× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    स्थानीय तहको निर्वाचन आज

    २ वर्ष पहिले

    बैशाख-३०, देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि आज मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न पाइनेछ । मतदान ७ बजे सुरु हुने भए पनि धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाता पुग्ने क्रम सुरु भइसकेको छ ।

    ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या भने ८७ लाख ४१ हजार ५३० छ ।

    मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि मतदान हुन लागेको हो । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवारको सङ्ख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको सङ्ख्या ५५ हजार ६९८ छ । अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

    पालिका चुनावका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएकोमा ६५ दलले मनोनयन दर्ता गराएका छन् भने १४ दलले एउटा पनि मनोनयन दर्ता गराएका छैनन् ।

    मधेस प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिका गरी कुल एक सय ३६ पालिका रहेका छन् । कुल वडा एक हजार २७१ वडा रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार एक सय ७० मतदाता रहेको मधेस प्रदेशमा २ हजार १६३ मतदान स्थल छन् भने ४ हजार १ सय ८९ कतदान केन्द्र रहेका छन् ।

    यस पटक कुल १० हजार ७५६ मतदान स्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । चुनावमा खटिने कर्मचारी एक लाख ९ हजार ८८ छन् भने स्वयम्सेवकको सङ्ख्या ६५ हजार ८६५ रहेको छ । यस पटक चुनावमा ५ हजार पर्यवेक्षक खटिएका छन् ।

    मतदाताले एक–एक मेयर या अध्यक्ष, उपमेयर या उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्ने हुन्छ । त्यसैले हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्ने हुन्छ ।

    परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अरु परिचयपत्रका आधारमा मतदान गर्न पाइने तर मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न नपाइने आयोगले जनाएको छ ।