× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सापारु अर्थात् गाईजात्रा -ओम धौभडेल

    ३ वर्ष पहिले

    भदौ-७,काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारु मनाइन्छ। यसदिनलाई बलीवर्द प्रतिपदा तथा वृषभ प्रतिपदाको नामले पनि चिनिन्छ।

    यसदिन ‘सायात’ गर्ने चलन छ जुन नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन हो। ‘सा’ भन्नाले गाई र ‘यात’ भनेको यात्रा वा जात्रा हो। तर यहाँ ‘सा’लाई गाई भन्दा पनि बसाहालाई बढी प्राथमिकता दिएको आभाष हुन्छ।

    काठमाडौं उपत्यका लगायत तत्कालीन नेपालमण्डलका साना ठूला बस्तीहरूमा आ-आफ्नै शैली तथा परम्पराअनुसार गाईजात्रा मनाउने चलन छ। काठमाडौंमा दिवंगत व्यक्तिको सम्झनामा स-साना केटाकेटी सिंगारेर गाईको चित्र अंकित कागजको मुकुण्डो तथा सिङ लगाइदिएर वसन्तपुर, हनुमानढोका दरवार लगायत पुराना नगरक्षेत्र घुमाउने चलन छ।

    पाटन नगरमा गाईजात्राको चारदिन अगाडि नै नायखीँ च्वयेके नगरभरमा दिवंगत भएकाहरुको सम्झनामा तोकिएको ठाँउमा भेला हुन सूचना दिइन्छ। सो अनुसार गाईजात्राका दिन तोकिएको ठाँउमा जम्मा भई बसाहाको मुखाकृति लगाएका केटाहरू अघि लगाइन्छ। उनीहरूका पछि पहेँलो कपडा ओढाएका गाई हुन्छन्। अनि कुचो, गाईको दूध, लावा, अबिर, चमर पंखा आदि लिएका केटीहरू हुन्छन्। त्यसपछाडि राधाकृष्ण र गोपी-गोपिनीको भेषमा नगर परिक्रमा गर्ने चलन छ।

    भक्तपुरको गाईजात्रा (सापारु) अन्य ठाँउको भन्दा विशेष मानिन्छ। भक्तपुरमा सापारु सुरु भएको संकेत अघिल्लो दिन अर्थात श्रावण शुक्ल पूर्णिमाको दिनबाटै हुन्छ।

    यसदिन भक्तपुरको पूर्व फर्केको नौवटा ढुङ्गेधारामा मुख धुने चलन छ। साथै बिहानैपख किसानहरु आ-आफनो खेतमा गई भ्यागुतालाई नौथरि गेडागुडको मिश्रण क्वाँटी र रोटी ख्वाई पूजा गर्छन्। यसलाई ब्यां जा नकेगु भनिन्छ। साथै घरघरमा क्वाँटी र रोटी खाने चलन छ।

    ब्यासीस्थित कालदह, नगरकोटस्थित महादेव पोखरी लगायत ठाँउमा मेला लाग्छ। यसदिन साँझपख तलेजुबाट घेन्ताघिंसी नाच भक्तपुर नगरको प्रदक्षिणा मार्ग भएर परिक्रमा गर्छ। तलेजुको सा(गाई)को दर्शन हेतु प्रदक्षिणा मार्गको वरपर असंख्य भक्तजन हुन्छन्।

    तलेजुबाट घेन्ताघिंसी नाच ल्याएपछि सापारु सुरु भएको मानिन्छ। भोलि हुनुअगावै मध्यरातदेखि दिवंगतहरुको नाममा भक्तपुरवासी प्रतिकात्मक गाई घुमाउँछन्। बिहान विशेषगरी डोकोमा बनाएका गाई घुमाउँछन्। वर्षभरमा दिवंगत स-साना केटाकेटीको सम्झनामा यस्ता डोकोमा बनाएका गाई अर्थात् ‘दोकचा सा’ नगर परिक्रमा गराइन्छ।

    कसैकसैले कालो माटोको बसाहा बनाई सिंगारिएको खटमा राखेर बाजागाजाका साथ नगर परिक्रमा गराउँछन्। केटाकेटीलाई सिंगारपटार गरेर कम्मरमा पटुका बाध्नँ लगाई दुई टुप्पो भुइँमा लत्रने गरी घुमाउने चलनलाई ‍’वासा लुयेगु’ भनिन्छ।

    भक्तपुरको सापारुको सबभन्दा आकर्षण ताहासाँ अर्थात चारवटा लामो लामो बाँसबाट बनेको गाई हो। ताहासाँको अगाडि-पछाडि कपडाको डोरी समाउने दुई जना हुन्छन्। ताहासाँ बोक्ने चार जना। घरको दुई तला जति अग्लो ताहासाँ विशेषगरी पाका उमेरका दिवंगतको सम्झनामा बनाइन्छ।

