१ दिन पहिले
चैत -७, आज बिहान ८ बजेदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रारम्भ हुँदैछ । एसइई परीक्षा आजदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकै साथ प्रारम्भ हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क तथा निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चैत ७ गतेदेखि देशभर एकैसाथ प्रारम्भ हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिएका छन् । पौडेलका अनुसार सबै जिल्लाबाट परीक्षाको तयारी पूरा भएको भने कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ ।
बोर्डले एसइई परीक्षाका लागि आवश्यक प्रश्न पत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका तथा अन्य सामग्री प्रत्येक जिल्लामा यसअघि नै पुर्याइसकेको छ । यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।
नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताउँदै देशभर परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गराउन सरोकारवाला सबैमा आह्वान गरेका छन् ।
परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ ।
यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौंको केन्द्रीय कारागार तथा दैलेखका दुई कारागार र भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
यस वर्षको एसइईमा कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । यस वर्ष सबैभन्दा बढी काठमाडौंमा ३९ हजार छ सय विद्यार्थी तथा सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिने भएका छन् । यस वर्षको एसइई चैत ७ गतेदेखि प्रारम्भ भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकाअनुसार आज पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, सोही दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैर नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुनेछ । चैत १० गते आइतवार अनिवार्य गणित, चैत १२ गते मंगलवार अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीति शास्त्रलगायत विषयको परीक्षा हुनेछ । चैत १३ गते बुधवार अनिवार्य सामाजिक, चैत १४ गते बिहीवार ऐच्छिक प्रथम, चैत १५ गते शुक्रवार ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।
लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।