× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • दृष्टिकोण

    देउसी रे र भैली-सुनिल उलक

    ३ दिन पहिले

    तिहार सकियो, तिहारसंग संगै एउटा रौनक र पारिवारिक जमघट पनि सकियो । तर तिहार आउनु अगाडि देखि शुरु भएको एउटा परम्परा भने सकिएको छैन ।

    तिहारसंगै शुरु हुनु पर्ने र तिहारसंगै समाप्त हुनुपर्ने देउसीरे र भैलोका आवाजहरु भने अझै पनि सुनिरहेका छौ । किन यस्तो भइरहेको छ वा किन नियमन र नियन्त्रण गरिएन यो भने थाहा भएन । यसलाई पनि यमपञ्चकका पाँच दिनमा नै सिमित गरिनु पर्दछ ।

    तिहारसंगै गाँसिएको भैली र देउसीका कथाहरु भने बलि राजाको कथासंग गाँसिएको पाउँछौ । बलि राजासंग गाँसिएको यो परम्परा तिहारमा मात्रै भेटिन्छ । अन्य समयमा गाइदैन । तर यो तिहारमा गाइने देउसीरे र भैलीका परम्परालाई आ-आफ्नै किसिमले भिन्न भिन्न बलि राजासंग गाँसेको पाउँछौ । कसैले पौराणिक कथामा रहेको बलिराजासंग गाँसेर यसलाई हजारौ वर्ष पहिले देखि चलिआएको परम्परा भन्न खोज्दछन् । हामी कहाँ धेरै कथाहरु वा किंवदन्तीहरु हाम्रा हिन्दू आख्यान तथा पुरानका देवी देवतासंग गाँसेर यसलाई पौराणिक बनाउने चलन रहेको पाउँछौ ।

    हामी त्यसै आएनौ, बलि राजाले पठाएका, हे औंसीबार, गाई तिहार भैलो भन्दै महिलाहरु माग्न हिड्छन भने ए भन भन भाइ हो देउसी रे भन्दै पुरुषहरु माग्न हिड्ने गर्दछन । खासगरी काग तिहार देखि गाई तिहारका दिनसम्म महिलाहरु भैली माग्ने गर्दछन । त्यसको भोलिपल्ट देखि भने पुरुषहरु देउसीरे भन्दै माग्न हिड्छन् । आखिर यसरी मागेर हिड्न पाउने परम्परा कसरी र कहाँबाट शुरु भयो भन्ने रोचक किंवदन्ती भेटिन्छ ।

    चौधौ शताव्दी तिर जुम्लामा राजा रहेका कल्यालवंशी बलिराज रावललाई नै देउसीरे र भैलीको शुरुवात गराउने राजाका रुपमा मान्ने गरिन्छ । जुम्लामा देवदास र देवदासीको परम्परा रहेको थियो । कुनै पनि ठूला मन्नत पुरा गर्नका लागि देवतामा मानव बलिको प्रचलन हजारौ वर्ष अगाडि जुम्ला क्षेत्रमा ब्यापक थियो । गरिवका साना बच्चाहरुलाई देव मन्दिरहरुमा बलि दिने गरिन्थ्यो । पछि बलि दिन रोक लगाए पछि देवदास वा देवदासीका रुपमा मन्दिरमा बालबालिकाहरुलाई चढाउने परम्पराको शुरुवात भयो । यिनै देवदास र देवदासीहरुलाई बलिराज राजाले यमपञ्चकको पाँच दिन मन्दिरबाट बाहिर आएर माग्न छुट दिए । काग तिहार देखि गाई तिहारसम्म देवदासीहरुलाई भैली गाएर गाउँभर माग्न तथा गाउँका जनताहरुलाई अन्नहरु दिन लगाए भने गोवर्धन पूजा तथा भाइटीकाका दिन भने देवदासहरुलाई गाउँका घर घरमा देउसीरे गाएर माग्न पाउने गरि छुट दिए । यसरी भैली र देउसीरेको प्रचलनको शुरुवात भएको थियो । यसरी माग्न आउने क्रममा गाउँलेको भलो होस भनेर गाइने गीत भैलो हुन पुग्यो भने हामी देवदास हौ भनेर गाइएको देउसीरे भयो ।

    जुम्लामा शुरु भएको यो बलि राजाले पठाएको गीत, “हामी त्यसै आएनौ, बलि राजाले पठाएका, हे औंसीबार, गाई तिहार भैलो” यति प्रचलित भयो कि जो कोहीले पनि माग्दै हिड्न थाले । केही वर्ष देखि भैली देउसीरेमा ब्यापक बिकृति शुरु भएर करकाप तथा ठूलो रकम मागेर पत्र नै पठाउने समेत गर्न थालेको देखिन्छ । युवायुवतीहरु समुहगत भएर माग्दै हिड्ने तथा तिहार सकिए पछि पिकनिक जाने रमाइलो गर्ने प्रचलनको समेत ब्यापकता हुन पुग्यो । यसरी खोलानाला छेउ पिकनिक जाने क्रममा वर्षेनी खोलामा डुबेर मृत्यु हुनेको संख्या समेत बढ्न थालेको देखिन्छ । यसमा सरकारका तर्फबाट नियमन र नियन्त्रण गर्न खोज्दा संस्कृति मान्न समेत सरकारले ब्यबधान गरेको चर्चा गर्ने गरेको पाउँछौ ।

    आधा रातमा चर्को ध्वनी बजाउँदै टोलछिमेक नै तर्साउने गरेर भैली देउसी खेल्नेहरु माथि सरकारले कारवाही तथा नियन्त्रण गर्नै पर्दछ । अझ अचेल बस नै रिजर्भ गरेर यस किसिमको समुह हप्तौ अगाडि देखि पुरै शहर नै पुग्ने तथा लाखौ रकम संकलन गर्न समेत सफल भएको हामी पाउँदछौ । देउसीरे तथा भैलीले हाम्रो संस्कृति जोगाएको भन्दा पनि बिकृत बनाएको सहजै देख्न सक्दछौ । साना साना बालबालिकाहरु सानो समुह जम्मा भएर आफ्नै टोल छिमेक वरपर भैली वा देउसीरे खेल्नुले संस्कृति जोगाएको स्पष्ट देखिन्छ । तर कुनै कन्सर्ट झै आधुनिक बाजा गाजा, पहिरन तथा चर्को म्युजिक सिष्टमका साथ ब्यबस्थित भएर बिच बाटोमा बसेर कार्यक्रम सञ्चालन गर्ने तथा घरघरमा गएर रकम असुल्ने गर्नु भने हाम्रो संस्कृति होइन ।