× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    ‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा-तेजविलास अधिकारी

    २ दिन पहिले

    नेपाली साहित्यका पाठकका लागि एउटा पुस्तक थपिएको छ, ‘यो मन कहाँ दुख्छ ।’ नेपाली साहित्यको क्षेत्रमा २०४४ सालबाट लेखन र प्रकाशनमा निरन्तर देखिएका अनिल श्रेष्ठ (जन्मः २०२८ भाद्र २४) पहिल्लो समय निबन्ध सङ्ग्रह ‘यो मन कहाँ दुख्छ’ (२०८१) मार्फत् पाठकका सामु देखा परेका छन् । २०५० सालमा ‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रहमार्फत् कृतिगत उपस्थिति जनाएका अनिलले आफूलाई लेखन यात्राकै क्रममा निरन्तर ३७ वर्षदेखि परिचित तुल्याइरहेका छन् । आख्यान क्षेत्रमा एउटा कथासङ्ग्रह ‘प्रजातन्त्र र पागल’ (२०५०) का साथै गैरआख्यान क्षेत्रमा नौओटा पुस्तकाकार कृति दिएर उनले आफ्ना पाठकहरुलाई उत्साह थप्दै सल्लाह सुझाव समेत मागिरहेझैं लाग्दछ । गैरआख्यानात्मक कृतिहरुमा पनि छओटा कवितासङ्ग्रह प्रकाशित गरेका श्रेष्ठले तिनओटा निबन्धात्मक कृति प्रकाशन गरेको देखिन्छ । ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’ र ‘टाइगर हिलकी पुनम’ यसअघि प्रकाशित निबन्ध सङ्ग्रहहरु हुन् । उनका निबन्धहरुले समाज परिवर्तन र सङ्घर्षमा योगदान गर्नेहरुप्रति सम्झना गरेको पृष्ठभूमिमा पछिल्लो निबन्ध सङ्ग्रह ‘यो मन कहाँ दुख्छ’ ले विषयवस्तुलाई फराकिलो र शैली शिल्पलाई स्वादिलो ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेको छ ।

    साहित्य लेखन निजी सक्रियताको विषय हो । यसका सामग्री भने सार्वजनिक पक्ष र तथ्य केलाउने चेष्टाका साथ प्रस्तुत भएका हुन्छन् । उनको निजी जीवन कष्टकर यात्राबाट गुज्रिएको देखिन्छ । उनी उत्पीडनमा परेका आममान्छेहरुको जीवन बदल्ने विचार यात्रामा हिँड्दै गर्दा सत्ताको सैनिक हिरासतमा परेर मृत्युको मुखबाट फर्किएका बिद्रोही हुन् । यो यात्रा उनले आफ्नो निजी जीवनलाई सम्पन्न बनाउन वा कुनै व्यक्तिगत कसुुरमा अपराध गरेबापत राज्यलाई डण्ड सजाय बुझाउन गरेका थिएनन् । अनिल सार्वजनिक जीवनमा क्रियाशील स्रष्टा हुन् । क्रान्तिप्रतिको आकर्षण र निरन्तरताले उनलाई एउटा गतिशील नेतृत्व र प्रगतिशील स्रष्टाका रुपमा स्थापित गरिदिएको छ । देशभित्र मात्र होइन देश बाहिरको समेत भ्रमण, अवलोकन गरेर त्यहाँको मूलतः सकारात्मक पाटोलाई टिपी कविता, निबन्धमा उन्ने उनको जाँगर समेत पाठकलाई उत्साह जगाउने खालको छ । कहिले खाडीको पीडा कवितामा अभिव्यक्त गर्ने अनिल कहिले ग्वालियरको यात्रामा पाठकलाई आफूसँगै सहभागी गराउँछन् । प्रत्येक रचना र विधामार्फत् ाखअ साहित्यकार अनिल श्रेष्ठले विचारलाई एउटा धर्मशास्त्रका रुपमा नभएर समाज फेर्ने अस्त्रका रुपमा प्रयोग गरेका छन् । श्रेष्ठ निबन्धमा पनि यति सहज ढङ्गले विचारलाई घोलिदिन्छन् कि पाठक आफू विचारले परिवर्तित भएपछि मात्र विचारको माध्यम थाहा पाउँछ ।

