× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अंश लिएर सम्बन्ध विच्छेद गरेकी महिलाले पुनः विवाह गरे अंश फिर्ता गर्नुपर्ने !

    ३ वर्ष पहिले

    चैत-४, श्रीमानसँग अंश लिएर सम्बन्धविच्छेद गर्ने कुनै पनि महिलाले अब अर्को पुरुषसँग विवाह गरे पहिले लिएको अंश फिर्ता गर्नुपर्ने नयाँ कानुन बन्न लागेको छ ।

    मुलुकी देवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा उक्त प्रावधान राख्न लागिएको हो । नेपाल कानुन आयोगले संहिताको विधेयक मस्यौदामा उक्त प्रस्ताव गरेको छ ।

    नयाँ कानुन जारी भएपछि महिलामा अंश लिने र पारपाचुके गरेर नयाँ पुरुषसँग सम्बन्ध गाँस्ने प्रवृत्ति बढ्दै गएपछि सामाजिक मूल्य र मान्यतालाई ध्यानमा राखेर उक्त नयाँ व्यवस्था गर्न लागिएको जनाइएको छ ।

    अर्को विवाह गरेपछि नयाँ पतिबाट अंशको हक स्थापित हुने भन्दै पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ताको प्रस्ताव गरिएको हो ।

    सम्पत्तिमाथि आँखा लगाउने,सामाजिक मूल्य र मान्यतालाई कुल्चिने प्रवृत्ति नयाँ पुस्तामा अधिक देखियो । कतिपय महिलाले दुई वा तीन जनासँगसम्म विवाह गर्दै अंश लिँदै सम्पत्तिको मालिक बनेर देखाउने होडबाजी बढेकाले राज्यले त्यसतर्फ ध्यान दिन परेको आयोग स्रोतले जनाएको छ।

    आयोगको प्रस्तावित मस्यौदा अब कानुन मन्त्रालयमा पठाउने तयारी गरिएको छ । त्यसपछि संसदीय समितिमा छलफल हुने छ । संहिताको दफा १०३ मा खण्ड (क) थपेर नयाँ व्यवस्था गर्न लागिएको हो । नयाँ व्यवस्था थप गर्नुपर्नाको औचित्य पुष्टि गर्दै आयोगका एक जना अधिकारीले भने, ‘महिलाले डिभोर्स गरेर अंशसमेत लिएपछि अर्को विवाह गरेमा त्यस्तो अवस्थामा नयाँ पतिबाट अंशको हक स्थापित हुन्छ । त्यसैले अघिल्लो पतिबाट पाएको सम्पत्ति फिर्ताको प्रस्ताव गरिएको हो ।’

    प्रस्तावबमोजिम कानुन संशोधन भएमा अघिल्लो पतितर्फका छोराछोरी नभएमा अंशियार अर्थात् पूर्व पतिले नै अंश फिर्ता पाउने छन् । त्यसैगरी सगोलको सम्पत्ति लिएर छुट्टिएकी महिलालेसमेत अर्को पुरुषसँग विवाह गरेमा त्यस्तो अवस्थामा पनि पहिलेको सम्पत्ति फिर्ता गर्नुपर्ने छ । त्यसैगरी कुनै पनि परिवारको पैतृक सम्पत्तिमा छोरा र छोरी दुवैतर्फका नाति वा नातिनीलाई समान हकको व्यवस्था गरिएको छ । अहिलेसम्म छोरातर्फका सन्तानलाई मात्र पैतृक सम्पत्तिमाथि अधिकार हुने व्यवस्था छ ।