२ दिन पहिले
– राम बहादुर लामा
इच्छाकामना, चितवन । चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको वडा नं ५ मा अबस्थित प्रसिद्ध ईच्छाकामना मन्दिरमा यही मंसीर ४ र ५ गते ईच्छाकामना गाउँपालिकाको आयोजना र मन्दिर समितिको सहआयोजनामा पराम्परागत रुपमा मनाउदै आएको ईच्छाकामना मेला सदा झै भब्यतापूर्बक बिबिध कार्यक्रम सहित लाग्दैछ। गोरखाको प्रसिद्ध मनकामना देबीको ८ दिदी बहिनीहरु मध्ये अन्तरी बहिनी मानिने ईच्छाकामना मन्दिर भक्तजनहरुले भाकेको भाकल पूरा गर्ने सिद्ध देबीको रुपमा भक्तजनहरु माझ परिचित छिन। यसै कारण देबीको दर्शन गर्न नेपालको कुना काप्चा समेतबाट दर्शनार्थी र भक्तजनहरुको समूह ओईरिरहन्छ। प्रचार प्रसारको कमीको कारण ओझेलमा परेको देखिएता पनि शक्तिकी साक्षात देबीको रुपमा सदियौ देखि स्थापित आफ्नो महत्व र महिमाको कारण भक्तजनहरुले अत्यन्त गहिरो श्रद्धा र बिश्चासका साथ देबीको पूजा पाठ र दर्शन गर्ने गर्दछ।
समुन्द्र सतहबाट १८ सय मीटरको उचाईमा अबस्थित ईच्छाकामनाको मन्दिर परिसर बिहानीपख भूई कुहिरोको गुच्छाले लटरम्म ढाकेको र घाम उदाएपछि आखा अगाडि नै ऐना हेरे सरह उत्तरी भेग तर्फ माछापुच्छ्रे, मनास्लु, गणेश हिमालको हिम श्रृङखलाको सेताम्मे पंक्ती देख्दा स्वर्गै पुगेको अनुभब हुन्छ। वरपर बाक्ला बन जंगलले ढाकिएको मनमोहक हरियाली पाखाबाट चरा चुरङगीको मीठा आवाज र लाली गुरासको फूलहरुको मीठो बासनाले दर्शानार्थीहरुको मनै आनन्दित र उद्धेलित तुल्याउछ। बाह्रै मास चल्ने चीसो हावामा प्रकृतिको खुल्ला आनन्द लिन सकिन्छ। धार्मिक र प्राकृतिक आनन्द लिन चाहने तीर्थयात्री र पर्यटकका निम्ति ईच्छाकामना मन्दिर आकर्षक मानिन्छ।
ईच्छाकामना मन्दिरमा परापूर्बक कालदेखि मंसिर ठूलो पञ्चमीका दिन भब्य मेला लाग्ने प्रचलन रहेको पाईन्छ। मन्दिर परिसरमा फूलको डोली ल्याउने र भाकल पूरा गर्न बली दिनेहरुको चर्को भीड लाग्ने गर्दछ। सो दिन मेला भर्न टाढा टाढाबाट दर्शनार्थी र श्रद्धालु भक्तजनहरु आउने गर्दछ। अहिले मन्दिरसम्म मोटर बाटो पुग्न सकिन्छ। भूकम्पले क्षति गरे पछि सो मन्दिरलाई बागमती प्रदेश सरकार र स्थानीय तहको सहयोगमा २ करोड ६० लाखको लागतमा दुई तले भब्य पगाेडा शैलीमा पुर्ननिर्माण गरी सकेको छ।
ईच्छाकामना मन्दिरको उत्पत्ति कथा र धार्मिक महत्व:
गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने ईच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो। जस अनुसार ईच्छाकामना मन्दिरको स्थापना मकवानपुरे सेन राजाले सामरिक महत्वको यस स्थानमा मन्दिर स्थापना गरेका हुन भन्ने कुरा यसको ऐतिहासिकताको श्रोतलाई केलाउदा प्रष्टिन्छ। सम्भबत: पाल्पाली राजा मुकुन्द सेनले यी देबीको प्रतिस्थापन गराएको सम्भाबना बलियो देखिन्छ। अर्को भनाई अनुसार १९६५ सालमा स्थानीय मनिराम दर्लामी गुरुङ गोठाला जाँदा देउता देखेको भन्दै पछि ढुंगाले बारेर पूजा गरी मन्दिरको नामाकरण गरी स्थापना गरेको बताईन्छ।