    ‘यो मन कहाँ दुख्छ’ निबन्धसङ्ग्रहभित्र उन्नाइस ओटा निबन्धहरु समावेश रहेका छन् । निबन्ध सङ्ग्रहमा सङ्गृहीत निबन्धहरुलाई एउटा पाठकका आँखाले हेर्दा मूलत तीन खालमा वर्गीकरण गरेर हेर्न सकिन्छ । प्रथमतः उनले स्रष्टा र सृष्टि केन्द्री निबन्धात्मक रचना प्रस्तुत गरेका छन् । यस प्रकारको निबन्धहरुको सङ्ख्या अलि धेरै छ । ‘निर्मलाको सानिध्य’, ‘आँसुको सौन्दर्यशास्त्र’, ‘अँध्यारोको जुनकिरी’, ‘सुमिनासँग संवाद’, ‘घनश्याम ढकाल जो सधैं निष्ठाले बाँचिरहे’, ‘यारी मेरा याराना’, ‘कविताको मैदानमा एक सानदार ब्याटिङ’, ‘प्रमोदित प्रमोद’ जस्ता निबन्धहरुले व्यक्ति लेखकलाई स्रष्टासँगको भेटले पारेको प्रभाव र सिर्जनाको शक्तिले गरेको आकर्षणको पाटोलाई सजिलो पाराले गुणग्राही चेतका साथका प्रस्तुत गराएको छ । जसमा विश्व चर्चित लेखक, चिन्तकहरु प्रेमचन्द, म्याक्सिम गोर्की, सुकरात जस्ता विशेष प्रतिभाको चेतनाले आफूलाई आलोकित पार्दा परेको प्रभाव र त्यसबाट प्रभावित भएर आफूले केही विषयमा अभ्यास गर्ने मौका पाएको सन्दर्भ स्पष्ट ढङ्गले प्रस्तुत गरिएको छ । यसैगरी घनश्याम ढकालको साहित्य र संस्कृतिप्रतिको लगनशीलता र मनकामना दर्शन प्रालिका संस्थापक लक्ष्मणबाबु श्रेष्ठ जस्ता राष्ट्रिय उद्योगपतिले आ–आफ्ना क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको विषयलाई सम्मानपूर्वक स्रष्टा एवं उद्योगीहरुको विचार र व्यवहार पाठकसामु पुर्याउने हिसाबले विषयलाई कलात्मक र भावुक ढङ्गले प्रस्तुत गरिएको छ ।

    नेपाली साहित्यको क्षेत्रमा २०३० को दशकदेखि क्रियाशील प्रमोद प्रधानको जीवन शैली र उनको काव्यले पारेको प्रभावलाई निबन्धकार श्रेष्ठले सहज ढङ्गले प्रकाश पारेका छन् भने पारिजात, विन्दु शर्मा, सुमिना र राधिका कल्पित जस्ता कविहरुको कृतिबाट प्रभावित भएर पछिल्लो समय न्याय र समानताको यात्रामा यी स्रष्टाहरु र उनीहरुका सिर्जनाले दिएको योगदानको खुलेर प्रशंसा गरिएको छ । पाठकले निबन्धको रसास्वादन गर्दै जाने क्रममा पारिजातबाहेक अन्य स्रष्टाको मूल्याङ्कनको पाटोमा पटकपटक भावनाप्रधान भयो कि भन्ने ठान्न पनि सक्ने स्थिति देखा पर्दछ तथापि त्यो लेखक अनिल श्रेष्ठको विषय टिप्ने शैलीले व्यक्ति प्रतिभालाई गरेको सम्मान हो भन्न पनि सकिन्छ ।

