कुन्नि! हामीलाई केही थाहा छैन।’
हामीसँग कुरा गर्दा बद्रीलाई आँखा खोलेर हेर्न पनि गाह्रो भइरहेको थियो। ज्यानमा नगर प्रहरीले दिएका नीलडामको पीडा अनुहारमा प्रस्टै झल्किन्थ्यो। उनका अनुसार लाठीचार्जपछि नगर प्रहरीहरूले घाइते सडक व्यवसायीलाई अस्पताल लग्नुको साटो भ्यानमा हालेर टेकु कार्यालय लगेका थिए। बद्री आफैं पनि त्यसमा थिए। ‘उनीहरूले हामीलाई भ्यानभित्रै यातना दिँदै जमल, थापाथली हुँदै लामो बाटो घुमाएर टेकुको नगर प्रहरी कार्यालय लगे,’ बद्रीले भने, ‘बाटोभरि लाठी र बुटले हान्दै टेकु पुर्याए।’ पक्राउ परेकी सडक व्यवसायी राधिका मैनालीले केही प्रश्न सोध्न खोजेकी थिइन्। उनीमाथि पनि अपशब्द प्रयोग गरिएको बद्रीले बताए।
महानगर प्रहरी ऐन २०८० अनुसार नगर प्रहरीले कुनै पनि मानिसलाई नियन्त्रणमा लिन पाउँदैन। उनीहरूलाई त्यस्तो अधिकार नै छैन। नियन्त्रणमा लिनुपरेको अवस्थामा पनि नेपाल प्रहरीलाई बुझाउन महानगर आफैं जानुपर्छ। बुधबारको घटनामा भने काठमाडौंका नगर प्रहरीले सडक व्यापारीलाई आधा घन्टासम्म नियन्त्रणमा लिएर टेकु कार्यालयमा राखेका थिए।
यति मात्र होइन, महानगर प्रहरी ऐन २०८० मा नगर प्रहरीले कुनै किसिमको हतियार बोक्न पाउने व्यवस्था छैन। उक्त ऐनको परिच्छेद १० मा पोसाकसम्बन्धी व्यवस्था छ। त्यसमा महानगर प्रहरीको पोसाक विवरण प्रमुख प्रशासकीय अधिकृतले तोक्न पाउने उल्लेख छ। नगर प्रहरीले लाठी वा छडी बोक्न पाउँछन् कि पाउँदैनन् भन्नेबारे केही उल्लेख छैन।
‘उनीहरू योजनाबद्ध तरिकाले आएका रहेछन्। भ्यानमा ढुंगा र लाठीहरू थुपारिएका थिए,’ उनले अगाडि भने, ‘भ्यानमा ती नगर प्रहरीले ‘जंगी शासन भनेको कस्तो हुन्छ थाहा छ’ भन्दै हामीलाई थर्काए र ढुंगामाथि बेस्सरी लडीबुडी पार्दै पिटे। घरि लाठीले हाने, घरि बुटले।’
यसरी निर्घात कुटपिट गर्दा उनीहरू बारम्बार एउटै कुरा भन्थे, ‘देखिस् जंगी शासन कस्तो हुन्छ?’
उनीहरूलाई सुन्धाराबाट पक्राउ गरेर लामो बाटो टेकु लगुञ्जेल सुन्धारामा जम्मा भएका फुटपाथ व्यवसायीले नेपाल प्रहरीलाई खबर गरेका थिए। प्रहरी त्यहाँ पुगेपछि केही व्यवसायीलाई प्रहरी वृत्त कालिमाटी लगिएको थियो। त्यसपछि मात्र उपचारका लागि ट्रमा सेन्टर लगिएको बद्रीले बताए। हामीले धरपकडमा घाइते भएका राधिका मैनाली, राधा गिरी लगायतका फुटपाथ व्यवसायीसँग पनि कुराकानी गरेका थियौं। सबैको एउटै गुनासो छ, ‘मेयर बालेनले गरिखान दिएनन्। गरिखान्छु भन्दा पनि पिटाइ खानुपर्यो। काम गरेर खान्छु भन्दा निरंकुश शासकले जस्तो दमन गर्यो। हामीले राज्य नभएजस्तो अनुभूति गर्नुपर्यो।’
‘कसैलाई दुःख नदिई आफ्नै देशमा काम गरेर खान्छु भन्दा ज्यान दाउमा लगाउनुपर्ने कस्तो दिन आयो?’ बद्रीले भने, ‘काठमाडौंका मेयरले गरिबहरूमाथि ज्यादती गर्दा पनि राज्यका अरू निकाय के हेरेर बसेका छन्? के यो सहर बालेन शाहको सम्पत्ति हो? काठमाडौंका सांसदहरू यसमा किन चुइँक्क बोल्न सक्दैनन्? गरिबहरूमाथि यस्तो अत्याचार हुँदा पनि के कारणले उनीहरूको मुख थुनिएको छ?’ यी व्यापारीले समय तोकेर फुटपाथ व्यवसाय व्यवस्थित गर्न माग गरेका छन्। महानगरले शुल्क उठाए पनि आफूहरू तिर्न तयार रहेको उनीहरू बताउँछन्। हामीले बुधबारको धरपकडमा घाइते भएकाहरूलाई भेट्दा धेरैलाई घुँडाभन्दा माथि चोट लागेको देखिन्छ। कतिलाई त टाउकोमै प्रहार गरिएको छ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भने कसैलाई लाठीचार्ज नगरेको दाबी गर्छन्। ‘हामीले कसैलाई पिटेका छैनौं,’ उनले सेतोपाटीसँग भने, ‘हामीले आफ्नो प्रतिरक्षा मात्र गरेका हौं।’ हामीले घाइतेहरूको बयानका आधारमा उनीहरूलाई भ्यानभित्रै कुटिएकोबारे पनि सोधपुछ गर्यौं। तर पाण्डेले इन्कार गर्दै भने, ‘हाम्रा प्रहरीबाट भ्यानमा कुट्ने जस्तो कार्य भएको छैन। भएको भेटिए कारबाही हुन्छ।’ फुटपाथ व्यवसायीहरूले नै पछाडिबाट नगर प्रहरीमाथि ढुंगा हानेपछि आफूहरू प्रतिरक्षामा ओर्लिएको उनको भनाइ छ।
‘उनीहरू नियोजित ढंगले आएका रहेछन्,’ उनले भने, ‘त्यसरी आइलाग्दा पाँच जना नगर प्रहरी घाइते भएका छन्।’
नगर प्रहरीहरूले के आधारमा लाठी प्रहार गरे भनेर पनि हामीले सोधेका थियौं। जबाफमा पाण्डेले भने, ‘छडी नगर प्रहरीको पोसाकमै पर्छ। त्यही हिसाबले लाठी पनि पर्छ।’
साभारः सेताेपाटी