    यस्ता ताहासाँको अघि-अघि सानादेखि पाका उमेरकासम्मका मान्छे बाजाको तालमा लठ्ठी जुधाई घेन्ताघिंसी नाच नाच्दै आउँछन्। यो यहाँको सापारुको विशेषता हो। घेन्ताघिंसी नाचसँगै विभिन्न प्याँख तथा नाटक देखाइन्छ।

    मृतकको नामबाट यसरी फरक-फरक प्रकारका गाई नगर घुमाउनु पूर्व आ-आफना पुरोहित बोलाएर विधिवत पूजा गराउने चलन छ। घरको पिखालखु अगाडि बलेसीमुनि राखी विधीवत् पूजा तथा गौदान गर्नुपर्छ। त्यतिबेला पुरोहितले ‘भाद्रमासे कृष्णपक्षे पैतिपदां तिथौ बलीवर्दोत्सव कर्मणि’ भन्ने वाक्य लिने चलन छ।

    साँझतिर भक्तपुर वडा नं ४ स्थित लाकुलाछेबाट परालले मात्र बनेको ‘सुयाम्ह भैल द्यः’ र भद्रकालीको ताहाँसा घेन्ताघिंसीका साथ नगर परिक्रमा गराइन्छ। यसपछि अन्य प्रतिकात्मक गाई ल्याउनु हुँदैन भन्ने मान्यता छ।

    भक्तपुरको सापारु आठदिनसम्म विभिन्न देवदेवीको जात्रा गरी कृष्णाष्टमीमा समापन हुन्छ। सापारुबाहेक अन्य दिनमा समेत फर्मायसी रुपमा टोलटोलबाट घेन्ताघिंसी ल्याउने चलनले थप रौनकता थपेको छ।

    सापारु नेवार समुदायको एक मौलिक पहिचान रुपमा प्रख्यात छ। हरेक वर्ष आउने यो सँस्कृति परम्परा मात्र होइन। यो एउटा पर्व बनिसकेको छ।

    तर सापारुबारे हाम्रो इतिहास एक अर्कासँग बाझिएका छन्। कतिपय तथ्य पुनः अध्ययन-अनुसन्धान गर्न जरुरी छ।

    एकथरि इतिहासकारले सापारु चलनसँग कान्तिपुरका राजा प्रताप मल्लको नाम जोडेका पाइन्छ। प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्रको अल्पायूमै असामयिक निधन भएको थियो। यसपछि शोकाकुल रानीलाई सान्त्वना दिन उनले यो पर्व चलाएको कथन छ।

    ने.स. ७९० मा मृत्यु भएका चक्रवर्तेन्द्रलाई आधार बनाएर प्रताप मल्लले सापारु चलाएको भए यो प्रचलन ३४० वर्ष जतिमात्र पुरानो देखिन्छ। अर्काे कुरा प्रताप मल्ल कान्तिपुरका मात्र राजा थिए। त्यसबेला भक्तपुरमा जगतप्रकाश मल्ल र पाटनमा सिद्धिनरसिंह मल्ल राज गर्थे। उनीहरूबीच हरेक क्षेत्रमा प्रतिस्पर्धा हुने सन्दर्भमा शत्रु राज्यका राजकुमारको मृत्युमा भक्तपुर र पाटनले किन सापारु पर्व मनायो?

    अर्काे तर्फ आफ्नो समयमा प्रताप मल्ल इतिहास प्रति जागरुक राजा हुदाँ आफूले गरेका हरेक कामको अभिलेख वा थ्यासफूमा टिपोट गरी राख्थे। सापारुबारे भने कहीँकतै उल्लेख भेँटिदैन। चक्रवर्तेन्द्रको मृत्यु सम्झना स्वरुप वि.स. १७२७ मा बनाउन लगाएको रानी पोखरीको अभिलेखमा समेत सापारु उल्लेख छैन।

    सापारुको श्रेय भक्तपुरका राजा जगतप्रकाश मल्ललाई दिने इतिहासविद पनि भेटिन्छन्। जगतप्रकाश मल्ल प्रभावशाली थिए। उनले ने.स.७६४ देखि ने.स. ७९३ सम्म राज गरेको देखिन्छ। जगतप्रकाश मल्ल र उनका प्रभावशाली भारदार चन्द्रशेखर मिलेर ‘जगच्चन्द’ नामबाट कयौं साहित्य रचना गरे। जगतप्रकाश मल्लले धेरै अभिलेख राख्न लगाए। तर सापारु सुरुआत गरेको कुनै छनक देखिँदैन।

