× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफ्नोतिर पार्ने गरी महाकाली नदीको नाम फेर्यो

    ३ वर्ष पहिले

    पुष-११, भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफ्नोतिर पार्ने गरी महाकाली नदीको नाम फेरेको देखिन्छ।अंग्रेज भाषामा प्रकाशित यो नक्सामा भारतीय सर्वेक्षण विभागले काली (महाकाली) नदीको नामै फेरेर नयाँ नक्सा जारी गरेको छ।हालै जारी गरिएको भारतको राजनीतिक नक्साको दशौं संस्करणमा काली नदीलाई ‘कुटी याङ्ती’ भनेर देखाइएको छ।

    भारतले निकालेकाे नयाँ नक्सामा लिम्पियाधुरा मुहान भएको काली (कुटी याङ्ती) र लिपुखोलाको दोभानदेखि तल (दक्षिणलाई) काे भागलाई मात्र काली भनिएको छ।जबकि यसअघि निकालेको नक्सामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली भनेर उल्लेख थियो। यसअघिका सबै नक्सामा लिम्पियाधुराबाट निस्कने नदीलाई नै काली (महाकाली) भनिएको छ।सन्त गाहा मगर हिमाल खबरबाट

    भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भारतले नेपाली भूमि आफ्नोमा पार्न यस्तो प्रपञ्च रचेको बताउँछन्। उनी भन्छन्, “दशौं संस्करणको नक्सामा देखाइएका कुटी याङ्ती भन्दा ठूला नदीहरू जस्तै धौली वा गार्मा नदीको नाम नलेखिनु र सानो नदी (कुटी याङ्ती) को नाम लेखिनुले काली नदी (लिम्पियाधुराबाट बग्ने) देखि पूर्वको नेपालको भूभाग हडप्ने प्रयासको रुपमा हेर्न सकिन्छ”।

    भारतले निकालेको हिन्दी भाषाको नक्साको सातौं संस्करणमा पनि काली (महाकाली) नदीको नाम फेरेको छ। अंग्रेजी भाषामा प्रकाशित नक्सालाई नै हिन्दी भाषामा पनि राखेको छ। यहि नक्सालाई भारतले यसै वर्ष संस्कृत भाषामा पनि प्रकाशित गरेको छ। त्यसमा पनि काली नदीको नाम फेरेको छ।

    ४ मार्च, १८१६ मा हस्ताक्षर भएको सुगौली सन्धिको पाँचौं बुँदा अनुसार काली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो। यो सन्धिले अन्तर्राष्ट्रिय सिमाना निर्धारण गरेको काली नदीको नामलाई अहिले ‘कुटी याङ्ती’ राखेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको हो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको  पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले नेपालको ४६०.२८ वर्ग किलोमिटर भूभाग अतिक्रमण गरेको छ।

    २ नोभेम्बर, २०१९ मा नेपाली भूभाग समेत आफ्नो तिर पारेर भारतले आठौं संस्करणको नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो। यद्यपि त्यो नक्सामा काली नदी स्पष्ट रुपमा भारततर्फ पारिएको थियो।नेपालमा त्यसको विरोध भएपछि फेरि अर्को नक्सा जारी गरेको थियो। ८ नोभेम्भर, २०१९ मा निकालेको दोस्रो नक्सामा भारतले काली नदी गायब पारेको थियो।नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेपछि नेपालले संवाद मार्फत समस्याको निकास चाहेको थियो। भारतले वेवास्ता गरेपछि नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्सा ७ जेठ २०७७ मा जारी गर्‍यो।

    त्यो नक्सालाई नेपालले ३१ जेठ २०७७ मा संसद्‌बाट पारित गरिसकेको छ। नक्सामा उल्लेख भए अनुसार काली नदी पूर्वको कुटी, गुन्जी, गर्ब्याङ लगायतका भूभाग नेपालको हो।

    नेपाल-अंग्रेज युद्ध रोक्न सन् १८१६ मा सुगौली सन्धि भएको दश वर्षपछि सन् १८२७ मा इस्ट इन्डिया कम्पनीले निकालेको नक्सामा पनि लिम्पियाधुरा मुहान भएकै नदीलाई स्पष्ट रुपमा काली नदी भनिएको छ।

    प्राध्यापक खनाल पछिल्लो नक्सामार्फत भारतले नेपालले संविधान संशोधन गरेर राखेको चुच्चे नक्सालाई चुनौती दिएको बताउँछन्। उनी भन्छन्, “नेपालतर्फको सिमानालाई उसले कति महत्त्व दिएको छ भन्ने भारतको दशौं संस्करणको नक्साले जनाउँछ।”

    भारतले लिपुलेक सहित तिब्बत प्रवेश गर्ने तीन वटै नाका आफ्नोमा पार्न खोजेको देखिन्छ। यो विषयमा नेपाल सरकारले तुरुन्तै भारतसँग कुटनीतिक संवाद गर्नुपर्ने खनालको सुझाव छ।