× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सत्तारूढ चार दल एमसीसी ‘टेबुल’ गर्न तयार

    ३ वर्ष पहिले

    फागुन-३,अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबुल गर्ने विषयमा सत्तारूढ गठबन्धन भित्रका चार दल सहमति बनेको छ ।

    उच्च स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम पछि पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध मध्ये चार दल एमसीसीलाई संसदबाटै टुंगोमा पुर्याउन सहमत भएका हुन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा चारै दल एमसीसी परियोजना सम्बन्धी प्रस्ताव संसदमा टेबुल गर्न सहमत भएका हुन् । तर गठबन्धनभित्रको एकघटक राष्ट्रिय जनमोर्चाले भने एमसीसीका विषयमा आफ्नो असहमति कायम राखेको छ ।

    एमसीसी संसदबाट अघि बढाउने विषयमा सत्ता गठबन्धनमा सहमति बनिसकेको छ, अब संसदमा एमसीसी टेबुल हुन्छ, बाँकी प्रक्रियामा दलहरूले आ–आफ्नै ढंगबाट निर्णय लिन सक्छन, स्रोतले भन्यो ।

    नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले बुधबार संसद बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमसीसी बारे छलफल हुने जानकारी दिए ।

    उनले सोमबार सभामुखले डाकेको सर्वदलीय बैठकबाट बाहिरिँदै गर्दा एमसीसी संसदबाटै अघि बढाउने विषयमा सहमति भएको बताएका हुन् ।

    सर्वदलीय बैठकको मुख्य विषय त संसद सुचारु गर्ने नै हो तर बैठकमा एमसीसी बारे पनि कुरा उठे सहमति बनाएर संसदमा लैजाने भन्ने विषयमा नेताहरू तयार हुनुहुन्छ, बैठकबाट बाहिरिँदै गर्दा श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने ।

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफ्नो दल जनमोर्चा बाहेकका सत्ता गठबन्धनमा आबद्ध अन्य चार दल एमसीसीलाई संसदबाटै निर्णयमा पुर्याउन तयार भएको जानकारी दिइन् ।

    ‘हाम्रो असहमति कायमै छ, गठबन्धनका अन्य दलहरू एमसीसीलाई संसदमा टेबुल गर्ने विषयमा सहमत हुनुभएको छ’ जनमोर्चाकी उपाध्यक्ष पौडेलले भनिन् ।

    माओवादी केन्द्र र नेकपा एस भने एमसीसी संसदमा टेबुल गर्न दिने तर बाँकी प्रक्रियामा के गर्ने ?भन्ने विषयमा दलभित्र सहमति गरेर निर्णयमा पुग्ने योजनामा छन् ।

    गत शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमसीसी परियोजना अघि बढाउने आफ्नो तयारी रहेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

    –राजधानी दैनिकबाट