चितवनको ईच्छाकामना मन्दिर र गोर्खाको मनकामना मन्दिर दुबै आमुन्ने सामुन्ने डाँडामा अबस्थित रहेका छन। गोर्खाको मनकामना, मुग्लिङ नजिक पर्ने त्रिवेणी भगबती, गोरखकाली र तँन्हूको छिम्केश्वरी देवीलाई दिदी बहिनी मानिने चलन रहेको छ। हुन पनि हो चारै देवीहरु तीनै सुरको डाडामा एक अर्कासँग आमुन्ने सामुन्ने पारी अबस्थित भएको पाईन्छ र पबित्र पावन त्रिवेणी वेनीमा मिल्ने हिमाच्छादित त्रिशुली र मर्स्याङदी नदीको जलराशीले चारै देवीको जलाभिषेक गरेको देखिन्छ।
किंबदन्ती अनुसार, एक पटक मनकामना र इच्छाकामना बीच को ठूलो हो? भन्ने विषयमा बिबाद परेछ । इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिएछन । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुगून भन्ने श्राप दिएछन र ईच्छाकामनाले पनि तिम्रो मुखै हेर्दिन भनेर मनकामनालाई पछाडि फर्किएर बस्छु भनेछन। भएको पनि त्यस्तै देखिन्छ। ईच्छाकामना मन्दिरको मूल ढोका मनकामनालाई पछाडि पारेर राखिएको देखिन्छ र मनकामनाको तुलनामा एकदमै कम भक्तजनहरु आउने गरेको देखिन्छ । जमिन, जंगल र जलको संरक्षण र सम्मानको लागि स्थानीय बासिन्दाहरु जम्मा भई पूजा र बली चढाउने प्राचिन प्रकृतिपूजक पराम्परा र पथ कै सादृश्यमा ईच्छाकामना सहित वरपर रहेका ८ मातृशक्ति स्वरुप देबीहरु आज हिन्दू धर्म र संस्कृतिको धरोहरको रुपमा अर्चित, पूजित र बन्दना गरिएको पाईन्छ। मातृ शक्तिको शक्ति स्वरुपा मानिने चितवन, गोरखा र तँन्हू जिल्लाको मिलन बिन्दु र पबित्र पाबन त्रिशुली र मर्स्याङदी नदीको संगमस्थल मुग्लिङ बरपर रहेका ८ वटा मातृका देवीहरु क्रमश: जेठी बुढीकन्या माई र माहिली छिम्केश्चरी माई पश्चिम तर्फ देखिने तँन्हू जिल्लाको महाभारत पर्बत श्रृखलामा रहेको छ भने साहिली बहिनी गोरखा कालिका माई हुन भने काहिली बहिनी मनकामना माइ हुन । चितवनको महाभारत पर्बत श्रृखलामा रहेको ईच्छाकामना अन्तरी हुन भने जन्तरी बहिनी अन्नपूर्ण हुन, खन्तरी बहिनी अकला माई हुन भने कान्छी बहिनी त्रिवेणी माई हुन। स्थान, सम्पदा र संस्कृति रक्षार्थ निश्चित सीमा तोकी स्थापना गरिने द्धारपाल मातृ शक्तिकी यी बाहिनी देवीहरु नेपालको मौलिक र प्राचिन काठमाण्डौ उपत्यकाको अष्ट मातृका पराम्परासँग गहिरो सम्बन्ध र समानता रहेको देखिन्छ।
ईच्छाकामना देवीको पूजा किन गर्ने ?
