३ वर्ष पहिले
भदौ-६, प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्मा का दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व आज भदौ ६ गते आइतबार मनाइँदैछ ।यो दिन विशेषगरी नेवार जातिमा क्वाँटी खाने प्रचलन प्रसिद्ध छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल” भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।
आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूणिर्मासमेत भनिन्छ ।
वैदिक गुरु परम्पराको पूर्वीय दर्शनअनुसार जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ भने अर्को डोराका तीन शिखालाई कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषितर्पणीसमेत भन्ने गरिएको हो । विशेषतः आजको दिन सप्तषिर्लाई तर्पण दिने गरिन्छ ।
नेपालको तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ ।
आजको दिनलाई नेवारी समुदायले भने गुन्हु पुन्ही भनी मनाउने गर्छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ ।
‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ ।