३ वर्ष पहिले
माघ-१९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशित गरि शुक्रबार देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिना सहित हल्का देखि भारि वर्षा वर्षाको समेत सम्भावना रहेको जनाएको छ।
बुधबार राति देखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहिबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरी आंशिक देखि सामान्य बदली रहने जनाएको छ।
यस प्रणालीको प्रभावले शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको मौसम विभागले जनाएको छ ।
मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।