× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकामा कोकाकोला लगायतका पेय पदार्थ माथि निषेध, मही पिउने संस्कारको शुरुवात

    ५ महिना पहिले

    बैशाख-२२, चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको कार्यालयमा कोकाकोला लगायतका पेय पदार्थ माथि निषेध गरि मही पिउने संस्कारको शुरुवात गरेको छ।

    इच्छाकामना गाउँपालिकाले कार्यालयका जनप्रतिनिधि, कर्मचारीका साथै पाहुनाको स्वागतमा कोकाकोला लगायतका केमिकल मिसिएका पेय पदार्थ माथि रोक लगायर मही दिने संस्कारको थालनी गरेको हो।

    ‘हामी भर्खरै निर्वाचित भएर आउँदा कार्यालय सहयोगी कोकको बोतल लिएर स्वागत गर्न आइपुग्नु हुन्थ्यो, इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले भनिन्, — मलाई कोक खाने संस्कार मन परेन र कोक हटाउँ भन्ने छलफल गरेँ ।

    तत्कालीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालले पनि उनको प्रस्तावमा सहमती जनाए । उपप्रमुख सिलवाल भन्छिन्, ‘अनि सल्लाह भयो, बरु मही पिउने व्यवस्था गरौँ ।’

    उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सल्लाह अध्यक्ष दानबहादुर गुरुङलाई पनि काइदा लाग्यो । उनले भने, — केमिकल नहालिएको पोषण पनि पाइने र स्थानीय दुग्ध उत्पादक किसानको जीवनसँग पनि जोडिएको भएपछि सबैले सहमती जनायौँ ।

    मौखिक सहमतीलाई उनीहरुले कार्यपालिका बैठकमा नै लिपिबद्ध गरे । उपाध्यक्ष सिलवालका अनुसार पालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक निषेध गरेको हो ।

    करिब वर्षदिनअघि कार्यपालिका बैठकको निर्णयपछि पालिकाको सानो चिया पकाउने भान्छामा भएको फ्रिजमा केही लिटर दही हरेक दिन ल्याएर राख्न थालियो । त्यसयता इच्छाकामना गाउँपालिकाको नयाँ पाहुना पुगे संस्कार गर्ने पहिलो पेय मही हुन थालेको हो ।

    अहिले कार्यक्रम हुँदा र नहुँदा कहिले पाँच त कहिले दश लिटरसम्म मही प्रयोग हुने गरेको छ । अपुग हुने जस्तो भयो भने पातलो वा बाक्लो पनि बनाउन मिल्ने भएकोले खर्च पनि किफायती हुने अध्यक्ष दानबहादुर गुरुङले बताए ।

    पहाडी क्षेत्र र चेपाङ लगायतका पूर्ण कृषिमा आधारित जातीको बसोबास भएकोले पालिकाले सकेसम्म स्थानीय किसानहरुलाई सहयोग पुग्ने कार्यक्रमहरु गर्दै आएको छ । त्यही अनुसार हराउन लागेको मही संस्कृतिलाई पुर्नताजगी गराउन लागेको उपाध्यक्ष सिलवालले बताइन् ।

    ‘अहिले पालिकामा भएका जुनसुकै कार्यक्रम वा पाहुनाको स्वागतमा पनि कोक ल्याएर दिने गर्दैन । कार्यक्रमहरुमा एकपटक मही दिएकै हुन्छौँ, उपाध्यक्ष सिलवालले थपिन्, — ‘चिसोको नाममा हुने खर्च किसानको हातमा बजारबाट पुग्छ भन्ने पनि हाम्रो विश्वास छ । अहिले बजारबाट दही ल्याउने भएपनि विस्तारै दुध ल्याएर पालिकामा नै जमाउने तयारी गरिएको पनि उनले बताइन् ।

    इच्छाकामना गाउँपालिकाले अहिले सुन्तला उत्पादनमा अनुदान दिने, बाख्राको बृद्धिको लागि अनुदान तथा खोर सुधार कार्यक्रम लगायत गर्दै आएको छ ।

    पालिकाका अध्यक्ष गुरुङले सुन्तलालाई राष्ट्रिय फल घोषणा, पालिकामा ५० हजारबाट १ लाखसम्म बाख्रा पुर्याउने, गाई तथा पशुपालनमा किसानको सहभागिता बढाउने कार्यक्रम पनि गरिरहेको बताए । पालिकाले ससाना पहलमार्फत कृषिजन्य उपजको बजार तथा व्यवस्थापनमा पनि सहयोग गर्ने उनले बताए ।