× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाललाई बेलायतले २० लाख र चीनले ५ लाख डोज कोरोना भ्याक्सिन दिने

    ४ वर्ष पहिले

    काठमाडौं : बेलायत सरकारले नेपाललाई करिब २० लाख डोज र चीन सरकारले ५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ।

    नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायत सरकारले नेपाल सरकारलाई २० लाखभन्दा बढी खोपको डोज फागुनभित्रमा उपलब्ध गराउने बताएकी छन्।

    उनले को-भ्यासकलाई बेलायतले करिब साढे सात खर्ब रकम सहयोग गर्न लागेकोले त्यसबाट नेपाललाई पनि खोप सहयोग हुने बताएकी छन्। आगामी महिना उक्त खोप नेपाल पुग्ने भएकाले आफू निकै हर्षित भएको उनले बताएकी छन् ।

    राजदूत पोलिटले मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटेर खोप सहयोगको प्रक्रिया अघि बढेको जानकारी दिएकी थिइन्। उक्त भेटका क्रममा पोखरेलले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ का बिरामीको उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद दिए।

    त्यस अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

    त्यसैगरी चीनले नेपाललाई कम्तीमा पनि ५ लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तामा यस्तो समझदारी बनेको हो।

    फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

    यसअघि नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने बताएकी थिइन्।

    परराष्ट्रमन्त्रीले खोप उपलव्ध गराउने भएकोमा चिनियाँ समकक्षीलाई धन्यवाद दिए। नेपालले चीनमा उत्पादित भ्याक्सिन प्रयोगका लागि अनुमति दिइसकेको छैन।

    नेपाललाई यसअघि सबैभन्दा पहिले भारतले १० लाख डोज कोरोना खोप दिएको थियो। भारतले दिएको खोप करिब ४ लाख स्वास्थ्यकर्मीसहितलाई लगाइँदैछ। चीनले दिन लागेको खोपले १ लाख ७५ हजारलाई लगाउन पुग्नेछ। बेलायतले दिन लागेको खोप १० लाख नागरिकमा लगाउन पुग्नेछ।