× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    माघे संक्रान्ति: नेपालका भिन्न समुदायको साझा पर्व

    ३ वर्ष पहिले

    माघ-१, माघे संक्रान्ति नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति ।

    हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।

    नेपालका भिन्न समुदायको साझा पर्व रहेतापनि समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तरपनि सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।

    मगर समुदायको राष्ट्रिय पर्व माघेसंक्रान्ति

    मगर जातिले माघेसंक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गर्छ । मगर समाजमा माघेसंक्रान्तिलाई उँभेलीको पहिलो चाड वा नयाँ वर्षको रूपमा मनाउने गर्छन् । त्यसैले यस चाडलाई तीन दिनसम्म मनाउने चलन छ ।

    मगर समुदायको संस्कार संस्कृति बचाउन चेलिबेटीलाई खुवाउने, सकेको दान दिने र पाकेका बालीहरू भित्रयाउने पर्वको रूपमा पनि मनाउने गरिन्छ । यो पर्वमा माइतीले चेलीबेटीलाई बोलाएर विभिन्न खानाका परिकारहरू खुवाउने चलन छ । विवाह गरेर गएका छोरीचेलीलाई माइतीले सम्झने पर्व हो । आफ्नै छोरीचेली नभएकाहरुले दाजुभाइ खलकका चेलिबेटीलाई बोलाएर भए पनि खुवाउने गर्छन् । चेलीहरू माइत आउँदा रक्सी, पिडालु, सेलरोटी र तरुलको पाहुर लिएर आउनु पर्छ ।

    मगरहरूले माघको पहिलो दिनलाई जेठी संक्रान्ति र दोस्रो दिनलाई कान्छी संक्रान्ति भनेर मनाउने गर्दछन् । जेठी संक्रान्तिका दिन आउन नपाएका चेलीहरूलाई कान्छी संक्रान्तिका दिन बोलाइन्छ । पहिलो दिन आउन नभ्याएका चेलीहरू भोलिपल्ट आउने गर्दछन् । यो चाडमा पिडालु अनिवार्य रूपमा खानुपर्छ । त्यसैले माघेसंक्रन्तिका दिन पिडालुलाई मुख्य खाना बनाएको पनि पाइन्छ ।

    थारुको माघी महान पर्व

    थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ ।

    थारु समुदायमा माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गरिन्छ । मान्यजनहरूसँग आशिर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नविकरण गर्ने दिनको रूपमा थारु समुदायले लिने गरिन्छ।

    माघी मनाउन थारुहरु विदा लिएर टाढा-टाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने-खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सि थारु समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामाग्रीहरुको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।

    थारु समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । साथै कमैया र कम्लहरी प्रथा नहटुन्जेलसम्म उनीहरुले काम जारी राख्ने कि छाड्ने निधो पनि यही दिनमा हुन्थ्यो । हाल कमलरी र कमैया प्रथा हटिसके पनि जमिन्दारहरुको खेतबारी जोत्ने (अधिया लगाउने) काम भने कायमै छ र यसको निर्णय पनि माघ महिनामै गर्ने चलन कायमै छ ।

    माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी-गुरी जाँड’ भन्ने गीत निकै चर्चित पनि छ ।

    किराँतको नयाँ वर्ष ५०७८

    माघे संक्रान्तिसँगै सोमबारबाट किराँत नयाँ वर्ष ५०८२ पनि सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले सोमबार धुमधामका साथ किराँत नयाँ वर्ष मनाइरहेका छन् ।

    किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे संक्रान्तिलाई किराँत लिम्बूहरुले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन ।

    माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातीको सेतो चाँप फुल्ने भएकाले मकर संक्रान्तीलाई ककफेवा तङनाम भनिएको हो । आजको दिन लिम्बूहरु परम्परागत भेषभुषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट बनतरुल पोलेर टिका ग्रहण गर्ने परम्परा रहेको छ ।

    पाँचथरको फिदिम, शिलौती, लब्रेकुटी, काबेलीसँगै ताप्लेजुङ,,तेह्रथुम र धनकुटा सहित विभिन्न स्थानमा किराँत नयाँ वर्षका अवसरमा लिम्बू समुदायले खुशी साटासाट गरिरहेका छन् ।

    हिन्दूको साँस्कृतिक चाड

    माघे संक्रान्ती पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ ।

    घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ ।

    धार्मिक मान्यता अनुसार पनि माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि छ ।