× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाको गाउँमा पालिकाको सहयोगमा होमस्टे सञ्चालन

    ५ दिन पहिले

    मंसिर-२२, चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

    होमस्टेको शुक्रबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अधिकारीले होमस्टेले स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नजिकै रहेको उपर्दाङ्गगढी, मायाटार लगायतका क्षेत्रमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, उनिहरु यहाँ आएर बास बस्न सक्नेछन जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”

    गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँ गाउँमा पुगेका विकास निर्माणको सदुपयोग र यहाँका स्थानीयलाई आयआर्जनसंग जोड्न होमस्टे स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“गाउँ गाउँमा विकास आएको छ तर मान्छे गाउँ छाड्ने क्रम बढ्दो छ,हामीले होमस्टेको माध्यमबाट स्थानीयलाई आयआर्जनसंग जोड्दै गाउँमै बस्ने वातावरण बनाउन हामस्टे सञ्चालनमा ल्याएका हौैं । उहाँले घुर्केशका स्थानीयलाई होमस्टे व्यवस्थापनको तालिम र भ्रमण समेत गराइने बताउनुभयो । शक्तिखोर फिस्लिङ सडक हुँदै उपरदाङगढी,मायाटार,पाथिभरा मन्दिर र इच्छाकामना मन्दिर अवलोकनका लागि आउने पर्यटकहरु यहाँ आएर बास बस्न सक्ने उहाँको भनाई छ ।

    इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले घुर्केश गाउँमा रहेका परम्परागत शैलीका आकर्षक घरमा बस्न पाउने र यहाँको स्थानीय खानेकुरा खान पाउने हुँदा पर्यटक आकर्षित हुने बताउनुभयो । एक पटक आएको पर्यटक यहाँको वातावरणले पुनः आउने बनाउने उहाँले बताउनुभयो ।

    घुर्केश गाउँमा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले घुर्केशको सामुदायीक होमस्टे चितवनकै उत्कृष्ट होमस्टेको रुपमा स्थापित हुने बताउनुभयो । “यहाँको वातावरण,संस्कृति र परिकारले सबैको मन लोभ्याउने छ,उहाँले भन्नुभयो,स्थानीयको उत्पादन समेत खपत हुने र आयआर्जका स्रोतहरु पनि बढ्दै जानेछन् ।” होमस्टे प्रवद्र्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, भेशभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पु¥याउने वडा नम्वर २ का अध्यक्ष पन्चबहादुर चेपाङले बताउनुभयो । होमस्टेले गुरुङ समुदायसंगै यस आसपासमा रहेका चेपाङ समुदायसमेतले लाभाम्वित हुने उहाँले बताउनुभयो ।

    घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ । पूर्व–वडाध्यक्षसमेत रहनुभएका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेका थिए । त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि बैंक घर भनेर चिनिन्छ । सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ ।

    यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उहाँ बताउनुहुन्छ । तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका छन् । इच्छाकामनाको पर्यटकीयस्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला पर्यटकीय क्षेत्र मायाटार र धार्मिक क्षेत्र पाथिभरा नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवामगन बृद्धि हुने स्थानीयको अपेक्षा छ ।