    यस सङ्ग्रहमा दोस्रो खालका निबन्धहरु रहेका छन् यात्रा संस्मणात्मक निबन्ध । जसमा ‘झिमरुकमा बयलिन हिँडेको मन’, ‘लहैलहै जिन्दगी’, ‘बरेली बजार र तेजी सुरीको हराएको झुम्का’, ‘ग्वालियरमा छुटेको मन’ र ‘सिराइचुलीलाई सिरानी हालेर’ रहेका छन् । यस खण्डभित्र नेपालभित्रका दुई र भारतीय भूमिमा साहित्यिक यात्रा गर्दाका तिन निबन्धहरु समेटिएका छन् । मूलतः यात्रा संस्मरणात्मक साहित्यको गतिला रचनाहरुको कोटिमा यी निबन्धहरु प्रस्तुत भएको देखिन्छ । पश्चिम नेपालको प्युठान जिल्लाको यात्रा र चितवनको शिरको रुपमा रहेको चुली अर्थात सिराइचुलीको यात्राले निबन्धकार प्रभावित भएको विषय यहाँ उल्लेख छ । ग्वालियर भ्रमणको बेला निबन्धकार अनिल श्रेष्ठले गरेका अनुभूतिलाई राष्ट्र र राष्ट्रहितका विषयसँग जोडेर लेखक उच्च भावले राष्ट्रियताको पक्षमा प्रस्तुत भएका छन् । यसै क्रममा निबन्धकार देशलाई उठाउने हो भने विदेशीको राम्रा कुरा सिक्नै पर्ने दलिल गर्न पुग्दछन् । नेपाली पोशाकको रुपमा प्रयोग गरिने दौरा सुरुवालले ग्वालियरको साहित्य उत्सवमा महत्व पाएको विषयलाई निबन्धकार गौरवपूर्ण हिसाबले प्रस्तुत गर्दछन् । लामो साहित्य शृङ्खला भएका सङ्घ संस्थाले गर्ने कार्यक्रमहरु व्यवस्थित हुने र त्यसले एउटा सन्देश दिने ठहर गरेका छन् ।

    निबन्धकार श्रेष्ठले आफैलाई नढाँटेर केही निबन्धहरु प्रस्तुत गरेका छन् । ‘यो मन कहाँ दुख्छ ?’, ‘योगः एक उन्मुक्त जीवनशैली’, ‘बिम्बको प्रभाव’ र ‘साहित्यमा समाजको सौन्दर्य निर्माण’ जस्ता निबन्धहरु शक्तिशाली विचार र व्यवहारको प्रस्तुति हो । एकातिर मान्छे चेतनाले बाँच्ने प्राणी भएका कारण पनि उसले आफूलाई धेरै तर्कशील बनाउँछ, अर्को अर्थमा हेर्दा मान्छे अनेक तनावहरुका बिच बाँच्न बाध्य छ । निबन्धकार योग तनाव कम गर्ने उपाय हो, यसले व्यक्तिको आन्तरिक र वाह्य व्यक्तित्व निर्माण गर्छ भन्ने निस्कर्ष सुनाउँछन् । विचारका हिसाबले माक्र्सवादी लेखक अनिलले योगले उन्मुक्त जीवनशैली निर्माण गर्न सक्छ भन्ने विषयले विचार र व्यवहारका बिच केही विवाद उत्पन्न नगर्ला भन्न सकिन्न । ‘बिम्बको प्रभाव’ निबन्धमा निबन्धकार अनिल श्रेष्ठ जनयुद्ध र यसको पृष्ठाधार रहेका कृष्णसेन इच्छुक, चुनु गुरुङ, अन्जान विरही जस्ता हजारौं सहिदहरुको जीवन बलिदानको अर्थले निर्माण गरेको मार्गबाट विचलित हुन नसक्ने दृढोक्ति दोहो¥याउँछन् । आजको स्वतन्त्रताको यात्रामा योगदान दिनेहरुलाई बिर्सिएमा प्रगतिको बाटो अवरोध हुने सन्देश प्रवाह गर्न पुग्छन् । ‘साहित्यमा समाजको सौन्दर्य निर्माण’ शीर्षकको निबन्धमा आँबुखैरेनी र आसपासको क्षेत्रमा भए गरेका साहित्यिक र सांस्कृतिक प्रयासहरुलाई लिपिबद्ध गरिएको पाइन्छ । स्थानीय परिवेशले निर्माण गर्ने चेतनाको विस्तारलाई यस निबन्धले बुझ्न सजिलो तुल्याएको छ ।

