× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा भारतीय स्काभेटर

    ३ वर्ष पहिले

    फागुन-२४,दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको छ। आज (मंगलबार) भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ। तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

    यसै क्रममा सो क्षेत्रमा नेपाल र भारतका स्थानीयबीच ढुंगा हानाहानसमेत भएको बताइएको छ। भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद शुरु भएको थियो। दार्चुला प्रशासनसँग समन्वय नै नगरी भारतले एकपक्षीय तरिकाले महाकालीमा स्काभेटर चलाएर धार परिवर्तन गरेपछि दुवै देशका नागरिकबीच ढुंगा हानाहान भएको हो।

    महाकालीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गरिरहेको उनले बताए। नेपाली भूभागबाट ढुंगा उत्खनन् समेत गरेको उनको भनाइ छ।

    ढुंगा हानाहानपछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरबितर गरिएको थियो। ‘अहिले ढुंगामुढा र विरोध रोकिएको छ। उनीहरूले स्काभेटर फिर्ता लगेका छन्,’ प्रजिअ उपाध्यायले भने, ‘हामीले समन्वय गरेर मात्र काम गर्न भनेका छौँ। नेपालको भूमिमा स्काभेटर नचलाउनसमेत जानकारी गराएका छौ।’

    भारतीय पक्षले बाँधेको पुरानो तटबन्धसँगै महाकालीमा नेपालतर्फ ८ देखि १० मिटर चौडा र १० मिटर अग्लो तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणसँगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन्। ‘महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन्। वर्षात्‌मा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ,’ महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भने, ‘अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ।’

    अन्तरराष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन। तर, दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको धार परिवर्तन हुने किसिमले आफूखुशी पक्की तटबन्ध निर्माण गर्दै आएको छ।

    भारतीय पक्षलाई तटबन्धका बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक-पटक पत्राचार गरेको थियो। भारतीय पक्षले नेपाली प्रशासनलाई बेवास्ता गर्दै अहिलेसम्म तटबन्धका बारेमा जानकारी गराएको छैन। गत माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल-भारतका अधिकारीहरूको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराएका थिए।

    बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्धबारे विस्तृत जानकारी दिने भनेको थियो। तर, बैठक सम्पन्न भएको एक महिना बितिसक्दा पनि भारतीय पक्षले तटबन्धबारे कुनै जानकारी नदिएको बताइएको छ। थाहा खबरबाट