× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुर विमानस्थल अगाडीका घरटहरा भत्काइए

    २ वर्ष पहिले

    असार -७, सडक विभागले भरतपुर विमानस्थल अगाडी रहेका ७ घरटहरा भत्काइएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका निमित्त प्रमुख बाबुराम सापकोटाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङ–पुलचोक सडक क्षेत्राधिकार परेका संरचनाहरु पटक–पटक सूचना दिदासमेत घरटहरा नहटाएपछि भत्काइएको बताउनुभयो ।

    सडक डिभिजनले पछिल्लोपटक यही जेठ ३१ गते सूचना टाँस गर्दै ३ दिनभित्र हटाउन आग्रह गरेको थियो ।

    भरतपुर विमानस्थलको अगाडी सडकको केन्द्रभागबाट २५ मिटरमा परेका ७ घरटहरा हटाइएको छ ।उहाँले घरमै सूचना टाँसेर हटाउन भनिएपछि नहटाएपछि बाध्य भएर हटाइएको बताउनुभयो । उहाँले कानुनी प्रक्रियामा जान तयार भएको बताउनुभयो । उहाँले सडक निर्माणको काममा ढिलाई हुन नदिन सडक क्षेत्राधिकारमा परेका संरचना हटाइएको बताउनुभयो ।

    घर भत्काइएका घरधनी सूर्य गौतमले २०१८ सालदेखि बस्दै आएको घर सर्वोच्चमा मुद्धा विचराधिन रहेका बेला नै भत्काएर बल प्रयोग भएको दुखेसो गर्नुभयो । उहाँको २ धुर जग्गामा घर र २ धुर जग्गा बाटोमा परेको छ ।

    मुअब्जाका लागि २२ जनाले दायर गरेको मुद्धामा सर्वोच्चले २०७७ पुस २४ गते यथास्थितिमा राख्नु भनि अल्पकालिन आदेश जारी गरेको थियो । “फैसला कुरेर बसेका बेला एकाएक डोजर लगाएर घर भत्काउने काम भयो”, गौतमले भन्नुभयो, “अदालतको मानहानी गरेकाले सडक डिभिजन विरुद्ध मुद्धा दिने तयारीमा छौँ ।”

    सडक विभाग, महानगरपालिकामा मुअब्जाकाबारे जानकारी लिन जाँदा टुंगो नलागेपछि मुद्धा नै दिएको बताउनुभयो । जग्गाधनी निर्मल ढकालले अदालतको आदेश विपरित घर भत्काइएको बताउनुभयो ।

    “असार २७ गते पेशी थियो, तर पहिल्यै घर भत्काउने काम भयो”, उहाँले भन्नुभयो, “व्यक्तिगत जग्गामा लिखित सूचना विपरित घर भत्काएर उठिबास लगाउने काम भएको छ, हामी न्यायका लागि अदालत जानेछौँ ।”

    विमानस्थल अगाडी रहेका एक भाँडा पसल, ६ वटा चियापसलका घरटहरा आज (मंगलबार) हटाइएको छ । सूर्य गौतम, धर्मराज श्रेष्ठ, अच्युतराज पौडेल, डिलादेवी रिजाल, शिव ढकाल, चिरञ्जिवी गौतमका घरटहरा हटाइएका हुन् ।