    ‘यो मन कहाँ दुख्छ’ निबन्धसङ्ग्रहमा साहित्यिक गतिविधिका हिसाबले चर्चित रहेको चितवन जिल्लाको गतिविधि र त्यस गतिविधिमा लाग्ने सर्जकहरुलाई चिन्ने चिनाउने क्रममा आफ्नो अनुभूतिलाई मिसाएर लेखिएको ‘चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन’ शीर्षकको निबन्धात्मक लेखले थप बहस र विवाद निम्त्याउन सक्ने देखिन्छ । चितवनका पहिलो पुस्ताका धेरै प्रतिभा र कृतिहरुलाई छाडेको आरोप पनि लाग्न सक्छ । एउटा लेखकले चितवनलाई चिन्ने केही आधार प्रस्तुत गरेको हुनाले यो लेखलाई यही रुपमा बुझ्नु पनि निबन्धकारको आग्रह छ । यस निबन्ध सङ्ग्रह भित्रको एउटा महत्वपूर्ण निबन्ध हो ‘यो मन कहाँ दुख्छ ?’ यस निबन्धले सिङ्गो पुस्तकलाई नै आकर्षित गर्ने गरी विषयवस्तुको छनौट र प्रस्तुतिलाई सम्वहन गरेको देखिन्छ । यस निबन्धले विभिन्न लेखक कलाकारहरुको शाब्दिक विचारहरुलाई साक्षी राखेर ‘मन’ मान्छेलाई अस्थिर बनाउने तत्व वा पक्ष मात्र नभई सकार विचार निर्माण गर्ने केन्द्रका रुपमा निर्धारण गर्ने पक्ष भएको ठहरसहित विश्लेषण गरेको छ । शीर्षक समेत राखिएको यस निबन्धले दर्शनको क्षेत्रमा एउटा फरक हलचल ल्याउने प्रयास गरेको छ । पाठकलाई शीर्षकले लेखक अध्यात्मवादी सोचतर्फ उन्मुख छ कि ? भनेर आकृष्ट गर्ने देखिए पनि पाठक पुनः समाजको वस्तु सत्यको खोज र अन्वेषणले मान्छेको मनलाई पार्ने प्रभावमा केन्द्रित हुन आउँछ । यस निबन्धले पाठकलाई धेरैभन्दा धेरै विषयमा घोत्लिने अवसर प्रदान गर्दछ । निबन्धकार विचार निर्माणको स्रोत समाज हो तथापि व्यक्ति मनले त्यसलाई ग्रहण गरिसकेपछि मात्र मान्छे कर्ममा डोरिन्छ भन्ने निस्कर्ष निकाल्दछन् ।

    सिर्जना लेखन र प्रकाशनको सैतिसौ वर्ष र कृति प्रकाशनको एकतिसौ वर्षमा यात्रा गरिरहेका अझै झण्डै एक दर्जन पुस्तकका लेखक अनिल श्रेष्ठले आफ्नो योग्यता निबन्ध विधामा पनि रहेको सुस्पष्ट प्रमाण पेश गरेका छन् । आख्यान, काव्य र निबन्ध विधामा उत्तिकै कलात्मक क्षमता प्रस्तुत गर्दै उनले निबन्धभित्र विचारको बहसलाई गहिरो गरी उठाउन मिल्ने ठाउँ छोडेका छन् । एउटा वैचारिक लेखक हरेक खालको सान्दर्भिक बहसमा जुट्नु पर्छ भन्ने निस्कर्ष उनले आफ्ना रचनाहरुमा प्रस्तुत गरेका छन् । जति पनि निबन्धहरु सङ्ग्रहभित्र समावेश गरिएको छ ती निबन्धहरुभित्र प्रगतिशील विचार र गतिशील जीवन सक्रिय छ । निबन्धात्मक लेखभित्र निम्तोपत्र, चिठी, शुभकामना आदानप्रदानजस्ता विषयसँग सान्दर्भिक प्रमाणहरुलाई साभार समेत गरिएको छ । अग्रज एवं चर्चित लेखक, चिन्तकहरुको विचार अंशलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्दै पाठकलाई लोभलाग्दो ढङ्गले पठनमा डो¥याउन सफल निबन्धहरुले झिल्कोलाई विचारको बहसमा जोडेको छ । लेखक माक्र्सवादी विचारले निकट रहेपनि सङ्ग्रहभित्र रहेका निबन्धहरुले निबन्धकारलाई कुनै खास वाद वा नाराबाट अलग एउटा विचारले संवदेनशील लेखकको रुपमा उभ्याएको छ ।