१ हप्ता पहिले
कार्तिक-२८, नेपाल आईसिसी यु १९ महिला विश्व कप क्रिकेटका लागि छनोट भएको छ। युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्व कपमा स्थान बनाएको हो।
युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।
युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।
युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ ।
नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।