× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मतदानको १० औं दिनमा बल्ल सकियो मतगणना

    ३ वर्ष पहिले

    पुष-९, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिले मतदान गरेको १० औं दिनपछि मतगणना सकिएको छ ।

    कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि मंसिर २७ गते मतदान भई सोही दिनबाट नै मतगणना गरेको थियो ।

    हिजो बिहीबार साँझ मतगणना सकेर नतिजा सार्वजनिक गरेसँगै निर्वाचन समितिले नवनिर्वाचित सबैलाई आज शुक्रबार प्रमाणपत्र दिने कार्यक्रम राखेको छ

    निर्वाचित सबैलाई प्रमाणपत्र दिन नेताहरूको वरिष्ठता सूची तयार पारि पदभार ग्रहणको कार्यक्रम पनि आजै गरिने स्रोतले जनाएको छ ।

    त्यसैगरी १४औं महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक भोलि शनिबार बस्ने गरी तयारी भइरहेको पनि जनाएको छ ।

    एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य महाधिवेशनले निर्वाचित गर्नुपर्ने व्यवस्थाबमोजिम १० दिनअघि मतदान भएको थियो ।

    सभापतिका लागि भने पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो । कांग्रेस निर्वाचन समितिले निर्वाचन सम्पन्न भएदेखि हिजो साँझ अबेरसम्म लगातार मतगणना गरिरहेको थियो । कांग्रेस अधिवेशनमा मतदाताको संख्या ४ हजार ७ सय ४३ थियो ।

    संघीय संरचनाअनुसार पहिलोपटक महाधिवेशन गरेको कांग्रेस केन्द्रीय समितिमा सहमहामन्त्रीमा महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना निर्वाचित भएका छन् भने केन्द्रीय सदस्य खुलामा ३५ जना निर्वाचित भएका छन् ।

    त्यस्तै, महिला खुलामा ९ जना निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुने सदस्यमा प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले आएका २१ जना पनि छन् ।

    कांग्रेस केन्द्रीय सदस्यमा समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित भएका छन् । जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासी/जनजाति कोटामा सात महिलासहित १५ जना, खस/आर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पीछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यक/अपांग कोटाबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    सभापतिले मनोनित गर्ने ३३ जनामा एक तिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने भनिएको छ । सभापति शेरबहादुर देउवाले आज शुक्रबार नै केहीलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।