× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    बजेटको प्राथमिकतामा परेको चितवन जिल्ला

    ३ वर्ष पहिले

    सरकारले प्रस्तुत गरेको बजेटमा चितवन जिल्ला पनि प्राथमिकतामा परेको छ ।आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत चितवनको विभिन्न आयोजना पारेको छ । सरकारले चितवनको माडीमा राममन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । गत रामनवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम सीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए ।

    यस्तै, सरकारले नारायणी नदीको त्रिवेणीदेखि नारायणगढ, देवघाट हुँदै दासढुंगासम्मको खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गर्दै बजेट विनियोजन गरेको छ ।

    यस्तै, चितवनको नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम बिनियोजन गरिएको छ । यस्तै, नारायणीको सडक पुललगायत देशका १० वटा सडक पुललाई स्तरोन्नति आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने योजना सरकारले बनाएको छ । ती पुलको डिजाइन एवम् विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय परामर्श दातालाई सहभागी गराइनेछ ।

    यस्तै भरतपुर विमानस्थलको विस्तार एवम् स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । देशभरका आन्तरिक विमानस्थलको विस्तार एवम् स्तरोन्नतिको लागि एक अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ ।

    रत्ननगर नगरपालिकासहित १७ स्थानमा सरकारले कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आवमा समृद्ध तराई–मधेस सिँचाई विकास कार्यक्रमअन्तर्गत चितवन, नवलपरासीलगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा बिस्तार गर्न ५ हजार स्यालो ट्युबेल र २ सय डिप ट्युबेल जडान गरिने बजेटमा उल्लेख छ । उक्त योजनाका लागि २ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनःरेखाङ्कन गरी निर्माण गरिने अर्थमन्त्री पौडेलले बजेटमा प्रस्तुत गरे । देवघाटलगायत देशभरका धार्मिक क्षेत्रको संरक्षण र विकासको लागि बजेट व्यवस्था गरिएको छ ।

    यस्तै, चितवन, पर्सालगायत तराई मधेशका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । परिवर्तनको प्रतिकुल प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने अर्थमन्त्री पौडेलले बताए ।अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइने उनले बताए ।

    अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइने उनले बताए ।

    भरतपुरलगायत ठूला सहरमा विद्युतीय भूमिगत तार निर्माणको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने बजेटमा उल्लेख छ । जसका लागि पर्याप्त बजेट उपलब्ध गराउने अर्थमन्त्री पौडेलले बताए । पूर्वपश्चिम राजमार्गका सडकहरुमा अधिकतम् गतियुक्त, सुरूङमार्ग, उचाइयुक्त पुल, फ्लाइओभर वन्यजन्तु मार्ग बनाइने अर्थमन्त्री पौडेलले बताए ।

    क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संस्थान मातहत सञ्चालन गरिने व्यवस्था गरिएको छ ।

    भरतपुर क्यान्सर अस्पतालसहित ६ वठा ठूला अस्पतालको पूर्वाधार निर्माण गर्न एक अर्ब २८ करोड रूपैयाँ विनियोजन गरिएको छ ।