    त्यतिमात्र होइन, जगतप्रकाश मल्लका दुई छोरा जितामित्र र उग्रमल्ल दुवै पछिसम्म जिवित रहेको र तेस्रो कुनै राजकुमार नभएका सन्दर्भमा यो कथन पनि बिना प्रमाण सिर्जित भएको देखिन्छ।

    यता कोहीकोहीले सापारु पर्वको श्रेय पाटनका राजा सिद्धिनरसिंह मल्ललाई दिने गरेका छन्। उनका छोरा श्रीनिवासमल्लको नाम इतिहासमा लेखिएको भए पनि जेठो छोरो ज्योतिर्नरसिंह मल्लको विषयमा इतिहास बोलेको छैन। उनै ज्योतिर्नरसिंहको मृत्यु ने.स. ७७२ असोजतिर भएपछि इतिहासले पुनः उनलाई सम्झन आवश्यक ठानेन। इतिहासप्रति सचेत सिद्धिनरसिंह मल्लले कहीँकतै उनीबारे जिकिर गरेका छैनन्।

    केही समययता सापारु पर्वको श्रेय जयस्थिति मल्ललाई दिनेहरू पनि भेटिएका छन्। जयस्थिति मल्लका तीन छोरा थिए‍‍‍- धर्ममल्ल, ज्योर्तिमल्ल र किर्ती मल्ल। ने.स.५१५ भदौमा जयस्थिति मल्लको मृत्यु पछि यी तीन छोराको संयुक्त शासन चलेको देखिन्छ। यसबाट जयस्थिति मल्लको जीवनकालमा उनका कुनै छोराको मृत्यु भएको देखिँदैन।

    दोलाजी प्रथाबाट यहाँका राजा बन्न सफल जयस्थिति मल्ल सुधारक राजा थिए। आफूले गरेका सुधार एवम् कीर्तिबारे उनले ठाउँठाउँमा सगौरव लेख्न लगाएका छन्। आफूलाई यहाँको राजा बन्न योगदान गरेकी आफ्नी पटरानी राजल्लदेवीबारे प्रशंसा गर्न उनी चुकेको छैनन्। उनै राजल्लदेवीको सम्झनामा देवपाटनस्थित जयवागेश्वरीनेर सुनको धारा जिर्णोद्धार गरी शिलापत्र बनाएका छन्।

    यस्ता सचेत शासकले सापारु चलाएको भए अवश्य त्यसबारे उल्लेख गर्थे। बरु उनै जयस्थिति मल्लको शासनकाल अर्थात ने.स. ५०९–१० तिर एकजना भक्तपुरवासी विद्वानले नेपालभाषामा लेखेको ‘गोपालराज वंशावली’को पत्र संख्या ६१ मा ‘सायात’ भनी सापारुबारे उल्लेख गरेका छन्। यसरी जयस्थिति मल्लको पालामा गोपाल राजवंशावलीमा उल्लेख भएकै आधारमा सापारु पर्वको श्रेय उनलाई दिनु न्यायोचित हुँदैन। उक्त वंशावली जयस्थिति मल्ल पालामा लेखिएको भए पनि यसमा लिच्छवी कालदेखिका महत्वपूर्ण घटना समेट्ने क्रममा सापारुबारे पनि लेखिएको अवस्था हो।

    यहाँनेर सापारु पर्व नेवारहरुको सोह्र सँस्कारमध्ये मृत्युसित सम्बन्धित सँस्कार हो भन्ने स्पष्ट छ। नेवार समुदायमा दिवंगतको नाममा मृत्युको एघारौं वा बाह्रौं दिनमा बसाहा डामेर छोड्ने चलन थियो, जसलाई वृषसर्ग भनिन्छ। डामेर यसरी साँढे छोड्ने अलावा ढुङ्गाको साँढे बनाई गौचरनमा राख्ने चलन थियो। यसरी छोडिएका साँढेको प्रतिमा ठाँउठाँउमा देख्न सकिन्छ।

    तर यी दुवै काम खर्चिलो र झन्झन्टिलो भयो। विकल्पमा भाद्र शुक्ल प्रतिपदाको दिन गाई (बसाहा) प्रतीक बनाई नगर परिक्रमा गर्दा पनि वृषसर्ग गरेको सरह मानेर नै सापारु मनाउन थालेको कुरा महत्वका साथ लिनुपर्छ। यसको एक प्रमाण ‘बौध्दायन’ नामको हस्तलिखित ग्रन्थ हो। यसमा बसाहाको मूर्ति बनाएर भाद्रकृष्ण प्रतिपदाका दिन विधीपूर्वक पूजा गरी आफू बसेको सहर धुमाउनाले वृर्षेात्सर्ग नामको पितृ तंरतारक यज्ञको पूण्य प्राप्त हुन्छ भनी स्पष्ट लेखिएको छ।

