× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वाग्मती प्रदेशमा १८ सदस्यीय जम्बो मन्त्रिपरिषद्

    ३ वर्ष पहिले

    पुष-१०, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार कांग्रेसकोतर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री थप गरेसँगै बाग्मती प्रदेश सरकारमा १८ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनेको छ।

    शुक्रबार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले शपथग्रहण गरेका छन्।

    त्यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र रजनी अमात्य जोन्छेले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा शपथग्रहण गरेका छन्।

    एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेका पाण्डेले सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्र र नेपाली कांग्रेसलाई खुसी बनाउन गत मंसिर १५ मा ८ मन्त्रालयलाई फुटाएर १४ वटा पुर्‍याएका थिए ।

    मन्त्रालय एवं मन्त्रीको संख्या बढेसँगै भवन, कर्मचारी र संगठन संरचनाको अभावमा मन्त्रालयका कामकाज अस्तव्यस्त बनिरहेको छ । भवन अभावमा एउटै भवनमा ५ वटासम्म मन्त्रालय राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    दुई वटा मन्त्रालय भाडाको घरमा र एउटा मन्त्रालय जीर्ण भवनमा राखिएको छ । श्रम रोजगार तथा यातायात, कृषि तथा पशुपन्छी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय एउटै भवनमा खडा गरिएको हो ।

    संस्कृति तथा पर्यटन मन्त्रालय हेटौंडा–४ स्थित पर्यटन आयोजना रहेको भाडाको घरमा राखिएको छ । उद्योग मन्त्रालय तत्कालीन जिल्ला विकास समिति मकवानपुरको जीर्ण भवनमा राखिएको छ ।

    दलीय भागबण्डा मिलाउन अनावश्यक रूपमा प्रदेश सरकारको ढुकुटी दोहन गर्ने गरी मन्त्रालय विभाजन गरेको भन्दै मुख्यमन्त्री पाण्डेको सदनदेखि सामाजिक सञ्जालसम्म सर्वत्र विरोध भइरहेको छ।