४ घण्टा पहिले
बैशाख-१५, चितवनको इच्छाकामनामा शैक्षिक क्रियाकलापहरुलाई निरन्तरता दिन शिक्षक महासंघ इच्छाकामना,विभिन्न शिक्षक संगठनहरु सहमत भएका छन् । शिक्षकहरुको आन्दोलनका कारण ठप्प बनेको शैक्षिक क्रियाकलापहरुलाई नियमितरुपमा सञ्चालन गर्न सहमत भएका हुन् ।
सोमबार गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले नियमित शैक्षिक क्रियाकलापहरुलाई शिक्षक महासंघको राष्ट्रव्यापी शैक्षिक आन्दोलनका कारणले भर्ना अभियान, पाठ्यपुस्तक वितरण र शैक्षिक सत्र २०८१ को आधारभूत (तह कक्षा ८) को ग्रेड वृद्धि परिक्षा सञ्चालन हुन बाँकी रहेको कार्य यथाशिघ्र सञ्चालन गर्ने र विद्यालयहरुले यस महिनाभित्र सम्पादन गर्नुपर्ने नियमित विद्यालय प्रशासनिक कार्य तोकिएको समयभित्र गर्न निर्देशन दिएको छ ।
शिक्षा समितिको उक्त निर्णयमा नेपाल शिक्षक महासंघ इच्छाकामनाका अध्यक्ष शिव प्रसाद तिमिल्सिना, नेपाल शिक्षक संघका अध्यक्ष यान बहादुर गुरुङ, राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष सुजन सापकोटा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हिमलाल अधिकारीले हस्ताक्षर गरेका छन् ।
बैठकमा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, शिक्षा शाखा प्रमुख राजेन्द्र बहादुर रोकाय, वडा नम्बर ४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती, प्याव्सन इच्छाकामनाका अध्यक्ष टंक प्रसाद त्रिपाठी, शिक्षक महासंघ इच्छाकामनाका सचिव तूल बहादुर गुरुङ लगायतको उपस्थिति रहेका थिए ।
इच्छाकामनामा बैशाख ३ गते देखि नै संस्थागत र सामुदायिक विद्यालयहरुमा भर्ना अभियान, घरदैलो कार्यक्रम, अभिभावक सचेतना कार्यक्रम, पाठ्य पुस्तक वितरण र ग्रेड वृद्धि लगायतका शैक्षिक क्रियालापहरु सञ्चालन हुदैँ आएको र बाँकी विद्यालयहरुलाई पनि शैक्षिक क्रियाकलापहरु यथाशिघ्र सञ्चालन गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउँनुभयो ।
बालबालिकाको पठनपाठनलाई बन्दले नराम्रो प्रभाव पार्न नदिन शैक्षिक क्रियाकलापलाई आन्तरिक रुपमा नियमित सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।