× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिके राउतको जनमत पार्टीद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    ३ वर्ष पहिले

    माघ-२०, किसान आन्दोलन गर्दै आएको सिके राउतको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ ।

    जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम गरेका हुन् । उनीहरूले प्रदर्शन गर्नुका साथै सडक छेउमा टेन्ट राखेर बसेका छन् ।

    झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले माग पूरा नगरेपछि बाध्य भएर राजमार्ग बन्द गर्नु परेको उनीहरूले बताएका छन् ।

    जनमत पार्टीका नेता बीपी साहका अनुसार पुस ९ गतेदेखि किसानहरूले विभिन्न चरणको विरोधका कार्यक्रमहरू गरिसकेका छन् । तर, हालसम्म पनि सरकारले सुनवाइ नगरेपछि बिहीबारबाट सडकमै बस्ने खाने गरी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो ।

    स्कुल बस, दुध बोकेका गाडी, एम्बुलेन्स, पत्रकार लगायतका अत्यावश्यक सवारी साधन चल्न दिने पनि जनाएको छ ।

    बिहीबारदेखि सुरु भएको चक्काजाम निरन्तर जारी रहने नेता साहले जानकारी दिए । हरेक दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म चक्काजाम गर्ने, त्यसपछि साँझ सडक छेउमा खडा गरिएको टेन्टमा खाना पकाउने, त्यही खाने र भोलिपल्ट फेरि चक्काजाम गर्ने आफूहरूको कार्यक्रम गरेको नेता साहले जानकारी दिए ।

    सरकारले माग पूरा नगरेसम्म किसान आन्दोलन जारी रहनेसमेत उनले चेतावनी दिए ।

    उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् । किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।