    त्यस्तै पण्डित रत्नराज राजोपाध्यायसँग रहेको ‘गाईजात्रा पद्धति’ नामको अर्को हस्तलिखित ग्रन्थमा पनि पद्म पुराण शिवबचन भनी भाद्रकृष्ण प्रतिपदा तथा सापारुको दिन वृषभलाई उपर्युक्त विधीअनुसार पूजा अर्चना गरी देश परिक्रमा गराएर सायंकालमा भित्र्याएमा वृर्षोत्सर्ग गरेको फल प्राप्त हुने भनिएको छ।

    यता गरुड पुराणमा पनि वृर्षोत्सर्ग कर्मको महत्वबारे लेखिएको छ। यसले सापारुको दिन सायात चलन नेवार सभ्यताको सुरुआतदेखि चल्दै आएको भन्नेमा अन्यौल छैन।

    लिच्छवी कालका कयौं कालखण्डमा यहाँ प्राकृतिक विपद, रोगव्याध, महामारीबाट ठूलो धनजन नोक्सान भएको संकेत पाइन्छ। जसमा मृत्युवरण गरेका असंख्य मानिसको सदगति हुन पाएन। त्यतिमात्र हैन, जेठ-असारतिर पानी परेपछि प्राकृतिक विपद तथा रोगव्याधले बर्सेनी थुप्रैको अकालमा मृत्यु हुन्थ्यो। त्यसैले धार्मिक रुपमा दिवंगतहरूले स्वर्ग पाउने आधार यही भाद्र शुक्ल प्रतिपदाको दिन रह्यो।

    हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार वर्षभर बन्द हुने स्वर्गद्वार गाईजात्रा निकालेपछि खुल्छ। र, त्यो समयमा मृतकको नाममा प्रतिकात्मक गाई बनाएर वैतरणी नदी पार गरी स्वर्ग जाने अभिप्रायले मनाएको पर्व सापारु हो। अर्काेतर्फ सापारु पर्वबाट वर्षभरमा मृत्यु भएकाहरूको तथ्यांक तयार भई सचेतना जगाउने काम हुन पुग्यो र यसमार्फत् अकाल मृत्युबाट बच्न र बचाउन सन्देश प्रवाह गर्याे।

    लिच्छवी कालमा विकास भएको सापारु विकासमा भक्तपुरको महत्वपूर्ण स्थान छ। लिच्छवी राजा आनन्द देवले चारैतिर अष्टमातृका देवी तथा मध्यभागमा भैरव स्थापना गरी सम्पूर्ण नेपाल मण्डलको राजधानी भक्तपुर बनाएका थिए। त्यो बेलादेखि यक्ष मल्लसम्म करिब ३६७ वर्ष सम्पूर्ण नेपालमण्डलको राजधानी भक्तपुर थियो। राजधानी नगरको रुपमा भक्तपुरले थुप्रै आरोह-अवरोह भोग्नु पर्यो।

    तर यही क्रममा भक्तपुर साँस्कृतिक रुपले एउटा विशेष थलो पनि बन्यो। सापारु जस्तो विरह एवम् विछोडको क्षण समेत साँस्कृतिक रुपले धनी बन्यो। अरु पर्व झैं यसले पनि फस्टाउने मौका पायो। भक्तपुरबाट कान्तिपुर र पछि कान्तिपुरबाट ललितपुर विभाजन भएपश्चात यी तीन राज्यबीच हरेक क्षेत्रमा प्रतिस्पर्धा कायम भयो। यो अवस्थामा आ-आफ्ना ठाउँमा आ-आफ्नै शैलीले सापारु विकास भयो।

    कान्तिपुरमा प्रतापमल्ल, भक्तपुरमा जगतप्रकाश मल्ल र पाटनमा सिद्धिनरसिंह मल्लको ठूलो योगदान रहेकोमा कुनै द्विविधा छैन। तर यतिलाई मात्र आधार मानेर सापारु पर्वको श्रेय यिनलाई मात्र दिनु न्यायोचित छैन। अनि गोपालराज वंशावलीका आधारमा जयस्थिति मल्ललाई श्रेय दिनु पनि मुनासिव देखिँदैन। बरु यस्तो महत्वपूर्ण पर्वबारे अझ गहन अध्ययन हुन सके थुप्रै सत्यतथ्य प्रकाशमा आउन सक्छ।

    (लेखक धौभडेल सँस्कृतिविद हुन्)