× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भोलिदेखि शिक्षक तथा यातायातका मजदुर लगायतले खोप पाउने

    ३ वर्ष पहिले

    असार-२८,सरकारले भोलि मङ्गलवारदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

    चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप भोलिदेखि पहिलो मात्रा (जाेनसन एन्ड जाेनसन खाेप चाहिँ एक मात्राले हुने) का रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई भेरोसेल खोप दिइने भएको छ । यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक/सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने छ ।

    यस्तै ५० देखि ५४ वर्ष उमेर समूहलाई जोनसन एन्ड जाेनसन खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ‘क’ र ‘ख’ वर्गको परिचय पत्र भएका अपाङ्गता भएका व्यक्तिहरू, अहिले नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाइकर्मीहरूलाई पनि जोनसन एन्ड जाेनसन खोप दिइने भएको छ ।

    खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।

    शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।