ईच्छाकामना माइको मन्दिरमा सन्तान नभएकाहरुले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्न सकिन्छ भन्ने सदियौ देखि जनविश्वास रहेको पाइन्छ। भक्तजनहरुले भाकेको ईच्छा पूरा गर्ने सिद्ध देबीको रुपमा भक्तजनहरु माझ ईच्छाकामना देबी परिचित छिन। ईच्छाकामना मन्दिरमा शुद्ध मनले पूजा अर्चना र त्रिवेणी मन्दिरको जल अभिषेक गरयो भने आफ्नो मनको चाहना पनि पूरा हुने र सुयोग्य बर बधु प्राप्त हुने र भबिष्यमा सफल बैबाहिक जीबन बिताउन सकिन्छ भन्ने मान्यता रहेको हुदा नबजोडीहरु पनि असिन पसिन हुदै ईच्छाकामना दर्शन गर्न जानेको लर्को देखिन्छ।
मन्दिरमा पुग्ने रुट:
ईच्छाकामना मन्दिर सम्म पुग्ने अहिले प्रचलित दुई रुट रहेका छन। सडक यातयातको सुबिधाको कारण मन्दिर सम्म पुग्न भक्तजनहरुलाई अहिले सहज रहेका छन। चितवनको मुग्लिङ र फिस्लिङ बजारबाट दुई पाग्रे र चार पाङग्रे साना सबारी साधनबाट मजाले पुग्न सकिन्छ। मुग्लिङबाट ईच्छाकामना मन्दिरको सडक दूरी १३ किलोमीटर रहेको छ भने फिस्लिङबाट १९ किलोमीटर रहेको छ। यसै गरी टाडी पर्सा भरतपुर तिरबाट शक्तिखोरको बाटो हुदै मोटरबाटोबाट मन्दिर सम्म पुग्न सकिन्छ।
मन्दिरको बिकास र बिस्तारको लागि गरिनु पर्ने गुरु योजना:
मन्दिर वरपर आकर्षक पर्यटकीय र धार्मिक संरचना र पूर्बाधार निर्माण गर्न सकिने पर्याप्त खाली स्थलहरु भएको हुदा स्थानीय तहले सरोकारवालाहरु समेतको सहभागितामा प्रदेश र संघिय सरकारको सहयोग लिई कास्कीको पुङदीकोट र बागलुङको पंञ्चकोट शैलीमा आकर्षक धार्मिक धामको रुपमा बिकास गर्न सकियो भने यहा बर्षको लाखौ भक्तजनहरु आउन सक्ने प्रबल सम्भाबना देखिन्छ। पालिकाको समृद्धिको लागि यो एउटा कोशेढुंगा नै ठहरिन्छ। गोरखाको प्रसिद्ध मनकामना र त्रिवेणी मन्दिरलाई मुग्लिङ हुदै त्रिवेणीसम्म स्थलमार्गबाट छुने धार्मिक सर्किटको बिकास गर्न आबश्यक देखिन्छ। ईच्छाकामना मन्दिर परिसर नजिक हाई हिल मेडिटेसन रिट्रिट सेन्टर सहितको वेयलनेस रिसोर्ट स्थापना गरे हाई ईण्ड पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ। ईच्छाकामना देबीको आठ दिदी बहिनीहरुको सामूहिक मन्दिर सहितको साझा मूल मन्दिरको स्थापना गर्नाले सबैको एकैपटक सामूहिक पूजा अर्चना गर्न सकिन्छ। ध्यान, योग केन्द्र सहितको धर्मशाला, पिकनिक स्थल, बम्पी जम्पिङ र जीप लाईन, सेल्फी ब्रिज र केबुलकार सेवा संचालन गर्न सकियो भने नेपालकै आकर्षक र ब्यस्त धार्मिक पर्यटन केन्द्रको रुपमा बिकास गर्न सकिने पर्याप्त सम्भाब्यता बोकेको देखिन्छ। यसका निम्ति स्थानीय तहले आबश्यक पहल, प्रयास र नेतृत्व गर्न आबश्यक देखिन्छ।
लेखक त्रिवेणी-ईच्छाकामना-मनकामना-गोरखकाली-छिम्केश्चरी धार्मिक सर्किट अभियानको संयोजक हुनुहुन्छ।