३ वर्ष पहिले
जेठ-१२, ५२ वर्ष अगाडि बि.सं. २०२७ जेठ १३ गते अर्थात सन १९७० को मे २६ का दिन न्यूजिलैण्डर ट्रक ड्राइभर नील रोलिन्स आफ्नै ट्रकमा काठमाडौंबाट पोखराका लागि हिडेका थिए ।
न्यूजिलैण्ड निवासी नील जब सानै थिए । त्यसबेला उनका शिक्षकले आफू ५० मुलुक घुमिसकेको वर्णन गरेको कथा सुने पछि उनलाई पनि ठूलो भए पछि विश्व घुम्ने रहर जाग्यो । सन ७० को दशक हिप्पी युग थियो । नेपाल हिप्पीहरुका लागि स्वर्ग भएको थियो । त्यतिबेला नेपाल मात्र होइन अफगानिस्तान, पाकिस्तान र भारतमा पनि हिप्पीको भ्रमण तालिका जोडिएको हुन्थ्यो । गाँजा चरेसको खुला बिक्री हुने हुँदा यश क्षेत्रको व्यापार पनि आकाशिएको थियो । यूरोपबाट बस, ट्रक, जीप, भ्यान नै लिएर सडकबाट यात्रा गर्नेहरुको लश्कर नै हुन्थ्यो । पछि अमेरिकी सरकार बिश्वब्यापी रुपमा गाँजा माथि प्रतिबन्ध लगाउन कुटनैतिक यात्रा नै शुरु गरे । नेपाल जस्तो सानो मुलुकलाई विशेष प्राथमिकता नदिने अमेरिकी कुटनैतिक यात्रामा अमेरिकी उपराष्ट्रपति स्पारो एग्नेव नै नेपाल आए । यो नै अमेरिकी उच्च पदस्थको पहिलो र अन्तिम भ्रमण हो । यहाँ मात्र होइन ७० को दशकमा सर्वसम्पन्न भएको अफगानिस्तानको अर्थ ब्यबस्था समेत धराशायी बनायो, गाँजा अफिमको प्रतिबन्धले ।
माथिको तस्बिर भने ५२ वर्ष अगाडि आजकै दिन मुग्लिङमा खिचेका हुन् । भर्खरै बजार जम्न लागेको मुग्लिङका काठे घरहरु देख्न सकिन्छ । यस प्रकारका एक दुई काठे घर अझै पनि मुगलिङमा बचेका छन् । साथै बिच बाटोमा थुपारिएको ढुङ्गाले नयाँ होटल निर्माणको क्रम बढ्न थालिसकेको संकेत गर्दछ । छेउमा चाङ लागेका नुनका बोरा र मट्टीतेलका ड्रमहरुले पनि ब्यबसाय उकासिएर ब्यापारीकरण हुँदै गरेको झल्को पाइन्छ । साथै एक होटल अगाडि रोकिएको बिटल्स कार र बिदेशीहरुको भिड पनि देख्न सकिन्छ ।